
जुम्ला ः बाढीपहिरोले पोल ढलेपछि जुम्लामा नेशनल ग्रिड अवरुद्ध भएको छ । भदौँ पहिलो साता बर्षासँगै आएको बाढीपहिरोले कालिकोटको तिलागुफा नगरपालिका टिपुरे भिर नजिक विजुलीको पोल ढलेपछि तीन देखि नेशनल ग्रिड अवरुद्ध भएको हो ।
विजुली तीन दिनदेखि आपूर्ति नहुदा जुम्ला अन्धकार बनेको छ । जसको प्रत्यक्ष असर विद्यार्थीदेखि कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालय र सर्वसाधारणलाई परेको छ ।
चन्दननाथ नगरपालिका– ७ की अतिना रावल बत्ती नहुँदा बेलुका पढ्न पाउँदिनन् । उनले भनिन् बत्ती नहुँदा गृहकार्य गर्न समस्या भएको छ ।
नियमित विद्युत् आपूर्ति नहुँदा विद्यार्थीजस्तै साना उद्योग–कलकारखाना, व्यापार–व्यवसाय गर्नेहरू पनि मारमा परेका छन् । चन्दननाथ नगरपालिका– ४ का मोबाइल मर्मत पसल सञ्चालक कमल नेपालीले नेसनल ग्रिड पुगेपछि भएको सोलार ऊर्जा बेचे । ‘नेसनल ग्रिड पुगेपछि सधैँ बिजुली आउँछ होला भन्ने भयो । तर, अहिले नियमित विद्युत् नआउँदा निकै समस्या खेप्नुपरेको छ,’ ।
०७८ साउन महिनामा जुम्ला नेसनल ग्रिडसँग जोडिएको हो । दैलेखदेखि कालीकोट र कालीकोटदेखि जुम्ला राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेको छ । राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिए पनि लाइन निकै लामो भएको हुनाले बेला बेला बिजुली आपूर्तिमा समस्या हुने गरेको छ ।

कर्णाली राजमार्ग हुँदै लामो दूरीको भिरालो भौगोलिक जमिनमा राष्ट्रिय विद्युत् प्रसारण लाइन जोडिएकाले नियमित बिजुली आपूर्तिमा चुनौती देखिएको हो । कर्णाली राजमार्गमा विभिन्न खण्ड र यो राजमार्गसँग जोडेर विभिन्न सहायक सडक निर्माण गरिँदा जथाभावी डोजर प्रयोग हुँदै आएको छ । डोजर प्रयोग हुँदा बिजुलीका पोल ढल्ने र तार चुँडिँदा नियमित बिजुली आपूर्तिमा समस्या आउने गरेको हो ।
कालिकोटको टिमुरेमा विजुलीको पोल ढल्नुका साथै तार चुडिएको हुदा विद्युत अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश रावलले बताए । उनले भने मर्मतका लागि टोली परिचालन भएको छ । बर्षादसँग बाढीपहिरो आएकोले मर्मत कार्यमा ढिलाई भई रहेको छ ।
लामो दूरीको लाइन हुँदा हावाहुरी, वर्षा र हिमपातले पनि नियमित बिजुली आपूर्तिमा समस्या हुने गरेको । ‘लामो दूरीको लाइन भएका कारण बिग्रेको खण्डमा मर्मत गर्न पनि समय लाग्छ । विद्युतमा केही समस्या आएपछि तुरुन्तै मर्मतका लागि टोली परिचालन गरेका हुन्छौँ । तर, भौगोलिक बनावट पनि अप्ठ्यारो छ,’ उनले भने, ‘अहिले जुम्लासम्म पुगेको ११ केभिए लाइन हो । यो निकै कम क्षमताको विद्युत् हो । सहरीकरण बढ्दै गरेपछि बिजुली लोड पनि बढ्दै गएको छ । लोड धान्न नसकेर विद्युत् फल्ट हुने गरेको छ ।’ नेसनल ग्रिड कम क्षमताको हुनु र यहाँ स्थानीय स्तरमा पनि विद्युत् उत्पादन नहुनुले नियमित विद्युत् आपूर्तिको समस्या झेल्नुपरेको उनको भनाइ छ ।