जुम्ला । जुम्लाको काँचो स्याउ बजारमा पुगेको पाइएको छ । साउनकाे पहिलो सातामै जुम्लाको काँचो स्याउ बजारमा पुगेको हो । नाफा कमाउने दाउमा किसान र व्यापारीको मिलेमतोमा नपाक्दै जुम्लाको काँचो स्याउ कर्णाली प्रदेशको राजधानी सुर्खेत,नेपालगन्ज,वुटवल लगायतका बजारमा पुगेको छ ।
जुम्लाको स्याउलाई भदौ दोस्रो साता भन्दा अघि टिप्न तथा बाहिरी जिल्लामा पठाउन नमिल्ने पटक पटक निर्णय भएको छ । तर निर्णयको ठाडो उलंघन गर्दै किसान तथा व्यापारीको मिलेमत्तोमा जुम्लाको काँचो स्याउ वर्षेनी बाहिरी बजारमा जाने गरेको छ ।
भदौ दोस्रो सातापछि मात्रै टिप्ने निर्णय भएपनि पछि मूल्य नपाइने चिन्ताले किसान प्रायः परिपक्क नहुँदै स्याउ बेच्दै आएका छन् । तर शनिवार विहान सुर्खेतमा काँचो हरियो,रंगनै नभरिएको जुम्लाको स्याउ बेचिरहेकै अबस्थामा जुम्ला चन्दननाथका स्थानीय तथा कृषि प्राविधिक धर्मराज आर्चायले भेटाएका थिए । उनका अनुसार सुर्खेतको बसपार्क क्षेत्रमा रहेको (जिल्ला आइ.पि.एम फलफूल तथा तरकारी मण्डी) मा जुम्लाको काँचो स्याउ विक्री भईरहेकोे अबस्थामा भेटिएको छ ।
आफुले स्याउ कता कालिकोटको हो भनेर सोध्दा,मण्डी सञ्चालकले कालिकोटको नभई जुम्लाकै स्याउ आएको बताएको आर्चायको भनाई छ । तिला गाउँपालिका वडा नं. २ लर्मीगाउँ स्थायी घर भएका मण्डी सञ्चालक हस्त बहादुर रावतले स्याउ बेचिरहेका छन् । सुर्खेतका प्रत्यक मण्डी तथा चोकचोकमा मात्र नभई जुम्लाको स्याउ साउन पहिलो सातामै देशका विभिन्न जिल्लामा पुगीसकेको मण्डी संचालक हस्त बहादुर रावत बताउँछन् । यदपी,आफुले बेचेको स्याउ असारमै पाक्ने चक्लेटी स्याउ रहेको उनको दाबी छ।
मण्डी संचालक रावत भन्छन,“शुत्रबार राती मण्डी बन्द हुने बेलामा एकजना जुम्लाकै मान्छे आएर स्याउ राख्नुहोस् भनेपछि मैले करिब ६० कार्टुन जत्ती स्याउ राखेको छु । उनले नेपालग्नज लिने कुरा गर्दै थिए । प्रतिकेजी १२० रुपैयामा स्याउ बेचीरहेको छु । यो भन्दा अघि साउन पहिलो हप्तामै ठुलो मात्रामा जुम्लाको स्याउ सुर्खेत लगायतका बजारमा पुगिसकेको छ ।”
यदपी,जुम्लाबाट स्याउ ल्याउने मान्छे र नाम आफुले नचिनेको र असारमा पाक्ने चक्लेटी स्याउ हो भनेपछि आफुले किनेर बेचेनको मण्डी सञ्चालक रावतको भनाई छ । तर उनको मण्डीमा विक्रीका लागि राखिएको स्याउ असारमा पाक्ने चक्लेटी नभई भदौमा पाक्ने रेड डेलिसियस स्याउ हो ।
हाल स्याउ बढीमा ४० प्रतिशत मात्रै परिपक्व भएको छ । अझै ६० प्रतिशत स्याउको विकास हुन बाँकी छ । रंग तथा गुलियोपन समेत भरिएको छैन् । पछि मुल्य नपाउने चिन्तामा किसानले स्याउ बजारमा पठाउँदा जुम्ली स्याउ अर्गानिक जिल्ला जुम्लाकाे पहिचाननै खतरामा परेको छ । किसानले क्षणिक नाफा भन्दा दीर्घकालीन असरलाई ख्याल गर्नुपर्नेमा कृषि विज्ञहरुको जोड छ ।
स्याउ नटिप्ने निर्णय भए पनि किसान र व्यापारीको मिलेमतोमा वर्षेनी काँचो स्याउ निर्यात हुने गरेको छ । यसलाई रोक्न स्वयम किसान चेतनशील नभएसम्म काँचो स्याउ निर्यात रोक्न मुस्किल देखिन्छ ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश बहादुर अधिकारीले जुम्लाको स्याउ बजारमा नगएको दाबी गरे । यदपी, लुकीछिपी किसानले पठाउन सक्ने कुरा स्वीकार गरे । उनी भन्छन,“किसानलाई स्याउ नटिप नलेउ भन्न मिल्दैन् । पछि बिक्दैन,छोराछोरीको लुगाफाटो गर्नु पर्यो,पछि के तपाईले किन्नु हुन्छ ? भनेर प्रश्न गर्छन् । ठयाक्कै स्याउ रोक्ने कानुन पनि छैन् । किसानको उत्पादन किसानै स्वतन्तत्रा छ । तर यसले पहिचानमा खतरा निम्त्याउँछ ।”
संकलन केन्द्रको अभाव,पछि उपयुक्त मुल्य नपाउने जस्ता समस्याले किसानहरु साउनमै स्याउ टिपेर विक्री गर्न बाध्य छन् । स्याउ किसानलाई भदौ दोस्रो साताभन्दा अघि स्याउ नटिप,पछि मुल्य पाईन्छ,स्याउ सुरक्षित हुन्छ भनेर ढुक्क बनाउने कुनै संयन्त्र छैन् ।
प्रायः कालिकोटको स्याउ लिएर राम्रो मुल्य पाउन व्यापारीहरुले जुम्लाको नाम बेच्ने गरेका छन् । गत वर्ष जस्तै काँचो स्याउ टिप्न तथा बेच्न रोक्नका लागि जिल्लामा छलफल चलाईने कार्यालय प्रमुख अधिकारीको भनाई छ । काँचो स्याउ बजारमा छयापछयाप्ती भएपछि भदौमा जाने परिपक्क स्याउले मुल्य नपाउने विगतकै समस्या यस वर्ष पनि दोहोरिने छ ।
गत वर्ष पनि साउन पहिलो सातामै जुम्लाको काँचो स्याउ बाहिरी जिल्लामा पुगेपछि जिल्लामा काँचो स्याउ नटिप्न गाउँगाउँमा किसान तथा सरोकारवाला संग अन्तरक्रिया गरिएको थियो ।