तातोपानी गाउँपालिकाद्धारा पाँच जना पत्रकार पुरस्कृत


जुम्ला । जुम्लाका पाँच जना क्रियाशील पत्रकार पुरस्कृत भएका छन् । पत्रकारिताका माध्यमबाट पालिकाको विकास,समृद्धी संगै सुशासन कायम र नियमित खबरदारीका लागि उल्लेखीय भुमिका निर्वाह गरेको भन्दै तातोपानी गाउँपालिकाद्धारा जुम्लाका पाँच जना क्रियाशील पत्रकार पुरस्कृत भएका हुन् ।

तातोपानी गाउँपालिकाको १३ औँ गाउँसभाको अधिबेशनबाट निर्णय गर्दै पाँच जना क्रियाशील पत्रकारलाई जनही पाँच हजार नगद,सम्मान पत्र र पालिकाको डायरी दिएर पुरस्कृत गरिएको तातोपानीका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए ।

पुरस्कृत हुनेमा कर्णाली मिसनका प्रकाशक सम्पादक तथा कारोबार दैनिक र रेडियो नेपालका संवाददाता सागर परियार रहेका छन् । त्यस्तै ब्रेकएन लिक्सका संवाददाता महेश नेपाली,कान्तिपुर दैनिकका संवाददाता डिबी बुढा,राजधानी दैनिकका संवादाता मान बहादुर कुँवर र रेडियो नारी आवाजका स्टेशन म्यानेजर लक्ष्मी न्यौपाने पुरस्कृत भएका हुन् ।

पुरस्कृत हुने पत्रकारहरुले जनही पाँच हजार नगद,सम्मानपत्र,तथा मायाको चिनो स्वरुप पालिकाको डायरी प्राप्त गरेका छन् । त्यस्तै पालिकाका गान तयार गर्ने लेखक लाल प्रसाद चौलागाई र लोगो डिजाईनर किशोर उपाध्यायलाई पनि सम्मान गरिएको छ । पालिकागान लेखकलाई नगद २० हजार र लागो डिजाईनरलाई नगद ३० हजारमा २५ प्रतिशत कर काटेर पुरस्कार दिईएको छ प्रमुख प्रशासकिय अधिकृत कठायतले जानकारी दिए ।

विकास निर्माण,सेवा प्रवाह लगायतका काममा जिल्लामै अब्बल बन्दै गएको तातोपानीले पालिकाको विकास र समृद्धीमा योगदान व्यक्तिलाई प्रोत्साहन गरेर कार्यसम्पादनमा थप प्रभावकारीता ल्याउने अभ्यास थालेको छ ।

तातोपानीका हरेक विषय वस्तुमा स्थानीयदेखि राष्ट्यि मिडियामा नियमित लेख्ने,पालिकाको विकास र समृद्धीमा चासो राख्ने,सुधार गर्नुपर्ने पक्षमा खबरदारी गर्ने पाँच जना पत्रकारहरुलाई गाउँसभाको निर्णयबाट पुरस्कृत गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए । काम र क्रियाशलिताका आधारमा वर्षेनिक पत्रकारहरुलाई पुरस्कृत गर्ने तातोपानीको योजना छ ।

पुरस्कार प्राप्त पत्रकारहरुले पुरस्कार संगै स्थानीयतहको राम्रो कामको चर्चा गर्ने र बाटो बिराएको ठाउँमा निर्मम खबरदारी गर्ने जिम्मेवारी थपिएको महसुश भएको बताएका छन् । तातोपानी गाउँपालिकाले गरे जस्तो,बैशाख अन्तिममै योजना निर्माण गर्ने,सूचना तथा संचारमा सहकार्य गर्ने,पुँजीगत खर्चमा जोड दिने,सेवा प्रवाहलाई छिटो छरितो बनाउने जस्ता कार्यसम्पादन शैली जिल्लाका अन्य पालिकाले पनि अनुशरण गर्नुपर्ने देखिन्छ ।

यसका साथै १३ औँ अधिबेशनबाट तातोपानी गाउँपालिकाको आगामी आव २०८०÷८१ को बजेट बहुमतले पारित भएको छ । भने तीन वटा ऐन र कार्यविधि पनि सभाबाट पारित भएका छन् ।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस