संघियतापछि पनि आधारभूत विकासकै पर्खाईमा भेरीखोला


जुम्ला । तातोपानी गाउँपालिका वडा नं. ७ की स्वयमसेविका कलकोशे कुँवरलाई पालिकाले मोबाईल दिएको छ । गाउँमा बेतलबी डाक्टरका रुपमा काम गर्ने स्वयम सेविकाहरुलाई सूचना आदान प्रदानलाई सहज बनाउन मोबाईल दिइएको हो । तर गाउँमा टावरनै नआउने भएपछि मोबाईल कालकोशे जस्तै सयौका मोबाईल प्रयोग विहिन छन् ।

मुलुकमा संघियता आएर तीन तहका सरकार सञ्चालनमा आएको करिब ६ वर्ष बित्दा पनि पनि दुर्गम भेरीखोला क्षेत्रमा अझै आधारभूत विकास हुन सकेको छैनन् । घरको कोठामा बसेर देशविदेशको हरेक घटनाको जानकारी लिने,सूचना थाहा पाउने सुविधा प्रविधिको विकासले दिएको छ । तर विडम्बना तातोपानी गाउँपालिका वडा नंं. ७ र ८ को भेरीखोला क्षेत्र अहिले पनि संचार,सडक,स्वास्थ्य,शिक्षा जस्तो आधारभूत विकास कुरिरहेको छ ।

अहिले पनि तातोपानी वडा नंं. ७ र ८ का सर्मी,सुर्की,कयारकोट,बारगाउँ,ताम्ती,टोप्ला,डुंग्री लगायतको आधा दर्जनबढी गाउँ संचार सेवाको लागि भौतारी रहेका छन् । कुनै मान्छे घुम्न अवलोकन गर्न भेरीखोलाका सर्मी सुर्की लगायतका गाउँमा गएपछि सम्पर्क विहिन हुन्छ । नत टावर आउँछ,नत ईन्टरनेट चल्छ । संचार सुविधा नहुँदा कृषि,पर्यटन,जलविद्युतको अथाह सम्भावना भएर पनि भेरीखोला क्षेत्र मुलुककै दुर्गम जस्तै कहलिएको छ ।

संघियताको ६ वर्ष बढी समय बित्दा पनि भेरीखोला क्षेत्रमा दिगो र भरपर्दो संचार सुविधा नपुग्दा नागरिकले सास्ती पाएको तातोपानी ७ का वडाध्यक्ष तिलक बहादुर रावतले बताए । उनले भने,“संघियताले ६ वर्ष नाघ्यो । अन्य क्षेत्रमा आधाभूत विकास भएर ठुलो विकासमा समाज लम्कीदैछ । हामी भन अहिले सम्म कोठामा बसेर सहजै फोन गर्न पाउने सुविधा छैन् । गाउँमा सडक पुगेपनि गाडी पुग्न सक्दैनन् ।”

भेरीखोला क्षेत्रका सबै बस्तीमा ग्रामिण सडक पुगेका छन् । तर नागरिकले सुविधा पाउन सकेका छैनन् । ताम्ती स्वास्थ्य चौकीमा यस चालु आवमा एक सय जना संस्थागत सुत्केरी गराउने लक्ष्य थियो । तर असार दोस्रो साता सम्मको तथ्यांकनुसार स्वाथ्य चौकीमा २१ ज्ना मात्रै सुत्केरी भएका छन् । भने ४० जना महिला घरमा सुत्केरी भएका छन् । उपचार गर्न नपाउनु,सुत्केरी हुन स्वास्थ्य चौकी नआउनु केहि सारो गाह्रो पर्दा सम्पर्क नगर्नु संचार असुविधा देखि सहज सडक नहुनु मुख्य समस्या रहेको ताम्ती स्वास्थ्य चौकीका सहायक ईन्चार्ज सन्तोष मल्लले बताए ।

हिउँदमा धुलाम्य,वर्खामा हिलाम्य हुने सडकमा एम्बुलेन्स चल्ने त कल्पनानै छैन् । स्टेचरमा बोकेर लिन पनि सम्भव छैन् । जसका कारण अधिकांश महिला घरमै सुत्केरी हुन बाध्य छन् । स्वयमसेविका कलकोसे कुँवर भन्छन,“मोबाईल छ टावर नहुँदा कुरा गर्न पाईदैन् । सडक छ गाडी र सहज नहुँदा गर्भवतीलाई अस्पताल सम्म पुराउन मुस्किल छ । स्वास्थ्य चौकी पुग्न घण्टौ लाग्ने भएपनि सामान्य चेकजाँच देखि उपचारबाट नागरिक बन्चित छन् । भेरीखोला क्षेत्रलाई हेर्नु पर्यो किन सधै उपेक्षामा ?”

