भत्कीएका पर्खाल र चुहिने छानाभित्र जोखिम माेलेर पढ्दै बालबालिका


जुम्ला । चारैतिर चर्किएको,कुनै भाग पुुरै भत्कीएको पर्खाल,पानी पर्दा चुहिने छाना,अप्रयाप्त डेस्क बेन्च, टेको लगाएर अड्याइएको जस्ता,त्यसैभित्र कोचिदै बसेर पढन बाध्य बालबालिका ।

मनमा पढाई भन्दा कतिबेला पर्खाल भत्कीन्छ भन्ने डर पालेर बसेका विद्यार्थी । नत फराकिलो बस्ने ठाउँ,एकै बेच्नमा ६÷७ जना बस्नुपर्ने बाध्यता,मैत्रीपुर्ण त परै जावस चुकुन समेत नभएको शौचालय ।  

यो दृष्य र दुरदशा तातोपानी गाउँपालिका वडा नं.७ ताम्ती स्थित जनजागृती माध्यमिक विद्यालयको हो । जहाँ ३ सय ५० बढी बालबालिका अध्यायनरत छन् ।

बजेट अभावले नयाँ संरचना निर्माण नहुँदा जीर्ण कक्षा कोठा भित्रै बालबालिका पढ्न बाध्य छन् । पढाई भन्दा पर्खाल भत्कीने डरले विद्यार्थी त्रसित मात्र छैनन् । सामुदायिक विद्यालयको दुरदशा देखेर विद्यार्थी,अभिभावकदेखि शिक्षकहरुनै स्थानीय सरकारप्रति निरास छन् ।  

जनजागृती माध्यमिक विद्यालयको कक्षा ९ मा अध्यायनरत छात्रा रुमला रावतको दिनभरको समय कक्षाकोठामा पढाई भन्दा संरचना भत्कीने डरले निकै त्रसित हुन्छन् ।

उनी भन्छन,“नीजि विद्यालय पढ्ने घरको आयस्रोत छैन् । सामुदायिक विद्यालयको हालत यस्तै छ । सरकारले सामुदायिक विद्यालय सुधार गर्र्ने भनेपनि दुर्गमका विद्यालयको अबस्था उस्तै छ ।”

चुहिने छाना,भत्कीएको पर्खालभित्र जोखिम मोलेरै कक्षा ९ सम्म पढीसकेकी रुमला कतिबेला एसईई आउँला र विद्यालय छोडौला भन्ने अबस्थामा छन् । विद्यालय छोडौला भन्नु रुमलाको रहर नभई बाध्यता हो ।

त्यस्तै सोही विद्यालयको कक्षा ५ मा पढ्ने छात्र बसन्त रावतपनि विद्यायको दुरदशा देखेर हैरानीमा छन् । उनी भन्छन,“शिक्षकले पढाएको धेरै कुरा दिमागमा घुस्दैन् । पढाई भन्दा ध्यान भत्कीएको पर्खाल,चुहिने छानातिर जान्छ । शिक्षा आर्जनका लागि आबश्यक वाताबरण छैन् । बस्ने बेन्च पाउन पनि दौडिनु पर्ने,लडाई गर्नुपर्ने अबस्था छ । आखिर दुर्गम ताम्तीको यो विद्यालयले यस्तो समस्या कहिलेसम्म भोगिराख्ने ?”

जीर्ण भौतिक संरचनाकै कारण जनजागृती विद्यालयको पठन पाठन समेत प्रभावित भएको विव्यस अध्यक्ष नर बहादुर रावतले बताए । उनले भने,“विद्यालयमा पूर्वाधार निर्माणका संघियताअघि जिल्लामा पछि तीनै तहका सरकारसंग पहल नभएको हैन् । तर मागको सुनुवाई नहुँदा विद्यार्थी जीर्ण कक्षाकोठामै पढ्न बाध्य छन् । भने,हामी त्यो दुरदशा हेर्न बिवश छौ ।”

२०३६ सालमा स्थापना भएको जनजागृती विद्यालय करिब साढे ४ दशक पुराना संरचनामै संचालन भईरहेको छ । तातोपानी ८ का वडाध्यक्ष तिलक रावत भन्छन,“म विव्यस अध्यक्ष हुँदा पनि विद्यालय सुधारका लागि गुहार मागेको थिए । अहिले जनप्रतिनिधि हुँदा पनि केहि गर्न सकेको छैन् । माग गर्दा पनि कतै सुनुवाई नहुँदा जीर्ण भवनमा पठपाठन संचालन गर्न बाध्य छौ ।”

यदपी,हाल राष्ट्पति शैक्षिक सुधार कार्यक्रम अन्तरगर्त ५५ लाख लगानीमा चारकोठे पक्की विद्यालय भवन निर्माण भईरहेको वडाध्यक्ष रावतले जानकारी दिए । आगामी बजेटमा विद्यालयको पूर्वाधार विकासलाई पहिलो प्रथामिकता दिने प्रतिबद्धता गरे ।

जनजागृती विद्यालयको दुरदशा गत शनिवार प्रत्यक्ष अवलोकन गरेकी तातोपानीकी उपाध्यक्ष रेवती रावलले आगामी आवमा टुक्रे योजना भन्दा यस विद्यालयको सवालमा ठुलो योजना आएमा पारित गर्ने उल्लेख गरिन् ।

सामुदायिक विद्यालयको पूर्वाधारमा सुधार नल्याई शिक्षामा सुधार ल्याउन सम्भव छैन् । सामुदायिक विद्यालयमा विद्यार्थीको पहुँच बृद्धि गर्न मैत्रीपुर्ण संरचना निर्माणमा पालिका गम्भीर छ ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले विद्यालयको वास्तविक समस्याबारे हालसम्म गुनासो नआएको बताए । फर्निचरको समस्या छ भनेपछि जनतासंग अध्यक्ष कार्यक्रमको ३ लाख लगानी गरेर फर्निचर व्यवस्थापन गर्ने निर्णय भएको अध्यक्ष चौलागाईको भनाई छ ।

उनले भने,“वडाबाट माग भई आएको खण्डका आगामी बजेटमा उक्त विद्यालयलाई प्रथामिकता दिईने छ । तर मागनै नभएको विषयमा कसरी लगानी गर्ने ? फर्निचर छैन भनेपनि लगानी गर्ने तयारीमै छौ ।”

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस