जुम्ला ः सिंजाको नराकोटस्थित इलाका प्रशासन कार्यालयबाट नागरिकता नपाएको गुनासो गरेका छन् । सिंजा क्षेत्रका तीन वटा गाउँपालिका हिमा, सिंजा र कनकासुन्दरीका नागरिकले इलाका प्रशासन नराकोटबाट नागरिकता नपाएको गुनासो गरेका हुन् ।
कामु शाखा अधिकृत नायव सुव्बा सुरत गिरीको सरुवा भएपछि इलाका प्रशासन नराकोट कर्मचारीविहीन भएको हो । इलाका प्रशासनमा कर्मचारीविहीन भएपछि सेवाग्राहीले नागरिकता पाउन सकेका छैनन् ।
स्थानीय दलविर रोकायाका अनुसार वर्षा यामको समयमा भौगोलिक बिकटता र कठिनाइका साथ सेवा लिन आएका सेवाग्राही सेवा पाउने गरेका छैनन् । उनले भने कर्मचारीविहीन इलाका प्रशासनबाट सेवाग्राहीले नागरिकता पाउने गरेका छैनन् । एक सात देखि सेवाग्राही इलाका प्रशासनमा आएर सेवा नपाएरै फर्किेन गरेका छन् ।

कर्मचारी नभएरै सिंजा गाउँपालिका ३ नराकोटस्थित इलाका प्रशासन कार्यालयबाट सेवाग्राहीले नागरिकता नपाउनु दुखद् पक्ष हो । यस विषयमा आयोगको ध्यानाकर्षण भएको राष्ट्यि मानवअधिकार आयोग शाखा कार्यालय जुम्लाका प्रमुख धनराज शाहीले बताए । उनले भने सिंजा क्षेत्रका तीन गाउँपालिकाका नागरिकले इलाका प्रशासन नराकोटबाट नागरिकता प्राप्त गर्दै आएका थिए । एक सातादेखि इलाका प्रशासनबाट नागरिकता वितरण नभएको र जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्न जानकारी प्राप्त भएका छ ।
तत्कालन इलाका प्रशासनमा कर्मचारीको व्यवस्थापन गरी नागरिकता वितरण गर्न वातावरण सिर्जना गर्न जिल्ला प्रशासन कार्यालय, गृहमन्त्रालयलाई पत्रचार गर्ने प्रमुख शाहीले बताए ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार १० दिन अघि इलाका प्रशासनमा रहेका कामु शाखा अधिकृत नायव सुव्बा सुरत गिरीको सरुवा भएको हो । उनले भने गिरीलाई ६ महिनाका लागि इलाकामा खटाएको थियो । अहिले उहाँको सरुवा भएपछि इलाका प्रशासनमा कर्मचारीविहीन भएको हो । इलाका प्रशासनमा कर्मचारीविहिन भएपछि अहिले जिल्ला प्रशासन कार्यालयबाटै नागरिकता वितरणको कार्य भईरहेको छ ।
यस विषयमा गृहमन्त्रालयमा पनि पत्रचार गरिएको छ । इलाका प्रशासनमा कर्मचारी सरुवा भएर नआउन्जेलसम्म समस्या हुने देखिएको प्रजिअ घिमिरेले बताए ।
इलाका प्रशासन कार्यालय नरोकाटबाट सेवा लिने जनसंख्या हिमा गाउँपालिकामा १२ हजार १९१ जना, कनकासुन्दरीमा १३ हजार ६२५ जना र सिंजा गाउँपालिकामा १२ हजार ५५६ जना रहेका छन् ।



