आर्थिक वर्ष २०७६/७७ मा ३५ जना, आर्थिक वर्ष २०७७/७८ मा ४१, २०७८/७९ मा ३५ र चालू आर्थिक वर्ष २०७९/८० को हालसम्म आठ जना बालबालिकाले आत्महत्या गरेको पाइएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधवप्रसाद श्रेष्ठले कर्णालीमा आत्महत्या समस्याका रूपमा रहेको बताउनुभयो। बालबालिकाको तथ्याङ्क हेर्ने हो भने पनि डरलाग्दो अवस्था रहेको उहाँको भनाइ छ। उहाँले आत्महत्याको तथ्याङ्क डरलाग्दो भएकाले यसको न्यूनीकरणका लागि सबै सचेत हुनुपर्ने बताउनुभयो। यसतर्फ अभिभावक र सरोकारवाला सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
बालबालिकामा आत्महत्या बढ्नुको कारण सामाजिक सञ्जाल, लागूऔषध दुव्र्यसन, पारिवारिक कलह, कतिपय चाहेको कुरासमेत नपाउँदा आवेगमा आएर आत्महत्याको बाटो रोज्ने गरेको मनोविमर्शकर्ता बताउछन्। आवाज संस्थाकी मनोविमर्शकर्ता निशा पौडेलले बालबालिकामा उमेर बढ्दै जाँदा शारीरिकसँगै मानसिक रूपमा पनि सोच परिवर्तन हुँदै जान्छ। यसको सकारात्मक र नकारात्मक प्रभावले सही गलत छुट्टाउन नसक्दा र आफ्ना कुरा अरूसमक्ष राख्न नसक्दा आत्महत्या रोज्ने गरेको बताउनुभयो।
उहाँले बालबालिकामा पारिवारिक अवस्थाले पनि असर गरेको उल्लेख गर्नुभयो। बालबालिकाले आफ्ना कुरा भन्न नपाउँदा, बुझ्ने र संरक्षण गर्ने अभिभावक नहुँदा आत्महत्याको बाटो रोज्ने गरेको उहाँले बताउनुभयो। विद्यालयमा बालबालिकाका कुरा सुन्ने, समस्या पहिचान गरेर मनका कुरा राख्ने गोप्य र सुरक्षित वातावरण सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ। जोखिममा रहेका बालबालिका पहिचान गरेर मनोविमर्शको सेवा दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
आत्महत्या गर्नेमा बालिका धेरै
आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी छ। बालकको तुलनामा पनि आत्महत्या गर्नेमा बालिकाको सङ्ख्या बढी छ। प्रहरीको तथ्याङ्कअनुसार कर्णालीमा साढे तीन वर्षको अवधिमा ५१ जना बालकले आत्महत्या गर्दा ६८ जना बालिकाले आत्महत्या गरेका छन्। प्रत्येक वर्षको तथ्याङ्क हेर्ने हो भने आत्महत्या गर्ने बालकको भन्दा बालिकाको सङ्ख्या बढिरहेको छ।
आर्थिक वर्ष २०७६/७७ मा ३५ जना बालबालिकाले आत्महत्या गरेका छन्। त्यसमध्ये १८ बालक र १९ जना बालिका रहेका छन्। २०७७/७८ मा ४१ जनाले आत्महत्या गरेकामा २० बालक र २१ बालिका थिए। २०७८/७९ मा ३५ जनामध्ये बालिकाको सङ्ख्या २६ रहेको छ भने नौ जना बालकको सङ्ख्या रहेको छ। चालू आर्थिक वर्षको हालसम्म चार/चार जना बालबालिकाले आत्महत्या गरेका छन्।