जुम्लाबाट विदेशीनेको संख्या बढ्दै,एकै वर्षमा १४ सयले लिए राहदानी

जिल्ला प्रशासन कार्यालय जुम्लामा नागरिक तथा राहदानी लिनेको भिड । तस्बिरःकर्णाली मिसन

जुम्ला । संघियतापछि स्थानीयतहले अपेक्षित रुपमा रोजगारी सृजना नगर्दा गाउँ गाउँबाट विदेशीने यूवा यूवतीको संख्या बढ्दै गएको छ । संघियतापछि गाउँमै योग्यता,क्षामता र दक्षतानुसार उपयुक्त रोजगारी पाउने आशा गरेपनि त्यसो नहुँदा बैदेशिक रोजगारीमा जाने जुम्ली यूवाको संख्या वर्षेनिक बढ्दै गएको हो ।

आफ्नै गाउँठाउँमा रोजगारीका अवसर नभएपछि ठूलो संख्यामा युवाहरू वर्षेनी पलायन हुन थालेका हुन् । स्थानीय सरकार सञ्चालन भएको साढे ६ वर्षमा पनि सीप क्षमता र योग्यताअनुसार आफ्नै गाउँघरमा उपयुक्त रोजगारी नपाएपछि युवाहरू विदेशिन बाध्य भएका छन् ।

जुम्लासहित कर्णालीका नागरिकको रोजगारीका लागि मुख्य केन्द्र भारत भए पनि हालसम्म भारतमा कति नागरिक रोजगारीका लागि गएका छन् भन्ने आधिकारिक तथ्यांक छैन । तर जुम्लाबाट तेस्रो मुलुकमा रोजगारीका लागि पलायन हुने युवा भने बढेको तथ्यांकले देखाएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाको राहदानी फाँटको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा जुम्लाका १ हजार ४ सय ५ जना यूवायुवतीले राहदानी लिएका छन् । राहदानी लिनेमा महिलाका तुलनामा पुरुष तेब्बरले बढी छन् । १४ सय ५ जना मध्य महिला २ सय ४० र पुरुष ११ सय ६५ जनाले राहदानी लिएको राहदानी फाँट प्रमुख नर बहादुर बुढाले बताए ।

उनका अनुसार राहदानी लिने मध्य अधिकतम अनुमानित ९५ प्रतिशत व्यक्ति बैदेशीक रोजगारीका लागि जाने गरेका छन् । भने बाँकी कर्मचारी,उच्च पदस्थ व्यक्तिहरुले बैदेशिक भ्रमणका लागि राहदानी लिने गरेका हुन् ।

गत दुई आव पहिले २०७७÷७८ मा जुम्लाबाट विदेश जानका लागि ३ सय ३६ जनाले राहदानी लिएका थिए । भने आव ७८÷७९ को अन्तिम सम्म करिब ६ सयबढीले राहदानी लिएका थिए । तर बितेको आर्थिक वर्षको तथ्यांक हेर्दा बैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै बढेको देखिन्छ ।

संघियता कार्यान्वयनमा नआउनु पहिलेसम्म जुम्लाबाट बैदेशिक रोजगारीका लागि राहदानी लिने संख्या निकै न्युन थियो । भने अझ महिलाको संख्या शून्य हुन्थ्यो । तर पछिल्लो वर्षमा बेरोजगारी चुलिदै जानु,स्थानीय सरकारले उत्पादनमुखी क्षेत्रमा लगानी नगर्नु,रोजगारी सृजना नगर्नु लगायतका कारणले वैदेशिक रोजगारीप्रति यूवा यूवतीको आर्कषण बढेको तथ्यांकले देखाउँछ ।

देशमा रोजगारीको अवसर नपाएपछि युवाहरू खाडीतिर जान बाध्य भएका हुन् । स्थानीय सरकारले दिने रोजगारी आफ्ना कार्यकर्तामुखी भए पनि विपन्न युवाहरू रोजगारीका लागि खाडी मुलुकमा जान बाध्य भएका छन् ।

हाल कर्णाली प्रदेशको बहुआयामिक गरिबी ३९ प्रतिशत रहेको छ । यदपी एक वर्ष पहिलेसम्म ५२ प्रतिशत बहुआयामिक गरिबी रहेको कर्णालीमा गत वर्षको आर्थिक सर्वेक्षणले कर्णालीको बहुआयामिक गरिबी १२ प्रतिशतले घटेको देखाएको थियो । गरिबी घटेपनि बेरोजागारीको समस्या बढ्दै गएको छ ।

राष्ट्यि जनगणनाको तथ्यांकनुसार कर्णाली प्रदेशका ९४ हजार यूवायूवतीहरु रोजगारीका लागि खाडी मुलुकका गएका छन् । कर्णालीमा सम्भावना भएर पनि उपयुक्त रोजगारी सृजना नहुँदा कालापहाड तथा तेस्रो मुलुकमा रोजगारीका लागि भौतारिन कर्णालीका यूवा बाध्य छन् ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस