
जुम्ला । तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले जन्मदिनको अबसरमा अति विपन्नलाई खाद्यन्न सहयोग गरेका छन् । अध्यक्ष चौलागाईको साउन १० गते जन्मदिन मनाउने क्रममा जम्मा भएको दक्षिणाको रकमबाट पालिकाका ८ जना अति विपन्नलाई खाद्यन्न सहयोग गरिएको हो ।
आठै जनालाई पालिकामा बोलाई विहिबार एक,एक बोरा चामल हस्तान्तरण गरिएको छ । पालिकाका ८ वटै वडाका अति विपन्न ८ जना नागरिकलाई २५ किलोको एक÷एक बोरा चामल उपलब्ध गराइएको तातोपानीका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए । सामान्य रुपमै जन्मदिने मनाइएको र शुभचिन्तकले टिका लगाउने क्रममा दिनु भएको दक्षिणाको रकमलाई विपन्नको राहतका निम्ती खर्च गरिएको अध्यक्ष चौलागाईको भनाई छ ।
खाद्यन्न राहत पाउनेमा तातोपानी वडा नं. १ का धौलो दमाई,वडा नं.२ का चेरचेरे दमाई,वडा नं. ३ की लाउरी रावल, वडा नं. ४ की गोईली कामीले खाद्यन्न पाएकी हुन् । त्यस्तै,वडा नं. ५ का फाँचु दमाई,वडा नं. ६ का हरी प्रसाद न्यौपाने,वडा नं. ७ का मान बहादुर कुँवर र वडा नं. ८ का गगनी रावत गरी ८ जनालाई खाद्यन्न दिइएको छ ।
जन्मदिन मनाउँदा घरमा र पालिकामा गरी करिब १२ हजार जती दक्षिणा जम्मा भएकोमा सोही रकमलाई अध्यक्ष चौलागाईले अति विपन्नको राहतमा खर्चिएका हुन् ।