जुम्ला । तातोपानी गाउँपालिका ५ स्थित दुर्गा माध्यमिक विद्यालयको अन्तिम परिक्षामा सामेल भएका विद्यार्थीलाई मात्र पाठ्यपुस्तकको रुपैयाँ वितरण गरिने भएकाे छ । अन्तिम परिक्षामा सामेल भई टाउँको गनिएका विद्यार्थीले मात्र पाठ्यपुस्तकको रुपैया पाउने भएका हुन् ।
दुर्गा माविका विद्यार्थीले पाठ्यपुस्तकको पैसा कम आएको,विद्यालय र पालिकाको विद्यार्थी संख्यामा एकरुपता नभएको लगायतका गुनासा राखेपछि बुधबार विद्यालयमा बृहत्त सर्वपक्षिय छलफल गरिएको थियो ।
छलफलका क्रममा पालिकाले परिक्षामा टाउँका गनेको आधारमा पाठ्यपुस्तकको पैसा विद्यालयमा पठाएको र विद्यालयले ईमिच तथा विद्यालय भर्ना रजिष्टरका आधारमा भरपाई बनाएपछि अन्यौलता सृजना भएको पृष्टी भयो ।
त्यसपश्चात पालिकाले टाउँको गनेकै आधारमा पैसा पठाएको र विद्यालयले पनि अन्तिम परिक्षामा सहभागी भएका विद्यार्थीले मात्र पाठ्यपुस्तकको शत प्रतिशत रुपैया पाउने निर्णय गरिएको दुर्गा माविका विव्यस अध्यक्ष आदी प्रसाद न्यौपानले बताए ।
अब कक्षा ६ देखि १२ सम्मका अन्तिम परिक्षा सामेल भएका विद्यार्थीले मात्र पाठ्यपुस्तकको पैसा पाउने छन् । विद्यालयको रेडर्क अनुसार पालिकाले टाउँका गनेको आधारमा कक्षा ६ मा ३९ जनाका लागि २९ हजार ८ सय २६,कक्षा ७ मा ४२ जनाका लागि २३ हजार ६ सय ८८,कक्षा ८ का ५१ जनाका लागि २३ हजार ९ सय २७ रुपैया पठाएको छ ।
त्यस्तै कक्षा ९ का ४६ जनाका लागि २६ हजार ७०३ रुपैया,कक्षा १० का ३६ जनाका लागि २५ हजार ५ सय २ रुपैया विद्यालयको खाता आएको छ । भने कक्षा ११ का २९ जना विद्यार्थीका लागि ५ हजार ८ सय ७२ र कक्षा १२ का ४७ जनालाई ११ हजार १ सय ३९ रुपैया विद्यालयलाई प्राप्त भएको दुर्गा माविका प्रधानाध्यापक प्रेम बहादुर शाहीले बताए ।
उनले भने,“उल्लेखित रकम र विद्यार्थी संख्या पालिकाले टाउँको गनेर पठाएको हो । सर्वपक्षिय छलफलले परिक्षामा टाउँको गनेकै आधारमार पाठ्यपुस्तकको रुपैया दिने निर्णय गरेको छ । अब सोहिनुसार विद्यार्थीले शत प्रतिशत रुपैया पाउनेगरी वितरण गरिन्छ ।”
यदपी,प्रअकै लापरबाहिले दुर्गा माविका दलित विद्यार्थी छात्रबृत्ति पाउनबाट बन्चित हुदैँ आएका छन् । अब आगामी दिनमा विद्यालयको शैक्षिक प्रशासनिक तथा भौतिक अबस्थालाई सुधार गर्दै सबैको साथले नमुना विद्यालय बनाउने अठोट रहेको समेत विव्यस अध्यक्ष आदी प्रसाद न्यौपानको भनाई छ ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले आफ्नो कार्यकालमा शिक्षा क्षेत्रको आर्थिक सुशासन तथा सामुदायिक विद्यालय सुधारमा केहि नयाँ काम गरेर जाने बताए । उनले भने,“चैतमा घर नफर्किने जुम्ली मर्यो भुनी जान्नु भन्ने जुम्लामा उखान छ । तर अन्तिम फाईनल परिक्षामा नआउने विद्यार्थी त्यो विद्यार्थीनै हैन् ।
पाठ्यपुस्तक,छात्रबृत्ति,खाजा लगायतका नाममा विद्यालयमा भ्रष्टचार हुने गरेको थाहा पाएपछि अन्तिम परिक्षामा टाउँका गनिएका थियौ । सोहि अनुसार पाठ्यपुस्तकको रुपैया समेत पालिकाले पठाएको छ ।”
विद्यालय नियमित नआउने, बेलाबखतका आएर उफ्रिने विद्यार्थी धेरै भएकोले पालिकाले टाउँका गनेरै पठाएकाले परिक्षा रजिष्टरको आधार मात्रै पाठ्यपुस्तकको रुपैया वितरण गर्न समेत निर्देशन दिए ।
साथै अध्यक्ष चौलागाईले दुर्गा माविमा शिक्षकहरुबाटै राजनीति भईरहेको पाइएकोले तत्काल राजनीति बन्द गर्न र जिम्मेवारीनुसार पढाउन समेत निर्देशन दिए । यदपी,विद्यार्थी उचाल्ने,राजनीति गर्ने लगायतका कार्य गरेमा कारबाहि गर्ने समेत उनको चेतावनी छ ।