तातोपानीको सामुहिक बगैचाको घेराबार चोरी


जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकामा संसद विकास कोषबाट निर्माण भएको बृहत्त घेराबारनै चोरी भएको छ । उत्पादन वृद्धि र किसानको आयस्तर उकास्ने गरी सामुहिक स्याउ बगैचा निर्माण गर्ने उदेश्यले गरिएको बृहत्त घेराबारनै चोरि भएको हो ।

तत्कालीन सांसद गजेन्द्र बहादुर महत कार्माको सांसद विकास कोषको ६३ लाख लगानीमा आ.व २०७७÷०७८ मा घेराबार भएको थियो । उक्त योजनाबाट तातोपानी वडा नं.२, ४ र ६ का हजारौ किसान लाभान्वित हुने, स्याउ बगैचा निर्माण पछि तातोपानी समृद्धीमा टेवा पुग्ने आशा गरिएको सामुहिक स्याउ बगैंचाको घेराबारनै चोली हुन थालेपछि लज्जाको विषय बनेको छ ।

झण्डै ५ किलोमिटर बढी क्षेत्रमा गरिएको घेराबारका लागि ठड्याइएका फलामका एङ्गल, जाली जस्ता सामग्रीहरु चोरी भएका छन् । सामुहिक स्याउ बगैचा निर्माण गर्ने र त्यसको सुरक्षार्थ निर्माण भएको घेराबारको तारजाली एंगल लगायतका सामाग्री चोरी भएको निवेदन पालिकामा आएको प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए ।

उनले भने,“सामुहिक स्याउ बगैंचा निर्माण उपभोक्ता समितिका अध्यक्ष धन बहादुर बुढाले घेराबारको तारजाली चोरी भएको पत्र ल्याएका छन् । केकसरी चोरी भयो । यसबारे बुझ्दै छौ । सार्वजानिक सम्पत्ति चोर्ने विरुद्ध निर्मम भएर कारबाहि पनि गछौ ।”
उपभोक्ता समितिका अध्यक्ष धनबहादुर बुढाले पालिकामा दिएको पत्रमा आ.व २०७७÷७८ मा सामुहिक स्याउ बगैचा निर्माणर्थ सम्पन्न भएको घेराबारको जाली र एंगल चोरी भइरहेको उल्लेख गरिएको छ ।

पालिकाकै गौरबका रुपमा हेरिएको सामुहिक स्याउ बगैचाको घेराबारनै चोरी भएपछि उत्पादन पनि असुरक्षित हुने देखिएको उपभोक्ता समितिका अध्यक्ष धन बहादुर बुढा बताउँछन् । उनले भने,“निर्माण सामाग्रीहरु के कति मात्रामा चोरी भएको छ? उक्त सामाग्रीहरु चोरीमा चोरीमा संलग्न व्यक्तिहरुहरुलाई कारबाहि गर्न र घेरावार योजनाको संरक्षण र रेखदेखको व्यवस्था पालिकाले गर्न माग गरेका छौ ।” घेराबार चोरीको विवरण प्रहरी चौकी हाँकु र प्रहरी चौकी लिताकोटलाई समेत बुझाईएको छ ।

साथै सामुहिक स्याउ बगैचाको घेराबार चोरी हुनुमा घेराबार निर्माणमा काम गरेका कामदारले ज्याला नपाउनु पनि एक कारण हुन सक्ने अनुमान छ । यदपी एकिन भईनसकेकोले घटना अनुसन्धानमै छ । काम गरेको रकम नपाएपछि घेराबार भत्काएर लगेको नाम नबताउने शर्तमा एक स्थानीयले बताएका छन् ।

रात दिन नभनेर घरको नुन तेल फर्ने आशामा घेराबार निर्माणको काम गरेपनि हाल सम्म ज्याला नपाउँदा बाध्य भएर घेराबारको सामान लिएको बताएका हुन् ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस