जुम्ला । गुठीचौरमा शृङ्खलाबद्ध रुपमा आगलागी भएपछि अनुसन्धानको क्रममा प्रहरीले शंकास्पद दश जनालाई नियन्त्रणमा लिएको छ । गुठिचौर क्षेत्रकै १० जना लाई घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
प्रहरी निरीक्षक धर्मराज जोसीले अगालागी भएका ठाउँका दश जनालाई नियन्त्रणमा लिएर उनीहरुमाथि अनुसन्धान भइरहेको बताउनुभयो । गुठीचौर गाउँपालिका–४ का विभिन्न वडा र गाउँमा शनिवार राती शृङ्खलाबद्ध रुपमा ६ वटा र चन्दननाथमा एक गरी सातवटा घरमा आगलागी भएको थियो ।
किन कसले आगो लगायो भन्ने बारे प्रहरीले अनुसन्धान गरी गरिरहेको छ । प्रहरी निरिक्षक जोशी भन्छन,“यसअघि गुठिचौरमै पार्किङ गरिएकै अबस्थामा अटोमा आगजनी भएको थियो । शनिवार सात घरमा आगो लगाइयो । गुठिचौमा सुरक्षा चुनौती बढेकोले प्रहरीले अनुसन्धान र निगरानी बढाएको छ ।”
शनिवार रातीनै चन्दननाथ १ मा एउटा घर र गुठिचौर ४ मा ६ वटा घर तथा रोकिएको ट्याक्टर आगजनी भएको हो । जसमा चन्दननाथ नगरपालिका १ निवासी रत्न बहादुर बुढाको घरमा आगो लगाइएको छ ।
भने गुठिचौर गाउँपालिका ४ निवासी धवलपुर गाउँका प्रेम न्यौपानेको घर, सोही वडाकै बाउली गाउँका कविदत्त न्यौपानेको घर, दलितबाडाका लालचन्द्र सार्कीको घर र बिगारे गाउँका भिम प्रसाद जैशीको घर र डाँडाबाडा गाउँका कविदत्त न्यौपानेको घरमा अज्ञात समूहले आगो लगाएको हो ।
गुठिचौर ४ का वडाध्यक्ष टिकादत्त न्यौपानेले अज्ञात समुह गाउँगाउँमा आगजनी गर्दै गएको बताउनुभयो । ठेकेदार टाँसी तामाङले निर्माण कार्यका लागि पार्किङ गरि राखेको ट्याक्टरमा समेत आगो लगाइएको छ ।