जुम्ला ः लम्पी स्किन रोगले जतजतै पशुचौपाया मरेर वातावरण नै प्रदुषित बनेको छ । पाटन जस्तो स्वच्छ हावापानी पाइने ठाउँमा पनि दुर्गन्ध फैलिएको बेला चन्दननाथ नगरपालिकाले भने मरेका पशुचौपायाको व्यवस्थापन गर्न थालेको छ ।
चन्दननाथका १० वटै वडाध्यक्षको अगुवाईमा जनशक्ति प्रयोग गरेर मरेका पशुचौपाया खाडलमा गाडेर व्यवस्थापन गर्न थालेको हो । ६ नम्बर वडाध्यक्ष रविबहादुर थापाका अनुसार मरेका पशुचौपायाको खासगरी पशुचौपायाका रितीले (मालिक) मरेपछि गाडेर व्यवस्थापन गर्नुपर्ने हो । तर त्यसो गर्ने गरिएको छैन । मरेका पशुचौपाया जथाभावी खोलानालामा फाल्न थालेपछि दुर्गन्ध रोक्नका लागि यो अभियान थालिएको हो । महामारीका रुपमा फैलिएको लम्पी स्क्रिन रोगले धेरै पशुचौपाया मर्न थाले ।
उनले भने शनिवार मात्रै ६ नम्बर वडा भित्रका १८ वटा मरेका पशुचौपाया गाडेर व्यवस्थापन गरेका छौँ । बीमा गरेका पशु भने पशुपालक आफैले व्यवस्थापन गर्दै आएको देखिन्छ । अरु पशुबस्तु भने मरेपछि जथाभावी फारिएको छ । पशुपालक आफैले आफ्ना पशुचौपाया मरेपछि आफै व्यवस्थापन गर्नुपर्ने हो । यस विषयमा पनि पशुपालकलाई सुझाएका छौँ ।
चन्दननाथ नगरपालिका – ३ धमी, चेरेचौरतिर मरेका ६० वटा पशुचौपाया खाडलमा गाडेर व्यवस्थापन गरिएको पशु शाखा प्रमुख वीरबहादुर रावलले बताए । उनले भने वडास्तरमा वडाध्यक्षको अगुवाईमा यो काम भईरहेको छ ।
चन्दननाथ नगरपालिकामा ५ हजार ६ सय पशुचौपाया रहेको तथ्यांक छ । यस मध्ये ८ सय बढी पशुचौपाया लम्पी स्क्रिन रोगले मरेको शाखा प्रमुख रावलले बताए । उनले भने २ हजार ५ सय बढी पशुचौपायालाई उपचार गरेका छौँ । यो नगरपालिका भित्रका ९० प्रतिशत पशुचौपाया लम्पी स्क्रिन रोगबाट संक्रमित छन् ।
चन्दननाथमा लम्पी स्क्रिन रोगले मरेका पशुचौपाया व्यवस्थापन गरिदै
प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस