अब सिंजाको रैथाने बाली खाद्यले खरिद गर्ने

जुम्ला ः जुम्लाको सिंजा गाउँपालिकामा उत्पादन हुने रैथाने बालीको बजारीकरण खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले गर्ने भएको छ । सिंजा गाउँपालिकासँग एक सम्झौता गरी रैथाने बालीको विक्रीवितरण बजारीकरण गर्ने भएको हो । उत्पादन हुने रैथाने बालीको संरक्षण, उत्पादन गरि कृषकलाई सहजै बजारीकरणमा सहयोग पुग्ने गरी कम्पनीको केन्द्रिय कार्यालयसंग सम्झौता भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।
गाउँपालिका अध्यक्ष धिताल र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद चन्दबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । गाउँपालिका अध्यक्ष धितालले भने, “रैथाने बाली खरिदका लागि गाउँपालिका र खाद्य कम्पनी बीच सम्झौता भएको हो । गाउँपालिकाले रैथाने बाली किसानबाट खरिद गरेर खाद्य कम्पनीलाई निर्धारित मुल्यमा उपलब्ध गराउनु पर्ने छ ।”


सिंजा गाउँपालिकासँग सम्झौता गरी सिंजामा उत्पादन हुने रैथाने बालीको प्रवद्र्धन र बजारीकरण गर्नका लागि खरिद गरिने खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड केन्द्रिय कार्यालयका प्रमुख कार्यकारी अधिकृत चन्दले बताए ।
सिंजासहित जुम्लामा मार्सी धानको चामल, सिमी फापर, चिनो, कागुनो मास, भटमास, गहद, जौँ गहुँ र कोदो लगायत स्थानीय बाली उत्पादन हुने गर्दछ । पालिकामा समुह सहकारीमार्फत संकलित भएको रैथाने बाली काठमाडौँमा पुग्ने गरी योजना तय गरिएको जनाएको छ ।
जुम्लासहित हिमाली जिल्लाको विभिन्न पालिकामा उत्पादन हुने रैथाने बाली खरिद गर्ने सम्झौता भएको छ । उत्पादन गरेको रैथाने बालीलाई बजारसम्म पु¥याउनका लागि खाद्य कम्पनीले सहजीकरण गर्ने भएको छ । कृषकलाई उचित मुल्य दिने र खरिद गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस