जुम्ला । भारत उत्तराखण्डकाे केदारनाथकाे फेद गाैरीकुण्ड पहिराेमा बेपत्ता भएकाहरुकाे सास वा लास दुबै भेटिने आशा मरेपछि जुम्ला पातारासीका आफन्तले अन्तिम संस्कार गरेका छन् ।
गाैरीकुण्ड हाेटलमा बसिरहेकै अबस्था पहिराे आउदा जुम्ला पातारासी गाउँपालिका वडा नं.१ र २ एकै परिवारका सात जना सहित ११ जना बेपत्ता रहेका छन् । गत शुक्रबार राती गाैरीकुण्डमा पहिराे गएकाे थियाे ।
पहिराेमा परी जुम्ला पातारासी गाउँपालिका वडा नं.३ चाैरगाउँका एकै परिवारका सात जना सहित ११ जना हाल सम्म बेपत्ता छन् ।
सास वा लास दुबै भेटिने आसै मरेपछि पहिराेमा बेपत्ता भएकाहरुकाे ११ जनाकै आफन्तले अन्तिम संस्कार गरेकाे पातारासी वडा नं.३ का वडाध्यक्ष गाेविन्द रावतले बताए ।
उनले भने,”घटना भएकाे तीन दिन बितिसक्याे । सास भेटिने त कुरै छैन । लास भेटिने पनि पत्ताे छैन् । लास वास सास दुबै भेटिने आशा मरेपछि बेपत्ता भएकाहरुकाे आफन्तले अन्तिम संस्कार गरेका छन् ।”
पहिरोमा परी जुम्ला पातारासी- ३ चौरगाउँका एकै परिवारका सातसहित नौं जना र पातारासी- २ का दुई तथा हुम्लाका ३ सहित १३ जना बेपत्ता भएका थिए।
हालसम्म बेपत्ता हुनेमा पातारासी– ३ चौरका २८ वर्षीय अमर बोहोरा, उनकी पत्नी २६ वर्षीया अनिता, १४ वर्षीया छोरी राधिका, ८ वर्षीया छोरी पिंकी, ७ वर्षीय छोरा पृथ्वी, ६ वर्षीय छोरा जटिल र ३ वर्षीय छोरा वकिल रहेकाे पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया राेकायाले जानकारी दिइन्।
उनकाअनुसार बेपत्ता हुनेमा सोही गाउँपालिका वडा नम्बर २ पेरेका २२ वर्षीय चन्द्र नेपाली र ५५ वर्षीय सुखराम रावत छन्। हुम्लाका वीरबहादुर, उनकी पत्नी सुमित्रा र छोरी निशा पनि बेपत्ता भएको बताइएको छ।
गाउँमा राेजगारी नहुँदा जुम्ला सहित कर्णालीका झण्डै २० हजार नागरिक केदारनाथमा रहेकाे बुझिएकाे छ ।