जुम्लामा २० वर्ष नपुग्दै आमाबन्ने किशोरीको संख्या घट्दै

दुईवर्ष पहिले ८६०,यसवर्ष ५५० ले घटेर ३१० किशोरी २० वर्ष नपुग्दै आमा


जुम्ला । जुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या घट्दै गएको छ । विगतका वर्षको तुलनामा पछिल्लो वर्षमा जुम्लामा २० वर्ष नपुग्दै सुत्केरी हुने किशोरीहरुको संख्या घट्दो अवस्था रहेको छ ।

स्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकनुसार आर्थिक वर्ष २०७७÷७८ मा जुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या ८ सय ६० जना थियो । जसमा सबैभन्दाबढी चन्दननाथ नगरपालिकामा १ सय ९० जना र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ जना किशोरी रहेका छन् । चन्दननाथमा कर्णाली प्रतिष्ठान भएकोले बढी देखिएका हुन् ।

भने, पातारासी १ सय ३४ कनकासुन्दरीमा ९० ,सिँजामा ६८, गुठीचौरमा ९५ जना,तिलामा १ सय ४० र हिमामा ७७ जना गरी जम्मा ८ सय ६० जना जुम्लाका किशोरी गत आवमा उमेर नपुग्दै गर्भवती अर्थात आमा बनेका थिए । भने उनीहरुबाट जन्मीएका १ सय ८० बच्चा कम तौलका थिए ।

दुई वर्ष पहिला २० वर्ष नपुग्दै आमा अर्थात गर्भवति हुने किशोरीको संख्या ८ सय ६० रहेको जुम्लामा यस वर्ष दोब्बरले घटेर ३ सय १० मा पुगेको छ । यो तथ्यांकले जुम्लामा बालबिवाह पनि घटाएको देखिन्छ ।

गत दुई वर्षमा ८ सय ६० जना किशोरी स्वास्थ्य संस्थामा सुत्केरी भएकोमा यस आर्थिक वर्षमा ३ सय १० जना सुत्केरी भएको तथ्यांक सार्वजानिक भएको छ । यो तथ्यांकलाई आधार मानी अघिल्लो वर्षको तथ्यांकसंग तुलना गर्दा जुम्लामा वालबिवाह घट्दो क्रममा रहेको देखिन्छ ।

चालु आवको ११ महिनाको प्रतिबेदन अनुसार जुम्लामा ३ सय १० जना किशोरी २० वर्ष नपुग्दै सुत्केरी भए । जुन अघिल्लो दुई आर्थिक वर्षको तुलनामा ५ सय ५० जनाले कम हो । यदपी बालविवाह भने अपेक्षाकृत रुपमा रोकिएको छैन् ।

३ सय १० जना किशोरी मध्य यसवर्ष सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा १ सय २७ जना किशोरी २० वर्ष नपुग्दै सुत्केरी भएको तथ्यांक सार्व उल्लेख छ । सबैभन्दा कम सिन्जा गाउँपालिकामा ५ जना २० वर्ष नपुग्दै सुत्केरी भएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

गुठीचौरमा ७५ जना विवाहित किशोरीमध्ये ४३ जनाले २० वर्ष नपुग्दै बच्चा जन्माएका छन् । पातारासीमा १ सय ४२ मध्ये ४१, हिमामा १ सय १४ मध्ये २७ जना, तिलामा १ सय ३६ मध्ये २२ जनाले उमेर नपुग्दै बच्चा जन्माएका हुन् । सिंजामा १ सय ४९ किशोरीमध्ये ५ जना, तातोपानीमा ९३ मध्ये २१ जना र कनकासुन्दरीमा १ सय ६० मध्ये २४ जना किशोरी २० वर्ष नपुग्दै आमा बनेका छन् ।

यस वर्षको तथ्यांकले जुम्लामा बालबिवाह घट्दै गएको देखाएपनि अबस्था सन्तोषजनक नरहेको तातोपानीका स्वास्थ्य शाखा संयोजक गुरु प्रसाद चौलागाईले बताए । उनका अनुसार अझै गाउँघरमा बालबिवाहका असर तथा कानुनी दण्ड सजायबारे सचेतना फैलाउन जरुरी छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख प्रेम सुमाइले तथ्यांकले बालबिवाहमा अपेक्षित सुधार नआएपनि बालबिवाह दर घट्दो क्रममा रहेको बताए । पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयले वर्षेनिक बालविवाहबारे तथ्यांक सार्वजानिक गर्दै आएको छ ।

प्रकाशित मिति : २०८० असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस