विद्यार्थीलाई पढ्नेभन्दा विद्यालय भत्किने चिन्ता !

जुम्ला ः सिंजा गाउँपालिका–६ जोडुस्थित श्रीमाध्यामिक विद्यालय लामो समयदेखि बाढीपहिरोबाट प्रभावित छ। जोडु र भाडगाउँको बीचमा पर्ने विद्यालय जोखिमपूर्ण अवस्थामा छ ।
बाढीपहिरोले विद्यालयका सवै संरचना भत्केका छन् । त्यही भत्केकै विद्यालयमा घाम लागेको दिनमा विद्यार्थी पठनपाठन गर्छन्। जब पानी पर्न थाल्छ विद्यार्थी डराउँदै घरतिर लाग्छन् ।
बर्षादको समयमा पढाइ नियमित नहुँदा कोर्ष पूरा गर्न निकै समस्या भएकोले घाम लागेको दिनमा अतिरिक्त कक्षासमेत सञ्चालन हुने गरेको छ। कक्षा ९ मा अध्ययनरत सक्क्षेस बुढाले पढाइभन्दा पनि स्कुल भत्किँने डर भएको बताए ।
उनले भने ‘हामीलाई पढ्नेभन्दा पनि विद्यालय कतिबेला भत्किने हो भन्ने डरले सताउने गरेको छ । कक्षा कोठाका पर्खाल चर्किएका छन् । डरैडरमा पढ्ने गरेका छौँ ।’


हरेक बर्षामा आउने बाढीपहिरोले विद्यालयका भौतिक संरचना बगाएर लैजाने गरेको प्रध्यानाध्यापक नरबहादुर बुढाले बताए ।
उनले भने, ‘हरेक वर्ष आउने बाढीपहिरोले दुःख दिन थालेपछि विद्यालय दातस्थित वडा कार्यालय नजिक विद्यालय सार्न तयारी गरेका छौँ । गतवर्ष असोज १९ देखि २३ गतेसम्म लगातार वर्षासँगै आएको बाढीपहिरोले विद्यालय झनै क्षतविक्षत भएको छ ।’
गतवर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुई कोठे भवन निर्माण भएको छ । यो वर्ष साझेदारी सहयोग केन्द्र (पेस नेपाल) र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित आधार परियोजनाअन्र्तगत चार कोठे भवन, तीन कोठे शौचालय र ६ वटा धारा भएको हातधुने स्थान निर्माण गर्न थालिएको छ ।
नयाँ विद्यालय सार्न थालिएको स्थानमा भवन बन्दै छ । तर विद्यालयको पठनपाठन भने पुरानै जोखिमयुक्त भवनमा हुँदै आएको प्रध्यानाध्यापक बुढाले बताए ।
उनले भने, ‘नयाँ स्कूल सारिएको ठाउँमा भवन निर्माण भएपछि अर्काे शैक्षिकसत्र बैशाखदेखि विद्यालय सार्ने तयारी गरेका छौँ । अहिले पनि पुरानो विद्यालय भएको ठाउँमा ४ कोठे एउटा ब्लक मात्रै बाँकी छ । जेनतेन त्यही भवनमा विद्यार्थीको पठनपाठन गरेका छौँ । निकै समस्याका बाबजुत विद्यार्थीको पठनपाठन भइरहेको छ ।’
स्कूल सार्ने भनिएको ठाउँमा पनि गतवर्ष निर्माण भएको दुई कोठे भवन र अहिले निर्माण हुन थालेको चार कोठे भवन गरी ६ कोठे दुई वटा भवन छन् । प्रधानाध्यापक बुढाका अनुसार अझै ८ कोठे भवन अपुग हुन्छ । यस विषयमा गाउँपालिकामा पनि ध्यानाकर्षण गरेका छौँ । अपुग भवन पनि निर्माण हुने अपेक्षा गरिएको छ । अहिले विद्यालयमा २९८ विद्यार्थी अध्ययनरत छन् ।
सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार संघ, प्रदेश, स्थानीय सरकार तथा गैरसरकारी संस्थाको समन्वय सहकार्य गरी अपुग भौतिक संरचना निर्माण गरी विद्यार्थीको पठनीय वातावरण सहज बनाउने प्रयास भइरहेको छ ।
यस्तै भौतिक संरचना अभाव भएका सामुदायिक विद्यालयमा भवन निर्माण गर्न थालिएको पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताए । उनले भने सिंजा भेगका तीन गाउँपालिका सामुदायिक स्कूल भवन निर्माण गर्न थालिएको हो ।


हिमा गाउँपालिका–३ जोगीवाडास्थित भैरव आधारभूत विद्यालयमा ४ कोठे भवन एक व्लक, ३ कोठे शौचालय र ६ वटा धारा निर्माण गर्न थालिएको पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपाने बताए ।
उनले भने, ‘हिमा गाउँपालिका–४ माथिल्ला कुडुस्थित महादेव आधारभुत विद्यालयमा ४ कोठे भवन, शौचालय र हात धुने स्थान निर्माण गर्ने योजना छ ।’

कनकासुन्दरी गाउँपालिका–४ लेकपोरस्थित भैलेपाटा आधारभस्त विद्यालयमा २ कोठे दुई वटा ब्लक विद्यालय भवन निर्माण गर्न थालिएको हो । यस्तै कनकासुन्दरी गाउँपालिका–६ गोरुचौरस्थित श्रीआधारभूत विद्यालयमा चार कोठे भवन, तीन कोठे शौचालय र ६ वटा धारा भएको हातधुने स्थानसहित निर्माणधीन अवस्थामा छ ।

प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस