भेरीखोलाका जेष्ठनागरिकलाई भत्ता बुझ्न आउँदा निःशुल्क यातायात सेवा !

चालु आवमा ३ लाख विनियोजन,जेष्ठनागरिक खुसी

एकदिनको बाटो हिडेर,भत्ताको आधा पैसा खर्चेर भत्ता बुझ्न बाध्य ९२ वर्षीय शाही यस वर्षबाट भत्ता बुझ्दा जाँदा र आउँदा पालिकाले निःशुल्क गाडी चढाउने खबरले निकै उत्साहित छन् । “भेरीखोलामा तत्काल बैंक नभएपनि आउन जान निशुल्क गाडी भए राहत हुने भयो । हाम्मा पैसा बच्न्या भया ।”

त्यस्तै पालिकाकै दुर्गम क्षेत्र सर्मीबाट भत्ता बुझ्न पालिका धाउदै सास्ती खेपेकी ८९ वर्षीय तुलक्षी रावत पनि पालिकाले भत्ता बुझ्न जाँदा र आउँदा निःशुल्क गाडी चड्ने पाईने कुराले खुसी छन् । उनी भन्छन,“पहिला हातमै रुपियाँ दिन्छीया । अहिले बैंकमै स्वमय आफु जानु पड्ढो छ । घरदेखि बैंक पुग्न एकदिन लाग्दो छ । भाडा,खाजा खादै आधी पैसा खर्च हुन्छीयो । अब गाडीले हामीले लिन्या र ल्याईदिन्या भएपछि राहत हुन्या भयो ।”

भौगोलिक रुपले विकट जुम्लाका जेष्ठनागरिकलाई बैंक मार्फत भत्ता बुझन् मात्र कष्ट भएको छैन् । भत्ता बुझ्न पालिकाका केन्द्रमा रहेको बैंक जान र आउन गरी भत्ताको आधी पैसा खर्च हुने गरेको छ ।

पलिकाकेन्द्र देखि निकै टाढा रहेका भेरीखोला क्षेत्रका गोभधन र तुलक्षी जस्तै तातोपानी वडा नं. ७ र ८ का सयौ जेष्ठ नागरिकले भत्ता बुझन् पालिका केन्द्र धाउनु पर्ने कष्टले आजित भएका थिए । वडा नं.७ मा ७० वर्षमाथिका १०१ र ६० वर्ष माथिका १०२ जना जेष्ठनागरिक रहेको सामाजिक सुरक्षा शाखा प्रमुख गोर्कण पाण्डेले बताए ।

उनका अनुसार वडा नंंं. ८ मा ६० वर्षमाथिका ८८ र ७० वर्ष माथिका ९४ जना गरी भेरीखोला क्षेत्रमा ३ सय ८५ जना जेष्ठनागरिक छन् । पटक पटक हातमै भत्ता दिनु पर्ने माग राख्दै आएका थिए ।

निःशुल्क यातायात सेवा
पालिकाकै दुर्गम भेरीखोला क्षेत्रका जेष्ठनागरिकका गुनासालाई संबोधन गर्दै तातोपानी गाउँपालिकाले चालु आर्थिक वर्षमा भत्ता बुझ्न आउँदा र फर्किदा निःशुल्क यातायात सेवा संञ्चालन गर्ने कार्यक्रम ल्याएको छ ।

भेरीखोला क्षेत्रका ३ सय ८५ जनै जेष्ठनागरिकले अब भत्ता बुझन् आउँदा र घर फर्किदा पालिकाले निmशुल्क गाडी चढाउने तातोपानीका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए । उनले भने,“वर्षका तीन चौमासिकमा भेरीखोलाका सबै जेष्ठ नागरिकलाई गाडी रिर्जब गरी पालिका ल्याउने र घरमा पुराईदिने छौ । तत्काल भेरीखोलामा बैंक खोल्न सम्भव छैन् । तर निःशुल्क यातायात सेवाले राहत हुने आशा छ ।”

“हामीलाई पनि हातमै रुपैया दिन पाए हुन्थ्यो की भन्ने लाग्छ । तर संघियतापछि सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट मात्रै भुक्तानी गर्ने अनिवार्य नियम लगाइएको छ । जेष्ठ नागरिक,एकल महिला,बालबालिका,अपांग व्यक्ति लगायतका लाभग्राहिले सामाजिक सुरक्षाभत्ता बैंकिङ प्रणालीबाट मात्रै पाउँछन् । त्यसैले निःशुल्क यातायात सेवा सुचारु गर्न लागेका हौ ।”

चालु आर्थिक वर्षमा भेरीखोलाका जेष्ठनागरिकलाई भत्ता बुझ्न आउँदा र घर फर्किदा निःशुल्क यातायात सेवा सञ्चालनका लागि ३ लाख बजेट विनियोजन भएको अध्यक्ष चौलागाईले जानकारी दिए । हामीले निशुल्क यातायात सञ्चालन गर्नु भनेकै बैंकिङ प्रणालीलाई थप प्रभावकारी बनाउने र जेष्ठनागरिकलाई सहजै भत्ता उपलब्ध गराउने उदेश्य हो ।

आगामी दिनमा पनि भेरीखोला क्षेत्रको विकास र त्यहाका नागरिकको राहतका लागि पालिकाले विशेष प्रथामिकता दिने छ ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस