जुम्ला । जुम्लामा उपभोक्ताको सहजता र सदरमुकाम आउने झन्झटन अन्त्य गर्न फेरी वडाबाटै वितरण हुने गरी नुन पठाउने तयारी भएको छ । असार ३१ गते नुन नपाएको भन्दै उपभोक्ताले डिपोनै तोडफोड गरेपछि वितरणका लागि फेरी वडा–वडामै नुन पठाउने तयारी भएको हो । यदपी,स्थानीय नागरिक भने वडाबाटै सहज रुपमा पाईनेमा ढुक्क छैनन् ।
किन भने,०७९ पुष १ गते जिल्ला प्रशासनमा भएको सर्वदलीय बैठकले उपभोक्ताको राहत र सहजताका लागि यहाँका एक नगरपालिका सहित सात गाउँपालिकाका ६० वटै वडाबाट नुन वितरण गर्ने निर्णय भएको थियो ।
सोही निर्णय बमोजिम केहि समय वडाबाटै प्रतिव्यक्ति पाँच प्याकेटका दरले वितरण पनि गरियो । तर वडाबाट वितरण कार्य दिगो हुन सकेन् । किन नुन ढुवानी समयमै नहुँदा वडाको मागनुसारको नुन साल्टट्रेडिङले पठाउन सकेनन् । जसका कारण वडाबाटै नुन वितरण गर्ने निर्णय २÷३ महिना नबित्दै तुहियो । फेरी नागरिक सदरमुकामकै डिपोमा भिड लाग्न बाध्य भए ।
गाउँमा नुन नपाएपछि भविष्यमा अभाव हुन सक्ने भन्दै हजारौको संख्यामा नुन लिनेको भिड लाग्यो । फलस्वरुप असार ३१ गते नुन नपाएपछि सुरक्षाकर्मी र नागरिकको झडप मात्र भएनन् । उपभोक्ताले डिपोनै तोडफोड गरे । असार ३१ गतेदेखि सदरमुकाम डिपोबाट नुन वितरण रोकिएको छ ।
तातोपानी गाउँपालिका ४ नम्बर वडाध्यक्ष अमर बहादुर रोकायाले निर्णयनुसार पहिलो चरणमा वडाले बजेट व्यवस्थापन गरी वडाबाटै नुन वितरण गरेको बताए । तर दोस्रो पटक नुनको माग गर्दा साल्टट्रेडिङले नुन मौज्दात नरहेको र विपद्को लागि मात्रै राखिएकोले दिन नसकिने बताएपछि वडाबाट नुन वितरण रोकिएको हो ।
उनले भने,“असार ३१ गते डिपो तोडफोडपछि संघिय माननीयले बास्तविकता नबुझी स्थानीय जनप्रतिनिधि प्रति बोलेको अराजनीतिक अभिव्यक्तिले ध्यानर्कषण भएको छ । पटक पटक माग गर्दा पनि साल्टट्रेडिङमा मौज्दात नरहेकाले दिन नमिल्ने भनेपछि नुन वितरण रोकियो ।”
समयमै नुन ढुवानी नहुँदा समस्या निम्तीएको कुरामा बेखबर हुने माननीयहरु लगायत सबै सरोकारवालाले नुनको सहज वितरण गर्न आबश्यक समन्वय सहकार्य गर्नुपर्ने उनको भनाई ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले डिपोमै तोडफोड भएको घटनाबारे नेपाल साल्ट ट्रेनिङ कार्यालयमा बुझ्ने काम भएको बताए । उनले भने,“क्षतिको अवस्था र प्रकृति हेर्दा नुनको प्रभावकारी व्यवस्थापन वडामै हुने निष्कर्षसहित वडामै वितरण गर्न निर्देशन गरिएको छ । प्रत्येक वडामा नुन पठाउने निर्णय यसअघि नै भइसकेको थियो । तर ढुवानी नहुँदा कार्यान्वयनमा समस्या रहेको बुझीएकोले अब वडाबाट वितरणलाई प्रभावकारी बनाउन जरुरी छ ।”
जुम्लामा १७ सय २१ क्वीईन्टल नुन मौज्दात
व्यवस्थापन कमजोरी तथा पालो मिचेर नुन लिन खोज्दा डिपो तोडफोड भएपनि जुम्लामा नुनको अभाव छैन् । गत आवकै नुन समयमै ढुवानी नहुँदा वडामा पठाउन सकिएन् । जसका करण सदरमुकाम डिपोमा नागरिकको भिड लाग्ने गरेको साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए ।
उनका अनुसार जुम्लामा हाल १ हजार ७ सय २१ क्वीईन्टल नुन मौज्दात रहेको छ । जसमा सदरमुकामको डिपोमा ८ सय २१ क्वीईन्टल,नराकोट डिपोमा ५ सय ५० क्वीईन्ट र गुरुचौर डिपोमा ३ सय ५० क्वीईन्टल गरी १७ सय २१ क्वीईन्टल मौज्दात छ । नुनको अभावनै छैन् । जनतालाई आत्तिनु पर्ने स्थिती पनि छैन् ।
सदरमुकाम आउने झन्झट र भिड रोक्न पहिलाकै निर्णय कार्यान्वयन गर्दै वडा वडामा नुन पठाउने तयारी गर्दै छौ । उनले भने,“विगतको जस्तो वडामा नुन नपठाउने समस्या हुन्छ,निर्णय कार्यान्वयन हुन्नकी भन्ने शंका लाग्नु स्वभाविक छ । तर हामी वडाबाटै नुन वितरण गर्ने तयारीमा जुटेका छौ ।”
असार ३१ गतेदेखि सदरमुकाम डिपोबाट नुन विरतण रोकिएको र समय तालिम बनाएर चाडै वितरण सुरु गरिने समेत प्रमुख मल्लले उल्लेख गरे । गत आव ०७९÷८० मा जुम्ला सदरमुकाम सहित तीनै डिपोका लागि ४२ सय क्वीईन्टल कोटा रहेकोमा सबै ढुवानी भएर पनि २ हजार ८० क्वीईन्टल कोटा थप माग गरिएको थियो । पछिल्लो थप माग गरिएको २ हजार ८० क्वीईन्टल नुन ढुवानी ढिला हुँदानै समस्या आएको हो । यदपी असार ३० गते नुन आईपुगेको छ ।
त्यस्तै चालु आव ०८०÷८१ का सदरमुकाम डिपोका लागि ३ हजार ९८ क्वीईन्टल,गुरुचौरका लागि ८ सय ८५ क्वीईन्टल र नराकोटका लागि ७ सय ९६ क्वीईन्टल नुनको कोटा स्वीकृत भएको छ । जसमा नेपालगन्जदेखि ३ सय ४० क्वीईन्ट नुन समेत ढुवानी सुरु भईसकेको प्रमुख मल्लले जानकारी दिए ।
गत आवकै १७ सयबढी क्वीईन्टल नुन मौज्दात हुनु,चालु आवको ढुवानी सुरु हुनुले वडा वडाबाटै नुन वितरण गर्ने कार्य सफल हुने अपेक्षा गरिएको छ । यदपी नागरिकले भने कार्यान्वयनमा शंका व्यक्त गरिरहेका छन् ।
वडा वडाबाट नुन बाड्ने निर्णय नुन ढुवानी नभएकै कारण कार्यान्वयन नभएको नजिर स्थापित भईसकेकोले फेरी वडाबाटै नुन विरतण गर्ने अभ्यास आफैमा चुनौतीपुर्ण रहेको नागरिक अगुवा राजबहादुर महतले बताए । उनले नागरिकले सहज रुपमा नुन पाउने वाताबरण मिलाउन तीनै तहका जनप्रतिनिध लगायत सरोकावालाले समयमै नुन ढुवानी गर्ने विषयमा जोड दिनु पर्ने उल्लेख गरे ।