अब जुम्ला पनि मृगौला डायलासिस सेवा

पश्चिम नेपालकै ठुलो (तीय सय शैया) अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पनि अब डायलासिस सेवा सुचारु भएको छ ।
कर्णाली प्रदेशसहित सुदुरपश्चिम प्रदेशमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको प्रतिष्ठानमा महत्वपूर्ण स्वास्थ्य सेवा डायलासिस सुरु भएको हो । मृगौला रोगीलाई केन्द्रित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले विहिबार औपचारिक रुपमा उद्घाटन गरेपछि डायलासिस सेवा सुरु गरिएको हो ।
पछिल्लो समय अस्वस्थ खानपानले मृगौला रोगी बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले बताए । उनले भने नागरिकले खानपानमा पनि ध्यान दिने पर्ने बेला भएको छ । अब यो क्षेत्रका मृगौला रोगी विरामीले डायलासिस सेवा पाउने भएका छन् । जसका कारणले यहाँका नागरिकलाई सहज हुने भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई थप उचाईमा पु¥याउन नयाँ अत्याधुनिक सेवा थप गर्दै गरेको उपकुलपति डा मंगल रावलले बताए । उनले भने डायलासिस सेवा सुचारु गरेका छौँ । यसपछि आँखा उपचार सेवा पनि विस्तार गर्ने तयारी गरिएको छ । माथिल्लो कर्णालीमा स्वास्थ्य उपचार बृद्धि गर्नु भनेकै यहाँका नागरिकको आयूबृद्धि गर्नु हो ।
प्रतिष्ठानका अस्पताल निर्देशक डा. पुजन रोकायाका अनुसार डायलासिसको मेसिन जडान गरेर औपचारिक रुपमा सेवा सुचारु भएको छ । उनले भने ’जब मिर्गौला रोगीहरुको मिर्गौलाले काम गर्दैन । शरीरका फोहोर चिजहरु फालिरहेको हुँदैन । उति नै बेला मिर्गौलाले गर्ने काम मेसिनले गरिरहेको हुन्छ । त्यही सेवा दिने हेतुले सुरु भएको डायलासिस सेवाले कर्णालीका मिर्गौला रोगीहरुको लागि निकै राहत प्रदान गर्ने अपेक्षा गरिएको छ ।


डायलासिस सेवा लिनको लागि मिर्गौला रोगीहरुलाई आह्वान समेत गरेका छन् । ’मिर्गौलाका बिरामीहरु आउनुहोस् । हामी सेवा दिन तयार भइसकेका छौं,’ उनले भने,
डायलासिस सेवा प्रदान गर्न विशिष्टकृत सेवा पढेको जनशक्ति छैन । तर कर्णाली प्रतिष्ठानको जनशक्तिको भरपुर प्रयोग गरेर सेवा दिइनेछ । जसका लागि एक नर्सिङ अफिसर र दुई जना स्टाफ नर्सलाई तालिम दिइएर खटाइएको छ । उनीहरुले चिकित्सकहरुको निगरानीमा सेवा दिनेछन् ।
यो सेवा अस्पतालले निःशुल्क रुपमा प्रदान गर्ने भएपनि आउजाउ गर्न र डेरा लिएर बस्नुपर्दा मिर्गौलाका रोगीहरु निकै महँगोमा सेवा लिइरहन बाध्य थिए । ’यसअघि सुर्खेत, नेपालगञ्ज र काठमाडौंका सुविधा सम्पन्न अस्पतालसम्म पुगेर मिर्गौला रोगीहरुले डायलासिस सेवा लिइरहेका थिए । उनीहरुले अब घरपायक सेवा पाउने भए । यो खुसीको कुरा हो,’ निर्देशक रोकायाले भने ।
सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ वटा डायलासिस मेसिन दिइएको छ । जसमध्ये दुई मेसिन मात्र प्रयोगमा ल्याइएको छ । बिरामीको चाप अनुसार मेसिनहरु जडान गरेर सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ ।


हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सिटी स्क्यान, एक्सरे, डायलासिस, हाडजोर्नी, नसारोग, बालरोग, स्त्रीरोग, नाक, कान, घाँटी र छाला रोग सम्बन्धीको सेवा दिइरहेको छ ।
माथिल्लो कर्णालीको जुम्लामा डायलासिस सेवाले मृगौला रोगीले अब काठमाडौँ, सुर्खेत र नेपालगज्ज धाउनु पर्ने अन्त्य भएको प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले बताए ।

प्रकाशित मिति : २०८० भाद्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस