चिसोमा न्यानो कपडा पाउँदा दङ्ग

blog

                  दाताको सहयोगमा न्यानो कपडा पाएपछि उत्साहित बालबालिका । तस्बिर : प्रेमराज सिम्खडा


कालीकोट ।
 कालीकोटको तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकाभित्रका विपन्न परिवारलाई दाताको सहयोगले ठूलो राहत भएको छ । कालीकोटको कठ्याङग्रिने चिसोमा विपन्न परिवारले न्यानो कपडा पाएपछि दङ्ग परेका छन् । चिसोका कारणले विपन्न परिवारका बालबालिका विद्यालय जानसमेत छोड्ने गर्छन् । विद्यालय नियमित गराउन सहयोग पुग्ने उद्देश्यले पनि कार्यक्रम लागू भएका तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकाभित्रका १३१ जना छात्रा र १४९ जना छात्रा गरी जम्मा २८० जनाले न्यानो कपडासँगै खाद्यान्न सहयोग गरिएको हो ।

तिलागुफा नगरपालिका वडा नं ५ का नन्दकला न्यौपानेले चिसो कटाउन न्यानो कपडा पाएकोमा आफूलाई निकै खुशी लागेको बताउनुभयो । ‘‘यतिका कपडा किन्नका लागि रुपियाँ थिएन, बिहान बेलुका के खाउँ भनेर सोच्नुपर्ने हाम्रो परिवारलाई महँगा कपडा किन्न सक्ने सम्भावना थिएन ।,’’  उहाँले भन्नुभयो, ‘‘आफ्ना दुईजना बच्चाका लागि आर्थिक अभावको सङ्कट झेलिरहेका हामीलाई किर्डाक नेपालले न्यानो कपडा सहयोग गरेपछि आफूलगायत धेरै परिवारको उद्धार भएको छ ।’’

यस्तै, वडा नं ७ का अभिभावक जयबहादुर भण्डारीले हालसम्म हाम्रो बच्चाले यति राम्रा न्यानो हुने जाकेट लगाएका थिएनन् । तर सेभ द चिल्ड्रेन, किर्डाक नेपालको सहयोगमा न्यानो कपडा सहयोग पाउदा नबिसर्ने गुन लागेको सुनाउनुभयो ।

सेभःद चिल्ड्रेन, किर्डाक नेपालको सहयात्रा दोस्रो परियोजनाले दुई स्थानीय तहका २८० जना विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा सहयोग गरेको हो । सेभ द चिल्ड्रेनका बालअधिकार शासन, बालसंरक्षण सयोजक बाले विश्वकर्माले अति जोखिम, जोखिम, विपन्न परिवारभित्रका बालबालिकालाई चिसो छल्न न्यानो कपडा सहयोग गरेको सुनाउनुभयो ।

विश्वकर्माले २८० जना बालबालिकालाई न्यानो कपडासँगै आवश्यक खाद्यान्न सहयोग गरिएको बताउनुभयो । अधिकृत विश्वकर्माले हाम्रो सहयोगले अब विद्यालयमा पनि बालबालिका नियमित हुने आशा गरिएको सुनाउनुभयो ।

विपन्न परिवारको छनोट गर्दा पहिलो आधार स्थानीय सरकारको हो भने दोस्रो आधार आफैँ सहयोगी संस्थाको अनुगमन र यस अगाडि सहयोग गरेको रिर्पोट, तथ्याङ्क हो । किर्डाक नेपालका बालअधिकार शासन, बालसंरक्षण परियोजना सयोजक सरिता खत्रीले विपन्न बालबालिकालाई न्यानो कपडासँगै खाद्यान्न खरिदमा १० लाख ६५ हजार ६१८ रुपियाँ ४० पैसा खर्च भएको बताउनुभयो । न्यानो कपडा पाएपछि बालबालिकालाई सहज भएको छ । उनीहरु नियमित विद्यालय पनि जान थालेको अभिभावकको भनाइ छ ।

प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस