जुम्ला । स्वास्थ्य बिमाबाट प्रभावकारी सेवा नपाएको गुनासाहरू आएपनि स्वास्थ्य बिमितको सङ्ख्यामा वर्षेनी उल्लेखीय वृद्धि हुँदै गएको छ । सेवामा आएको सुधार र नागरिकले राहत महसुश गरेसंगै स्वास्थ्य बिमामा नागरिकको पहुँच बृद्दि हुँदै गएको हो ।
जुम्लामा स्वास्थ्य बिमा कार्यक्रम संचालन भएको करिब ७ वर्षमा कुल जनसंख्याको झण्डै ६७ प्रतिशत नागरिक बिमाको पहुँचका पुगेका छन् । शत प्रतिशत नागरिकलाई बिमाको पहुँचमा पुराउन तातोपानी,हिमा लगायतका गाउँपालिकाले विपन्न निशुल्क बिमा गर्न नीति ल्याएका छन् । अझै २३ प्रतिशत नागरिक बिमाको पहुँचभन्दा बाहिर रहेका छन् ।
स्वास्थ्य बिमा बोर्ड कार्यालय जुम्लाको तथ्यांकअनुसार जुम्लामा हालसम्म ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँचमा पुगेका छन् । २०७८ को जनगणना अनुसार जुम्लामा २० हजार घरधुरी सहित १ लाख २० हजार जनसङ्ख्या रहेको छ ।
जसमध्य ८० हजार ४७३ जना बिमित हुँदा अझै ३९ हजार ५२७ जना नागरिक बिमाको पहुँच बाहिरै छन् ।
यदपी,बितेको आव ०७८÷७९ मा जुम्लाका ६७ हजार ७ सय ३७ नागरिक बिमित थिए । एकै वर्षमा झण्डै १३ हजार बिमितको संख्या बढेको देखिन्छ । यो तथ्यांकले पनि स्वास्थ्य बिमा प्रति नागरिकको आकर्षण बढ्दो छ ।
आठ स्थानीयतह रहेको जुम्लामा सबैभन्दा बढी चन्दननाथ नगरपालिकाका १९ हजार ५०२ जना र सबैभन्दा कम सिञ्जा गाउँपालिकाका ५ हजार ४०२ जना बिमित भएका छन् । त्यस्तै, तातोपानी गाउँपालिकाका ११ हजार ६१७,तिलाका ८ हजार ३ सय ६७,हिमाका ११ हजार ४९३, कनकासुन्दरीका ६ हजार ७१ जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् ।
त्यसै पातारासी गाउँपालिकाका ११ हजार १३८ जना र गुठिचौरका ६ हजार ८८३ जना गरि हालसम्म जम्मा ८० हजार ४७३ जना नागरिक बिमाको पहुँच पुगेको स्वास्थ्य बिमा कार्यालय जुम्लाका प्रमुख प्रेम भण्डारीले बताउनुभयो ।
जसमध्य जुम्लाका २० हजार घरधुरी मध्य १६ हजार ५१६ घरधुरी बिमित छन् । भने जेष्ठनारिक २ हजार ७४६ जना,अति गरिब ३ हजार ७३३,अति अपांग ६२ परिवार,टिभि लागेका २ परिवार र महिला स्वास्थ्य स्वयम् सेविका २१० जना स्वास्थ्यको पहुँचमा पुगेका हुन् ।
आर्कषण बढ्दो सेवामा सास्ती
विगतका केही वर्षमा बिमाबारे गाउँगाउँमा सचेतना फैलाउँदा पनि अपेक्षित नागरिक बिमाको पहुँचमा आउन्थे । तर पछिल्लो समय बिमाको फाईदा बुझेपछि बिमा प्रति आकर्षण बढेको स्वास्थ्य विमा बोर्ड जुम्लाका प्रमुख प्रेम भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“हाम्रो प्रथम सेवा विन्दु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हो । ठुलो स्वास्थ्य संस्था भएकै कारण पनि बिमाको पहुँच बढेको हो । शत प्रतिशत नागरिकलाई बिमाको पहुँच ल्याउने उदेश्य छ ।”
बिमा प्रति आकर्षण बढ्नु सुखद पक्ष भएपनि सेवामा सुधार ल्याउन जरुरी रहेको नागरिकको गुनासो छ । तिला गाउँपालिका ६ का जगत रोकाया भन्छन्,“बिमाको उपचारमा ढिलासुस्ति छ । बिमाबाट भनेजति ओैषधी पाउदैनौ । तर पैसा हालेर किन्दा पाउँछौ । यस्ता विषयमा धेरै पटक गुनासो नआएको पनि हैन् । तर सुनुवाई नहुँदा बिमाको सेवा अस्तब्यस्त छ । यसलाई सुधार गर्न जरुरी छ ।”
तातोपानीकी बेलु चनारा भन्छन,“बिमाको लाईनमा सयौको भिड हुन्छ,पैसा तिर्ने लाईन सकिन्छ । तर नाम दर्ता गर्ने कर्मचारीले बिमितको सहजै नाम दर्ता गर्न मान्दैनन् । बिमा अन्तरर्गतको ओैषधि प्राय हुन्न । महत्वपुर्ण ओैषधि किन्नै पर्छ । आजभोली सामान्य रिपोर्ट ल्याउन एकदिन बास बस्नु पर्ने रहेछ । सेवामा सुधार गर्न जरुरी छ ।”
स्वास्थ्य विमाको सेवाबारे धेरै पटक गुनासो आउने गरेकोले सुधारमा कर्णाली प्रतिष्ठानले ध्यान दिन जरुरी रहेको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताउनुभयो । उहाँका अनुसार बिमितको संख्या थपिएसंगै सेवामा प्रभावकारीता थपिन पनि जरुरी छ ।