जुम्ला ः साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाको अध्यक्षमा सामाजिक अभियान्ता लक्ष्मी भट्टराई चयन भएकी छन् । कर्णाली प्रदेश राजधानी सुर्खेतमा सम्पन्न पेस १७ औँ बार्षिक चुनावी साधारण सभाले अभियान्ता भट्टराईको अध्यक्षमा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा कृष्णराज धमाला, सचिवमा मानदत्त रावल, कोषाध्यक्षमा धनराज शाही चयन भएका छन् ।
सदस्यमा प्रियंका श्रेष्ठ, डा. माया शर्मा र अंगलाल परियार निर्वाचित भएको पेस नेपालका कार्यकारी निर्देशक तथा निवर्तमान अध्यक्ष किशोर न्यौपानेले बताए । उनले भने पेस नेपाल १७ वर्षअघि जिल्ला प्रशासन कार्यालय जुम्लामा दर्ता भएर सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।
सम्पन्न साधारण सभाले अल्वड, डा. मुक्ति सुवेदी, डा. दिपक रिजाल, डा. राधा पौडाल र सुजन न्यौपानेलाई सल्लाहकारमा मनोनयन गरेको छ ।
पेस नेपालले ५० वटा परियोजना पाँच जिल्लामा सम्पन्न गरेको छ । जलवायु अनुकुलन, विपद जोखिम न्यूनिकरण, समावेशी स्वास्थ्य शिक्षा, खानेपानी, सरसरफाई, स्वच्छता परियोजनाहरु रहेका छन् । चालू आ.व.मा ४ करोड ६७ लाख ५४ हजार ७ सय ७० विश्व खाद्य कार्यक्रम, कारीतास जर्मनी, कारीतास नेपाल, प्लान इन्टरनेशलन नेपाल, एसएनभी नेपाललगायतका संस्थाहरुको साझेदारीमा जुम्ला, मुगु, कालीकोट र सुर्खेत जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
संस्थाले संघीय राजधानी काठमाडौं, कर्णाली र सुदुर प्रदेशका जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने निर्णय सभाले गरेको छ । सम्पन्न साधारण सभाले बिभिन्न समिति तथा भावी रणनीतिका बारेमा पनि छलफल गरेको छ ।