भारतको गौरीकुण्डमा पहिरो, एकैपरिवारका ७ जनासहित १३ बेपत्ता (अपडेट सहित)

जुम्ला ः भारतको केदारनाथ गौरीकुण्डमा गएराति पहिरोमा परेर पारातारासी गाउँपालिका – ३ चौरगाउँका एकै परिवारका ७ जनासहित १३ जना बेपत्ता भएका छन् । पहिरोमा परेर धेरै जना बेपत्ता भएको खबर भएपनि यो समाचार तयार हुन्जेलसम्म १३ जनाको मात्रै नाम ठेगना खुलेको छ ।
पातारासी गाउँपालिका – ३ चौरगाउँका २७ वर्षीय अम्रीत बोहरा, उनीकी श्रीमति २९ वर्षीया अनिता बोहरा, जेठी छोरी ११ सलिबा बोहरा, साहिली छोरी ९ वर्षीया पिंकी बोहरा, ७ वर्षीया एलिसा बोहरा, ४ वर्षीय छोरो जटिल बोहरा र डेढ वर्षको वकिल बोहरासहित एकै घरका ७ जना पहिरोमा परेर बेपत्ता भएका छन् ।
सोही गाउँका ४३ वर्षीय सुकराम रावत र उनका छोरा जोर रावत, ४४ वर्षीय बम बोहरा पनि पहिरोमा बेपत्ता भएका छन् । सोही गाउँपालिका – २ पेरेगाउँका धनराज बुढा र चन्द्र कामी र उनका छोरा लालबहादुर कामी पनि पहिरोमा बेपत्ता भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन् । उनले भनिन् हाम्रो पालिकालाई ठूलो क्षति भएको छ । यहाँका धेरैजसो नागरिक रोजगारीका सिलसिलामा भारत (इन्डिया) छन् । धेरै जना बेपत्ता भएको खबर प्राप्त भएको छ । तथ्यांक एकिन भएको छैन । बुझ्ने काम भईरहेको छ । यहाँका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेमार्फत गृहमन्त्रालय हुदै राजदुताससम्म उद्दारका लागि पहल गरेका छौँ ।
प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार हामीलाई खासै जानकारी छैन । यो कुरा गृह मन्त्रालय र परराष्ट मन्त्रालयमार्फत हुने हो । हामीले जनकारी गराएका छौं ।
यस्तै भारतीय सञ्चार माध्यमका अनुसार हुम्ला खार्पुनाथ गाउँपालिका–३ राया गाउँका बीरबहादुर उनका छोरा हरिबहादुर, उनकी श्रीमति सुमित्रा, छोरी निशाको मृत्यु भएको जनाएका छ । उनीहरुले त्यहाँ होटेल व्यवसाय गर्ने गरेको उल्लेख गरिएको छ ।
भारतीय सञ्चार माध्यमहरुले राया गाउँ हुम्ला जिल्ला कर्णाली अञ्चल ठेगाना लेखिएको कर्णालीको ती व्यक्ति आफूहरुले नचिने पहिले नै भारत गएको हुनसक्ने र जात पनि उल्लेख नगरिएका कारणले पहिचान गर्न समस्या भएको खार्पुनाथ गाउँपालिका–३ रायाँका वडाध्यक्ष गुलाम रावलले बताए ।

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस