जुम्ला । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाका तीन गाउँ पहिरोको उच्च जोखिममा रहेका छन् । शुक्रबार रातीबाट भएको अविरल वर्षा संगै आएको बाढी र पहिरोले हुम्ला सर्केगाड गाउँपालिका वडा नं. २ रिप, वडा वडा नं. ३ को उनापानीमा र नं.८ को रादेउँ गाउँ पहिरोको जोखिममा रहेका हुन् । भने विशेष गरी झण्डै २ सय घरधुरी र ५ सयबढी जनसंख्या रहेको सर्केगाड गाउँपालिका वडा नं. २ स्थित रिप गाउँ भने उच्च जोखिममा रहेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले बताए ।
उनले भने,“रिप गाउँको दाँयाबाँयाबाट बग्ने खोलामा ठुलो बाढीसंगै पहिरो आएको छ । गाउँ बीचमा रहेकोले जोखिम बढ्दो छ । हालसम्म मानवीय तथा घरमा क्षति छैन् । तर जोखिम बढ्दो छ । रिप गाउँका नागरिकलाई सुरक्षित स्थान्तरण गर्न प्रक्रिया थालेका छौ ।”
उनापानी र रादेउ गाउँ भने बाढी पहिरोबाट आशिंक रुपमा प्रभावित छन् । रिप गाउँ उच्च जोखिममा परेपछि प्रदेश सरकारदेखि जिल्लाको सुरक्षा र विपद् व्यवस्थापन समितिले राहत उद्दार तथा पुर्नस्थापनाको लागि पहल थालेको सहायक प्रजिअ सुवेदीले जानकारी दिए ।
रिप गाउँ लगायतको अन्य बाढी पहिरो प्रभावित क्षेत्रको अबस्था अवलोकन तथा राहत उद्दारका निम्ती सदरमुकाम सिमकोटबाट नेपाली सेना २५ जना,शसस्त्र प्रहरी १५ जना,नेपाल प्रहरी १५ र सर्केगाडको अस्थायी प्रहरी चौकीका सुरक्षाकर्मी सहित ५५ जनाको टोली प्रभावित गाउँ तर्फ गएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जानकारी दिएको छ ।
प्रहरी चौकीबाट रिप गाउँमा पुगेका प्रहरीका अनुसार गाउँ पहिरोको उच्च जोखिममा रहेपनि हालसम्म मानवीय घटना नभएको जानकारी प्राप्त भएको सहायक सिडिओ सुवेदीले कर्णाली मिसनलाई जानकारी दिए ।
उनले भने,“प्रभावित गाउँको अबस्था अवलोकनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको टोली आउने तयारी छ । मौसम प्रतिकुल नभए शनिवारनै हुम्ला पुग्ने कार्यक्रम तय भएको छ । रिप गाउँका नागरिकको सुरक्षा तथा बस्तीस्थान्तरणका लागि के गर्ने भन्नेबारे सुरक्षा समितिको बैठक बसीरहेको छ । घटनास्थलमा गएका सुरक्षाकर्मीहरुबाट प्राप्त सूचना अनुसार आगामी कदम चाल्ने छौ ।”
पहिरोले लाखौको क्षति
निरन्तरको वर्षा पछि आएको बाढी र पहिरोले प्रभावित हुम्ला सर्केगाडका रिप,रादेउ र उनापानी गाउँमा लाखौंको क्षति भएको छ । ठूलो वर्षासँगै पहिरो जाँदा पुल–पुलेसा, खेतबारी तथा ग्रामिण सडकहरुमा क्षति पुराएको हो ।
एक सातादेखि वर्षा भइरहेकोमा शुक्रबार रातिको ठूलो वर्षासँगै हुम्लाका तीन गाउँमा पहिरो आउन सुरु भएको छ । रादेउमा पुल–पुलेसा, घट्ट, काठेपुल र खेतबारी बगाएको छ । भने,रिप गाउँमा सबै काठेपुल बगाएपछि नागरिकलाई सुरक्षित स्थानमा जान समेत विकल्प छैन् । रिप गाउँको सबै खेतीयोग्य जमिन पहिरोले बगाएको छ । भित्राउनै लागेको बालीनालीमा समेत क्षति भएको छ ।
त्यस्तै,उनापानी गाउँमा खानेपानीका मुहान पुरिनुका साथै स्थानीय लघुविद्युत् आयोजनाको पावर हाउसमा समेत पहिरोले क्षति भएको छ । भने,झण्डै २५÷२६ हेक्टरमा लगाइएको धान खेत पहिरोले बगाएको स्थानीयले बताएका छन् । यदपी,समचार तयार गर्दा सम्म मानवीय जोखिम तथा घरमा क्षति भएको छैन् ।