बाढीले भत्कीएका ९ दर्जन सिचाँई कुला अझै बनेनन्,धानको बिउ राख्न अन्यौलमा किसान


जुम्ला । गत असोजको १९ देखि २५ गते सम्म भएको अविरल वर्षापछि आएको बाढी पहिरोले जुम्लाको कृषि क्षेत्रमा ठुलो क्षति गरेको थियो । १८ हेक्टर मार्सीफाँट बगर मात्र बनेन् भित्राउन ठिक्क पारेको धान समेत बाढीसंगै बग्यो । भने जिल्लाभर दर्जनौ सिचाँई कुला भत्कीएका थिए ।

सरकारले जुम्ला सहित साविक कर्णालीका पाँच जिल्लालाई संकटग्रष्त क्षेत्रपनि घोषणा गर्यो । संकटग्रष्त क्षेत्र घोषणा गरेसंगै भत्केका सिचाँई कुला मर्मत हुने,राहत पाउनुका साथै विस्तापित भएकाहरु पुर्नस्थापना हुने आशामा थिए ।

तर सात महिना बितिसक्दा पनि विपद् पिडितलाई राहत उद्दार र पुर्नस्थापना त परै जावस भत्कीएका सिँचाई कुलो समेत मर्मत नहुँदा बिउ बेर्नादेखि राख्ने जेठको रोपाई समेत प्रभावित हुने चिन्तामा जुम्ली किसान छन् ।

बेर्नामा बिउँ छर्नु पहिले बेर्ना तयारी अबस्थामा हुनुपर्छ । तर यसवर्ष जुम्लामा अधिकांश गाउँका किसानले सिचाई नहुँदा बेर्ना राख्नै अलमल भएको बताएका छन् । तातोपानी २ का दत्त बुढा भन्छन,“झण्डै १० मुरी खेतभरी बालुवा भरिएको छ । बाँकी रहेका थोरै खेतमा धान रोप्न बिउ राखौ भनेको बेर्ना बनाउन सिचाँई छैन् । क्षति भएको सात महिना बित्दा पनि भत्कीएका कुला मर्मत हुन सकेनन् । नत राहत पायौ । नत भत्कीएका कुला बने । यसवर्ष किसानले संकट भोग्नु पर्ने बाध्यता छ ।”

बाढी पहिरोबाट नराम्ररी प्रभावित भएको जुम्लाको तातोपानी,तिला,हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाका झण्डै डेढसय बढी सिँचाई कुलाहरु बाढीले भत्काएको थियो । चैतको १२ गते अर्थात (बारुवा) पर्व जुम्लामा मार्सीधानको बिउ राख्ने दिन । १२ गते विउ राख्ने, १६ गते निकाल्ने र २० गते बेर्नामा छर्ने कृषि क्यालेण्डर छ ।

कर्णाली प्रदेश सरकारले चैत १२ गते जुम्लाका लागि धान दिवसका रुपमा सार्वजानिक बिदा दिदै आएको छ ।

सात महिनासम्म पनि विपद्ले क्षतविक्षत भएका सिचाई कुला तथा नहरको मर्मत गर्न बेवास्ता गरेर बिदा दिनुको कुनै औचित्य नरहेको नागरिक अगुवा राज बहादुर महत बताउनुहुन्छ । जुम्लाबाट प्रतिनिधित्व गर्ने संघ र प्रदेशका सांसदहरुले पनि चैत १२ गते सम्म सिचाई नपुग्दा जुम्लाको कृषि क्षेत्रमा पर्ने असरका विषयमा गम्भीरतापुवर्क नलिएको उहाँको आरोप छ ।

विश्वकै अग्लो स्थानमा मार्सी धान फल्ने र विश्व बजारमा माग बढ्दै गएको जुम्ली मार्सीधानको पहिचाननै संकटमा पर्ने खतरा छ । चैत १२ गते घर नफर्किएको जुम्ली मर्यो भनी जान्नु भन्ने उखान भएपनि यस वर्ष कृषि क्षेत्रमा भएको क्षति र राहत पुर्नस्थाना तथा पुर्ननिर्माणमा भएको ढिलासुस्तीले किसान विरक्तीएका छन् ।

