जुम्लामा खाद्यन्न अभाव भएपछि नियमित वितरण हुदैँ आएको खाद्यन्न केहि समयका लागि स्थगीत गरिएको छ । गत आवको स्वीकृत कोटा भन्दा थप माग गरिएको खाद्यन्न समेत सकिएपछि जुम्लामा खाद्यन्न अभाव भएको हो । कारागार,जन्ममृत्यु, र भैपरी आउने विपद्का लागि बाहेक नियमित वितरण हुदँै आएको चामल सकिएको छ ।
सोमबार विहान जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी जुम्लाद्धारा आयोजित छलफलबाट साउन मसान्तसम्म जिल्लामा पुग्नेगरी २ हजार क्वीईन्टल चामल माग गर्ने निर्णय गरिएको छ । उक्त माग गरिएको २ हजार क्वीईन्टल नआउन्जेल तथा चालु आवको खाद्यन्न कोटा ढुवानी नहुँदा सम्म जुम्लामा नियमित वितरण स्थगीत गर्ने निर्णय भएको खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी जुम्लाका प्रमुख निर्मल विष्टले बताए ।
उनले भने,“कारागार,जन्ममृत्यु र विपदको लागि बाहेक नियमित वितरण हुने खाद्यन्न अभाव भएकै छ । हाल कारागारका लागि २ सय ८० क्वीईन्टल,जन्ममृत्युका लागि १ सय ८० क्वीईन्टल र भैपरी आउने विपद्का लागि ५ सय क्वीईन्टल गरी ९ सय ६० क्वीईन्टल चामल मात्रै मौज्दात छ ।”
जिल्लामा नियमित वितरण हुने खाद्यन्न अभाव भएपछि सोमबार सर्वपक्षिय छलफल गरी साउन मसान्तसम्म आईपुग्ने गरी प्रदेश कार्यालय मार्फत केन्द्रमा २ हजार क्वीईन्टल चामल माग गर्ने निर्णय भएको प्रमुख विष्टले कर्णाली मिसनलाई जानकारी दिए ।
चालु आव २०८०÷८१ का लागि जुम्ला शाखा सहित जिल्लाका अन्य डिपोका लागि ९ हजार क्वीईटल वार्षिक कोटा स्वीकृत भएको छ । जसमध्य सदरमुकाम शाखाका लागि ५ हजार ५ सय क्वीईन्टल स्वीकृत भएको छ । जसमध्य मध्य सर्मी र काईगाउँका लागि १५ सय क्वीईन्टल जुम्लाबाट पठाउनु पर्ने छ ।
भने,जुम्लाकोट डिपोका लागि १ हजार क्वीईन्टल,धाँपा डिपोका लागि १ हजार,पातारासीको लुमका लागि ५ सय,पातरसाँघुका लागि ५ सय र बाजागाड वितरण केन्द्रका लागि ५ सय क्वीईन्टल गरी चालु आवका लागि जुम्लाभर ९ हजार क्वीईन्टल खाद्यन्न कोटा स्वीकृत भएको खाद्य तथा व्यापार कम्पन्नी जुम्लाका प्रमुख निर्मल विष्टले जानकारी दिए ।
चालुको स्वीकृत कोटाको खाद्यन्न ढुवानी हुन समय लाग्ने र तत्काल माग गरिएको खाद्यन्न छिटै पुगे वितरण सुरु गरिने उल्लेख गरे । जुम्ला खाद्यन्न पुर्तिका लागि सबै सरोकारवालाले सकरात्मक भुमिका खेल्न समेत जरुरी रहेको उनको भनाई छ ।
गत आव २०७९÷८० का लागि जुम्लामा वार्षिक ६ हजार क्वीईन्ट स्वीकृत कोटा रहेकोमा अन्तिम सम्म थप ४ हजार क्वीईन्टल माग गरी वर्षमा १० हजार क्वीईन्टल खपत भएको छ ।
प्रमुख विष्ट भन्छन,“सरकारी अनुदानको चामलको माग अत्यधिक छ । यो सुखद पक्ष हो । स्थानीयले लिएको सबै उपभोग गरे त ठिकै हो । तर लिएर घरमा मौज्दात गर्ने,भोटे समुदायले घरेलु मदिरा बनाउँछन् भन्ने पनि हल्ला छ । सहि सदुपयोग नगर्ने तर खाने चामल छैन् भन्दै लाईनमा लाग्ने समस्या बढी छ ।”
यसका साथै केहि समयपछि जिल्लाका आठै पालिकाबाट खाद्यले रैथानेबाली खरिद गर्ने भएको छ । पालिकाहरु संग समन्वय गरी आबश्यक मात्रामा रैथानेबाली खरिद गर्ने तयारी छ । यसैबीच छिमेकी जिल्ला मुगुमा पनि खाद्यन्न अभाव भएपछि वितरण बन्द गरिएको छ । असार ३१ गते जुम्लामा नुन नपाएपछि डिपोनै तोडफोड गरिएको थियो । त्यसपश्चात तत्काल वडा वडाबाटै नुन वितरण गर्ने भनिएपनि सबै वडामा वितरण हुन सकेको छैन् ।
नुनको समस्या समधान नहुदैँ जुम्लामा खाद्यन्न अभावको समस्या उब्जीएको छ । व्यवस्था फेरिएपनि कर्णालीमा सधै नुन चालमकै पिरलो कहिले सम्म ? नागरिक अगुवा राज बहादुर महत भन्छन,“जुम्लामा कहिले नुन त कहिले चामल अभाव भईरहन्छ । राज्य कर्णाली प्रति सधै अनुदार छ । स्वीकृत कोटाको नियमित ढुवानी तथा हालै माग गरेको खाद्यन्न तत्काल ल्याउन पहल गर्न जरुरी छ ।”