काठमाडाैं, दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाहुना टोली युएईले नेपाललाई जितका लागि १ सय ९२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ९१ रन बनाएकाे हाे ।
युएईका लागि मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै अलिशन शराफुले ३५ रन जोड्दा भ्रित्य अरबिन्दले २५ रन जोडे । बसिल हामिदले २४, कप्तान सीपी रिजवानले २२ तथा बिष्णु शुकुमारनले १५ रन बनाए ।
युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र ललित राजवंशीले ३/३ विकेट लिए । करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले १/१ विकेट लिए ।
तीन खेलको सिरिजमा युएई १-० ले अघि रहेको छ । सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो ।
युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल भने शुक्रबार हुनेछ ।