पालिकाले भेरीखोला क्षेत्रलाई विशेष क्षेत्रका रुपमा घोषणा नगरेको पनि हैन् । संघियताका ६ वर्ष बित्दा विकासनै नभएका पनि हैनन् । करोडौ राज्यको लगानी भएको छ । तर संचार सेवा विस्तारका लागि ठोस पहल लगानी नहुँदा भेरीखोलाका नागरिक सधै सम्पर्क विहिन भएर बाँचिरहेका छन् ।

वडा कार्यालय,विद्यालय,स्वास्थ्य चौकी लगायतका सबै क्षेत्रका नियमित गतिविधि,प्रगती विवरण अनलाई प्रविष्टी गर्नुपर्ने,अनलाईनबाटै राजश्व संकलन देखि जन्मदर्ता,मृत्युदर्ता,सिफारिस लगायतका काम हुन्छन् । तर टावरनै राम्रो नआउने भएपछि उल्लेखीत सेवा पाउनबाट भेरीखोलाबासी बन्चित भएको स्थानीय शेर बहादुर रावतले बताए ।

पञ्चायतकालका वडाध्यक्ष समेत भएका रावतले भने,“संयिघतापछि विकास भएको कुरालाई नर्कान सकिन्न । तर आबश्कयतामुखी विकास हुन सकेन् । भेरीखोला क्षेत्रमा भरपर्दो ग्राभेलको सडक,छुट्ै एम्बुलेन्स,गाउँगाउँमा स्वास्थ्य क्लीनिक,फोरजी ईन्टरनेट सेवा लगायतका आधारभूत विकास चाहिएको हो ।”

तर अहिलेसम्मको लगानीले आधारभूत विकास अपेक्षित रुपमा नहुनु,नागरिकले ढुक्कले ईन्टरनेट चलाउन त परै जावस फोन गर्न पनि नपाउनु दुःखद पक्ष हो । यसमा स्थानीय सरकारको गम्भीर ध्यानर्कषण हुनुपर्ने अर्का स्थानीय लाल बहादुर रावतले दुखेसो पोखे ।

वडाध्यक्ष तिलक बहादुर रावत भेरीखोला क्षेत्रलाई विशेष क्षेत्र भनिएपनि नीति कार्यक्रम देखि बजेटमा प्रथामिकतामा नपरेको बताउँछन् । भूगोल र जनसंख्याका आधारमा आउने बजेट भागभण्डामै सिमित हुन्छ । अधिकारको लडाई जारी छ । भेरीखोलाबासीको साथ सहयोगले समृद्ध भेरीखोला बनाउन कार्यकालवधिभर खट्ने समेत प्रतिबद्धता गरे ।

कुनै मान्छे भेरीखोला आउँदा सम्पर्क विहिन भएको संज्ञा दिने गरेका छन् । यो हाम्रो लागि निकै दुखद पक्ष हो । कृषि,पर्यटन,जलविद्युत लगायतका सम्भवनाले भरिपुर्ण क्षेत्र राज्यको नजर नपुग्दा अहिले पनि आधारभूत विकास कुर्न बाध्य रहेको छ ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले भेरीखोला क्षेत्रमा भरपर्दो र दिगो संचार सुविधा पुराउन निरन्तर पहल भईरहेको बताए । उनले भने,“संघदेखि प्रदेशसम्म निरन्तर पहल गरिरहेको छु । स्थानीय तहमा स्रोत कम,आबश्यकता बढी हुँदा सबै क्षेत्रको विकास एकै पटक सम्भव छैन् । वडामा जाने बजेट एकै क्षेत्रमा खर्च गर्न सकिन्छ । तर वडाबाट आबश्यकता पहिचान गरेर आउँदा अर्कै योजना आउँछन् । जसका कारण संचार,स्वास्थ्य जस्ता आभारभुत आबश्यकता ओझेल पर्छन् ।”


भेरीखोला क्षेत्रको विकासलाई प्रथामिकता दिने भन्दै संघ प्रदेशमा चुनिएका सांसदहरु आजभोली आफ्ना समस्या प्रति अनुदार भएको स्थानीय दल बहादुर रावतको दुखेसो छ । चुनावमा केके गर्छौ भनेर भोट मागेका संघिय सांसद ज्ञानेन्द्र शाही,प्रदेश सांसद देवेन्द्र बहादुर शाही लगायतका सांसदहरु आश्वासन दिएर फेरी नआएको बताउँछन् ।

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस