राष्ट्रियता र स्वाधिनताको पक्षमा जनयुद्ध जसरी लडेको छु : प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रियता र स्वाधिनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताउनुभएको छ । आज (मङ्गलबार) बुटबलमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

अहिले कसैबाट हुन्न र केही हुन्न भन्दै निराशा बाँड्न खोजिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले निराशा बाँडेर सामन्तवाद ब्यूँताउन खाजिएको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘नेपालको राष्ट्रिय हित, स्वाधिनता र सार्वभौमसत्ताको रक्षाको निम्ति जनयुद्ध जसरी म अहिले पनि लडिरहेको छु । लडाईंको रुप फेरिएको छ तर लडाइँ जारी छ । त्यसमा विश्वस्त रहन सबैमा म अपील गर्न चाहन्छु ।’’

प्रधानमन्त्रीले आफूहरु जटिल परिस्थितिमा पनि देशको राष्ट्रिय हित, सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारको सुनिश्चित कसरी गर्ने भन्नेमा लागेको बताउनुभयो । धेरै अप्ठ्याराहरुको सामना गरिरहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले सबैभन्दा ठूलो राष्ट्र, जनता, समाजवाद, सुशासन, सामाजिक न्याय र समृद्धि भएको बताउनुभयो । उहाँले अहिले पनि पूँजीपतिहरुले वर्तमान गणतन्त्रलाई फाँसीवादी, दलालहरुको गणतन्त्र वा गणतन्त्र नै उल्ट्एर सामन्ती तत्वहरुसँग सम्झौता गर्न चाहिरहेको बताउनुभयो ।

उहाँले आफूहरु भने जनगणतन्त्रबाट माथि उठाएर समाजवादी गणतन्त्रमा रुपान्तरित गर्न चाहेको बताउनुभयो । दुई पक्षबीचको लडाइँ यही भएको बताउनुहुँदै उहाँले यसमा आफूहरुले विशाल शक्ति सञ्चय गर्नुपर्ने भनाइ छ  ।

प्रधानमन्त्री प्रचण्डले त्यसका लागि मित्रहरुका साथै मोर्चामा इमान्दारपूर्वक लाग्नुपर्ने बताउनुभयो । अहिले मोर्चा घोषणाले मात्र नपुग्ने बरु प्रतिक्रियावादी अझै षड्यन्त्र गरेर जान्छन् भने यिनै नेताहरु लाखौं जनताको सडकमा नेतृत्व गरेर ती सबै शक्तिहरुलाई परास्त गर्न सक्ने उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीले जनतालाई समाजवादको प्रशिक्षण दिनुहुँदै आन्दोलित गराउनुपर्ने बताउनुभयो । त्यसको लागि उहाँले नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

स्रोत ः गोरखापत्र अनलाइन

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस