मानवअधिकार संरक्षण र प्रवर्धनमा जोड दिने छौँ ः अध्यक्ष चौलागाई

जुम्ला ः तातोपानी गाउँपालिकामा पाँचौ मानवअधिकार राष्ट्रिय कार्ययोजना कार्यन्वयन समिति मंगलबार गठन भएको छ । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईको संयोजकत्वमा कार्ययोजना कार्यन्वयन समिति गठन भएको हो ।
कार्ययोजना कार्यन्वयन समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष चौलागाईले कार्ययोजना कार्यन्वयनसँगै संरक्षण र प्रवर्धनमा जोड दिने प्रतिबद्धता जनाउनु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्यि मानवअधिकार आयोग शाखा जुम्लाको समन्वयमा साउन ३० गते पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा संयोजक चौलागाईले प्रतिबद्धता जनाएका छन् ।
सामाजिक न्यायका लागि आर्थिक सामाजिक तथा शैक्षिक दृष्टिले पछाडी परेका वर्ग समुदायका संरक्षण तथा सशक्तिकरण गर्ने लगायतका लक्ष्य उद्देश्य रहेका छन् । कार्ययोजना कार्यन्वयन समितिको ६÷६ महिनामा एक पटक तथा आबश्यकता अनुसार बैठक बस्ने र समितिमा प्रतिवेदन जिल्ला समन्वय समिति पेश गर्ने उनले बताए ।
यस अघि औपचारिक बैठक नबसेपनि मानव अधिकार संरक्षणका सवाल, सडक मानवको उद्दार लगायतका गतिविधिमा सक्रियता पुर्वक काम गर्दै आएको पालिका अध्यक्ष तथा मानवअधिकार सम्बन्धी पाँचौँ राष्ट्यि कार्ययेजना कार्यन्वयन समितिका संयोजक चौलागाईले बताए ।
उनले भने, “नेपाल सरकारकै पाँचौ कार्ययोजना भएपनि स्थानीय तहसम्म जानकारी आएन । स्थानीय तहमा मानव अधिकार संरक्षणका गतिविधि बढाइनेछ ।” मानव अधिकार संरक्षणका विषयहरु अपेक्षित रुपमा पेचिलो बन्न सकेका छैनन् । राज्यले समृद्ध नेपाल, खुसी नेपालीको राष्ट्रिय आकांक्षानुसार अझै नागरिक गासँ बास र कपासको पहुँचमा पुग्न नसकेकोले यस तर्फ सबैको ध्यान दिन जुरुरी छ ।
गएका दुई वर्षमा बाढीपहिरोले पूर्ण रुपमा तातोपानीमा ६५ वटा भत्केका छन् । उनले भने पूर्ण रुपमा भत्केका घर पुर्ननिर्माण गर्नका लागि पहल भएको छ । तर संघ र प्रदेशले बजेट विनियोजन नगरेका कारण समस्या भएको हो । आवश्यक सवै आगजात संघ र प्रदेशमा पठाएको छ ।
यस्तै पालिका भरीका सवै घरधुरीमा खानेपानी पुग्ने गरी धौलीगाड खानेपानीको बृहत आयोजना निर्माणाधिन अवस्थामा छ । यसले गर्दा यो पालिकाभित्र खानेपानीका लागि बजेट विनियोजन भएको उनले बताए । अहिले तत्काल केही मर्मत सम्भारका लागि मात्रै पालिकाबाट बजेट विनियोजन गरिएको छ ।
शिक्षा स्वास्थ्यलाई पनि प्रथामिकतामा राखेर काम गर्दै आएको अध्यक्ष चौलागाईले बताए । उनले भने शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि शिक्षक दरवन्दी जस्ता कुरालाई अघि बढाएका छौँ । पाठ्यपुस्तक पनि विद्यार्थीको हातमा समयै पु¥याउने काम भएको छ ।
संघीयता पछि तीनै तहका सरकार भौतिक विकासमा बढी केन्द्रित भएकोले गर्दा नीतिमै मानव अधिकारका सवालहरु प्रथामिकतामा नपरेको उनले बताए ।
नीतिगत निर्णयले मात्रै मानवअधिकार कार्यान्वयन तथा प्रत्याभूत नहुने भएकोले फिल्ड स्तरमा चुस्त काम गर्नुपर्नेमा उनले जोड दिए । सडक मानवको अन्त्य गर्न अधिकारकर्मीहरु जुट्नु पर्छ । पाँचौ मानव अधिकार राष्ट्यि कार्ययोजना भित्रका विभिन्न गतिविधि संचलान गर्न सबै संयन्त्र एकताबद्ध भएर काम गर्ने उनले उल्लेख गरे ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका निमित्त कार्यालय प्रमुख धनराज शाहीले राष्ट्यि मानव अधिकार प्रथम देखि पाँचौ कार्ययोजनाका लक्ष्य उद्देश्यमाथि प्रकाश पारे । दिगो विकासका १७ वटा लक्ष्य शिक्षा, स्वास्थ्य, रोजगार, पोषण, लगायत गाँस, बाँस र कपासको ग्यारेन्टी राज्यले गरी मानव अधिकारको प्रत्याभुति भएको हुनुपर्ने, समृद्ध नेपाल, खुसी नेपाली राष्ट्यि आकांक्षालाई पुरा गर्न मानव अधिकारका सवाल पनि पेचिलो हुनु पर्ने लगायतका विषयमा निमित्त प्रमुख जानकारी दिए ।
प्रथमदेखि पाँचौ कार्ययोजना भएका विभिन्न गतिविधिको जानकारी दिदैँ आयोगका निमित्त प्रमुख शाहीले ०६१÷६२ देखि प्रथम कार्ययोजना सुरु भई हाल पाँचौ कार्ययोजना ७७÷७८ देखि ८१÷८२ सम्म कार्यान्वयन अवस्थामा रहेको छ ।
पाँचौ कार्ययोजनामा मानव अधिकारको संरक्षण र सम्वर्धन गर्दै विधिको शासन कायम गर्ने, मानव अधिकार प्रत्याभूति गरी समृद्ध नेपाल, खुसी नेपालीको राष्ट्यि आकांक्षा साकार गर्ने, मानव अधिकारमैत्री संरचना तथा व्यवहारमा कार्यान्वयन भएको हुनुपर्ने उल्लेख छ ।
यस अन्तरक्रिया कार्यक्रमबाट तातोपानी पालिकामा पाँचौ मानव अधिकार राष्ट्यि कार्ययोजनाको कार्यन्वयन समिति गठन भएको र समितिले गरेको कार्यसम्पादन जिल्ला स्तरीय कार्ययोजना कार्यन्वयन समितिलाई प्रतिवेदन पेश गर्ने निर्णय भएको इन्सेक जुम्लाका प्रतिनिधि मानदत्त रावलले बताए ।
उनका अनुसार कार्यक्रममा तातोपानी गाउँपालिका कार्ययोजना कार्यन्वयन समितिमा उपप्रमुख रेवती रावल, निमित्त प्रमुख प्रशासकीय अधिकृत अंगराज डाँगी, वडाध्यक्षहरु पत्रकार लगायत सरोकारवाला निकायको लगायतले सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस