जुम्ला । दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार निर्माणमा करिब एक अर्ब बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले हुम्ला, डोल्पा, दैलेख, रुकुम पश्चिम र सल्यानमा सुविधायुक्त अस्पताल भवन बनाउन लागेको हो ।
पाँचै जिल्लामा ५०÷५० शैयाका अस्पताल बन्दैछन् । आगामी ३ वर्षभित्र निर्माण सक्ने गरी सम्झौता भएकोमा एक वर्ष बितिसकेको छ । अहिलेसम्म निर्माणको काम भइरहेको छ । अबको दुई वर्षमा सुविधायुक्त अस्पतालका पक्की भवन ठडिने अपेक्षा गरिएको छ । निर्माणाधीन अस्पताल भवनहरुको जुम्लाबाटै नियमित अनुगमन तथा निरीक्षण भइरहेको छ ।
कर्णालीका दुर्गम पाँच जिल्लामा ९६ करोड २१ लाख लगानी गरी अस्पताल भवन निर्माण भइरहेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाका सब–इन्जिनियर चन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार खर्च भएको रकमअनुसारको भुक्तानी सम्बन्धित जिल्लाबाटै हुने र अनुगमन तथा निरीक्षण गर्ने जिम्मेवारी जुम्लालाई तोकिएको छ । “कर्णालीमा प्रतिष्ठानपछि आशालाग्दो पूर्वाधारसहितको स्वास्थ्य सेवा पाउने अस्पताल कतै छैनन् । पाँचै जिल्लामा अस्पताल भवन निर्माणपछि नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने छन्,” खड्काले भने ।
सरकारले एक स्थानीय तहमा एक अस्पताल, हरेक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रसँगै दुर्गमका जिल्लामा सुविधासम्पन्न अस्पताल बनाउने लक्ष्य राखेको छ । जसअन्तर्गत कर्णाली प्रदेश सरकारले ठूलो रकम खर्चेर पाँच वटा अस्पताल निर्माण थालेको हो । दुर्गम जिल्लामा ५० शैयाका अस्पताल निर्माण भएपछि सर्वसाधारण नागरिकको स्वास्थ्यमा पहुँच बढ्ने अपेक्षा गरिएको छ ।
सुविधायुक्त अस्पताल निर्माण हुने भएपछि कर्णालीबासी उत्साहित छन् । हुम्ला, डोल्पाका नागरिकलाई सानो रोग लागे पनि उपचारका लागि अहिले जुम्ला हँुदै नेपालगन्ज, काठमाडौं जानुपर्ने बाध्यता छ । हुम्ली र डोल्पाली नागरिक अस्पताल बन्न थालेपछि उत्साहित भएको हुम्लाका नवराज महताराले बताए ।
उनले निर्माण सकेर सुविधायुक्त भवनबाट स्वास्थ्य सेवा लिने प्रतीक्षामा हुम्ली नागरिक भएको सुनाए । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौताअनुरुप पाँचै जिल्लाका अस्पताल भवन निर्माण सुरु भए पनि लक्ष्यअनुसार काम भने भएको छैन । मौसमी प्रतिकूलताका कारण भौतिक प्रगति अपेक्षित हुन नसकेको बताइएको छ ।
प्रदेश सरकारले हुम्लाको अस्पताल भवन निर्माणका लागि २१ करोड २० लाखमा ठेक्का सम्झौता गरेको थियो । प्रेरा क्याराभान वृद्धि हिमाली जेभीसँग ठेक्का भएको एक वर्षमा २ करोड ५३ लाख बजेट खर्च भएको छ । यसको भौतिक निर्माण प्रगति करिब ४० प्रतिशत रहेको छ ।
यसैगरी डोल्पामा २० करोड ७२ लाख रुपैयाँमा अस्पताल निर्माण गर्न ठेक्का सम्झौता भएको छ । यो ठेक्कामा एक वर्षमै १४ करोड ३६ लाख खर्च भएको छ । अहिले भवनको स्ट्रक्चरको काम सकिएर फिनिसिङको काम भइरहेको छ । यो अस्पताल निर्माणको ठेक्का खानी क्याराभान, वृद्धि हिमाली जेभीले पाएको थियो ।
यस्तै, दैलेखमा १८ करोड २४ लाख लागतमा सम्झौता भएकामा हालसम्म २ करोड ९३ लाख खर्च भएको छ । दुई भवनको डिपिसी पूरा भएर अहिले ढलानको तयारीमा छ । उक्त भवन प्रेरा क्याराभान सुपरस्टार जेभीले निर्माण गर्दैछ । रुकुम पश्चिमको अस्पताल निर्माणका लागि खानी थोदुन मिसन जेभीसँग २० करोड ३१ लाखमा सम्झौता भएको थियो । सम्झौता भएको एक वर्षमा ५ करोड १५ लाख खर्च भएको छ । भवनको दोस्रो तला ढलान हुँदैछ ।
यसैगरी सल्यानमा १५ करोड ७४ लाख रुपैयाँमा अस्पताल निर्माण गर्न ठेक्का सम्झौता गरेको आरोग्य सुवेदी जेभी निर्माण सेवाले भवनको पहिलो तला ढलान गर्ने तयारीमा छ । पाँचै जिल्लामा अस्पताल निर्माणको काम भइरहेको तर कामअनुसार भुक्तानी नलिएकाले बजेट खर्च कम देखिएको सब–इन्जिनियर खड्काको भनाइ छ ।
उनले भने, “निर्धारित समयमै निर्माण सक्ने र हस्तान्तरण गर्ने लक्ष्यअनुसार नियमित अनुगमन तथा निरीक्षण भइरहेको छ । तीन वर्षे आयोजनाको २ वर्ष बाँकी रहेको समयमा सबै काम सम्पन्न हुनेमा हामी ढुक्क छौं । प्रतिकूल समस्या नभए सम्झौता मितिमै सकिने छ ।”