९ दर्जन कुला मर्मत भएनन्,विउबेर्नादेखि रोपाई प्रभावित
जुम्लाका आठ स्थानीयतह मध्य तातोपानी,तिला,हिमा,सिंजा र कनकासुन्दरीमा बाढीले ठुलो क्षति गर्यो । झण्डै १८ हेक्टर मार्सीफाँट बगर बन्दा करिब नौ दर्जनबढी सिचाई कुलो तथा नहरहरुमा क्षति पुराएको थियो ।

जसमध्य तातोपानीका ३३ वटा,तिलाका ४० वटा,हिमाका ११ वटा र सिंजाका १९ वटा गरी गरि १ सय ३ वटा साना ठुला सिचाई कुलाहरु भत्कीएका थिए । करिब ९ दर्जन सिचाई कुला क्षतिगस्त भएकोमा हालसम्म कुनै सिचाई कुला मर्मत हुन सकेका छैनन् । किसानहरु काठ लगाएर प्लाष्टीक बेरेर भएपनि मार्सीधानको विउबेर्ना राख्ने तयारीमा छन् ।

बेर्नालाई चौविसै घण्टा सिचाँई चाहिन्छ । थोरैपनि सुक्का भए बिग्रीन्छ । तर जिल्लामा सिचाई कुला मर्मत भएका छैनन् । बिउ जोगाउनै मस्किल हुने यसको असर पछि उत्पादनमा देखिने कृषि विज्ञहरु बताउँछन् ।

पालिकासंग भत्केका कुला मर्मत गर्न धेरै बजेट थिएन् । संघ प्रदेशमा माग गर्दा सुनुवाई भएन् । तिला गाउँपालिकाकी उपाध्यक्ष गोरीकला बुढाले भन्नुभयो,“पालिकाका वडा नं. ९ र ६ बाहेक अन्य ७ वटा वडाका करिब ४० सिचाई कुला भत्कीएका छन् । सिचाई कुला मर्मत नहुँदा चैत १२ गते विउ राख्ने दिनमा समेत किसान निरास छन् । कुलो मर्मत गर्न किसानले दबाब दिईरहेका छन् । स्रोत छैन् । अन्तिममा कुनै विकल्प नभए काठ,प्लाष्टीक प्रयोग गरेर पनि तत्कालीन सिचाई पुराउने योजना छ ।”

संघ प्रदेशले सिचाई कुलो मर्मतमा सहयोग गरे आगामी रोपाई हुन मुस्किल हुने उनको भनाई छ । यता तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाँई सिचाई अभावमा बिउँ बेर्ना र रोपाई प्रभावित हुन नदिने बताउँनुहुन्छ । क्षति भएका ३३ सिचाई कुला मध्य केहि कुला गाउँपालिकाले मर्मत गरिरहेको र केहि कुला सिचाई कार्यालयले मर्मत गर्ने छ । उहाँले भन्नुभयो,“तर दिगो समधान नभए समस्या निम्तीनेवाला छ । किसान निकै चिन्तामा छन् । त्यो भन्दा बढी कुलो मर्मत गर्न र चिसाँई पुराउन हामी चिन्तीत छौ । स्रोत नहुँदा कसरी मर्मत गर्ने भन्ने समस्या छ ।”

उता सिंजा र हिमामा पनि पालिकामा सिचाई कुलो मर्मतको लागि प्रयाप्त बजेट नभएको र माग गर्दा कतैबाटै संबोधन नभएपछि बिउराख्ने र रोपाई गर्ने दिन नजिकीएपछि कुलो मर्मतको टुंगो लागेको छैन् । यदपी,तत्काल कुलो मर्मतका लागि सबै ठाउँमा पहल भईरहेको हिमाका अध्यक्ष लक्ष्मण बहादुर शाहीको भनाई छ ।

खानेपानी सिचाई तथा उर्जा विकास कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठले २ करोड ८० लाख लगानीमा जिल्लाभरका भत्कीएका २२ वटा कुलो मर्मत गरिने बताए । सयौको संख्यामा भत्कीएका सबै कुला मर्मत गर्न सम्भव छैन् । “हामीले स्थलगत अनुगमन गरेका र पालिकाबाट माग भएका मध्य अत्याआबश्यक २२ वटा कुलो निर्माण गर्दै छौै”,उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २०७९ चैत्र १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस