सिंजाका बाढीपहिरो पीडितलाई राहत

जुम्ला ः पेस नेपाल जुम्लाले सिंजा उपत्यकाका ३ स्थानीय तहका बाढीपहिरो पिडित परिवारलाई राहत वितरण गरेको छ । गत असोज महिनाको १९ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरो पिडित परिवारलाई राहत वितरण गरिएको हो । सिंजा उपत्यकाका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका बाढी पहिरो पिडित परिवारले राहत पाएका हुन् । बाढी पहिरोले सबैभन्दा बढी सिंजा क्षेत्रका ३ स्थानीय तहमा मानविय तथा भौतिक क्षति गरेको थियो । प्लान इन्टरनेश्नल नेपाल र पेस नेपाल जुम्लाको साझेदारीमा संचालित बाढी पहिरो प्रतिकार्य परियोजना अन्तर्गत पूर्ण रुपमा क्षति भएका परिवारलाई राहत उपलब्ध गराईएको पेस नेपाल जुम्लाका परियोजना प्रमुख हेमराज भट्टले बताए । हिमाका ३५, सिंजाका ५५ र कनकासुन्दरी गाउँपालिकाका ६३ वटा घरपरिवारलाई १४ हजार पाँच सय रुपैयाँको भ्यालु भौचर मार्फत खाद्य सामग्री उपलब्ध गराइएको हो । उनका अनुसार प्रभावित परिवारले चाएको खाद्य सामग्री भ्यालु भौचरमा उल्लेख गरिएको रकम लिन सकिने छ । बाढी पहिरोबाट पूर्ण रुपमा क्षति भएका परिवारलाई स्थानीय सरकारले गरेको सिफारिसका आधारमा राहत वितरण गरिएको उनको भनाइ छ । ढेड महिना पुग्ने खाद्य सामान वितरण गरिएको हो ।

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार
प्रतिक्रिया दिनुहोस