जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा निर्माणधिन चुकेनी जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जिल्लालाई नै उज्यालो बनाउने उदेश्यले निर्माण सुरु भएको करिब १ मेघावाट (९९८) किलोवाट क्षामताको आयोजना निर्माणले अन्तिम रुप लिएको हो ।
जुम्लामा राष्ट्यि प्रशारण लाईनको बत्ती भरपर्दो नहुँदा स्थानीय जलविद्युत उत्पादनमा सरोकारवालाले जोड दिदै आएका छन् । जसअन्तरर्गत पातारासीमा बन्दै गरेको चुकेनी जलविद्युत आयोजना निर्माणमा सबैले चासो राखेका हुन् ।
आफ्नै स्थानीय जलविद्युत उत्पादनमा आत्मनिर्भर नभई जिल्लामा बत्ती अभावको समस्या हल नहुने जिल्ला समन्वय समितिको प्रमुख गौरीनन्द आर्चायको तर्क छ । उनी भन्छन,“चुकेनी जलविद्युत हाम्रो गौरबको आयोजना हो । यसलाई जुन नेताले सुरुवात गरेपनि आयोजना निर्माणलाई गती दिन सबै सचेत नागरिकले चासो राख्नु राम्रो हो । राष्ट्यि बत्ती भरपर्दो नभएको जुम्लामा स्थानीयबत्तीलाईनै प्रथामिकता दिनुको विकल्प छैन् ।”
चुकेनी जलविद्युत आयोजना आगामी दशैँ सम्म बिजुली उत्पादन हुने गरि आयोजनाको काम तिब्र गतीमा अघि बढीरहेको छ । यदपी २०७६ साल जेठ १० गते सम्झौता भई निर्माण सुरु भएको आयोजना करिब ३ वर्ष अलपत्र अबस्थामा रह्यो ।
सरोकारवालाको सक्रियाले पुन आयोजनाले गति लिँदा आउदो दशैमा बत्ती बाल्ने आशा जागेको छ । ०७६ साल जेठ १० मा सम्झौता भएको मितिले १८ महिनामा सम्पन्न गर्नु पर्ने भएपनि विभित कारणले हाल सम्म पछि धेकेलियो ।
चुकेनी जलविद्युत आयोजना निर्माणको ठेक्का फेवा कन्स्ट्रक्सन प्रा.लि. पोखराले लिएको थियो। उसले स्थानीय स्तरमा मेगाहाइड्रो एण्ड इन्जिनियरिङ मार्फत् काम गरिरहेको छ । तर पछिल्लो डेढ वर्षबाट आयोजनाले गति लिँदा आउदो दशैमा नै विजुली उत्पादन हुने गरि काम भईरहेको भण्डारी मेगा हाईड्रोका प्रबन्धक चन्द्र भण्डारी बताउँछन् ।
उनीभन्छन,“सुरुको दुई वर्ष कोभिडका कारण काम हुन सकेन् । जोखिमका बिच काम गर्ने चाहेपनि कामदार भेटिएनन् । यतिबेला जनशक्ति थपेर पनि काम गरिरहेका छौँ। क्यानल र पावर हवसको काम पूरा भइसकेको छ । दशैँसम्ममा सबै काम सकिएर बत्ति बल्छ । ढुक्क हुनुहोस् ।”
निर्माणपक्षले दशैसम्म बिजुली उत्पादन हुने दाबी गरेसंगै दशैमा जुम्ला झिलीमली हुने चियोचर्चा सुरु हुन थालेको छ । केही समय अघि सम्म आशा मारिसकेको आयोजनाले पछिल्लो समय गति लिएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताईन् । हामीले अब त छ महिनामा बत्ती बल्छ भनेका थियौ । केही दिन अघि आयोजनाको अनुगमन गर्न जाँदा प्रगती सन्तोषजनक देख्यौ ।
उनले भनिन,“अब भने आशा पलाएको छ । विगतमा कछुवा गतिमा भएको निर्माण कार्य यतिबेला भने दुर्त गतीमा भईरहेको छ । जुम्लामा बिजुलीको माग बढ्दो छ । ११ केभी प्रशारण लाईनको दुरी लामो झण्डै साढे तीन सय किलोमिटर हुँदा राष्ट्यि लाइन भरपर्दाे छैन् । चुहावट धेरै छ । बेलाबेला बत्ती जाने समस्या उस्तै छ । जनशक्ति खटिएपनि बत्ती नियमित हुनै मुस्किल छ । त्यसैले जुम्लाको माग र आबश्यकतालाई चुकेनी आयोजनाले पुर्ति गर्ने अपेक्षा छ ।” यदपी राष्ट्यि प्रशारण लाईनको बत्ती नियमित गर्न विधुत प्राधिकरण वितरण केन्द्र जुम्लाको टिम नियमित खटिरहेको छ ।
ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण १८ महिनामा सकिने आयोजना साढे तीन वर्षपछि बन्ने पक्का भएको छ । आयोजनाको कामलाई प्रभावकारी बनाउन स्थानीय २५ जनाको समितिनै बनाए पश्चात् कामले गति लिई बिजुली उत्पादन हुने स्थितिमा आएको स्थानीय रुपा बुढाले बताईन् ।
ठेकेदार कम्पनीका कारण काम ढिला हुँदा पातारासी गाउँपालिकाको लगानी खेर गएको पातारासीका अध्यक्ष पुर्णसिंह बोहोराले बताए । कुल ४३ करोडको आयोजनामा ३० करोड वैकल्पिक ऊर्जाको लगानी छ भने १३ करोड पालिका र स्थानीय जनताको लगानी रहेको छ । जनताले चुकेनीखोला सहकारी संस्थामार्फत् आफ्नो घर जग्गाको लालपुर्जा धरौटी राखेर ६ करोड बराबरको शेयर लगानी समेत गरेका छन् ।
‘बैंकको ब्याज तिर्नु परिरहेको छ । बत्ति दशैमा बाल्ने तयारी छ । पातरासीका अध्यक्ष बोहोराले भने,“ठेकेदार कम्पनीले गरेको ढिलासुस्तीको कारण हाम्रो लगानीबाट प्रतिफल आएन। बरु ऋणको ब्याज तिरिरहनु प¥यो । विद्युत आयोजनामा चुकेनीखोला सहकारी संस्थाले बैंकबाट ऋण लिएर लगानी गरेको छ। सहकारी संस्थाका २५ जनाको घर जग्गाको लालपुर्जा बैंकमा धरौटी राखिएको छ । ढिलै भएपनि बत्ती बल्ने आशा छ ।”
पातरासी गाउँपालिका वडा नम्बर ३ का अध्यक्षले ठेकेदारले ढिला गर्दा गाउँलेलाई नोक्सान भएको बताए । ’हामीले बैंकबाट ६ करोड लोन लिएका छौँ । उनले भने,“अझै पनि ठेकेदारले काम गर्नलाई विश्वासको वातावरण बनाउन सकेको छैन् । जनता आक्रोसित भएका छन् ।”
यसैबीच केहिदिन अघि कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले समेत आयोजनाको अनुगमन गरि चाडो काम सक्न निर्देशन दिएका छन् । जुम्लाको बिजुली अभावको समस्यालाई चुकेनी आयोजनाले समधान गर्ने उनको भनाई छ ।
जुम्ला सदरमुकामलाई मात्र एक मेघावाट बत्ति आबश्यक छ । राष्ट्यि बत्ती भरपर्दाे छैन् । त्यसैले स्थानीय उत्पादनमा सरोकारवालाले जोड दिएका छन् । प्रयाप्त बत्ती नभएकै कारण करोडौ लगानी कोल्डस्टोर प्रयोग मात्र भएको छैन् । जुम्लामा राम्रो लगानी उद्योग धन्दा समेत खुल्न सकेका छैनन् । भने भएका उद्योगहरु पनि संचालन हुन सकेका छैनन् ।
पातारासीमै डेढ दर्जन विद्युत आयोजना
जिल्लाका आठ स्थानीय तहमध्ये पातारासी गाउँपालिका विद्युतमा आत्मनिर्भर पालिका हो । स्थानीय सरकार सञ्चालनमा आएदेखि पातारासीमा नयाँ–पुराना १५ देखि १ सय किलोवाट सम्मका १६ वटा लघुजलविद्युत् आयोजना सञ्चालनमा छन् ।
पालिकाले विद्युतगृहको मर्मत संभारमा लगानी गरेपनि आयोजना पुरानै हुन् । भने पातारासीमै ९९८ किलोवाट क्षामताको चुकेनी जलविद्युत बन्दै छ । निकट भविष्यमै जिल्लाकै पहिलो उज्यालो पालिका घोषणा गर्ने पनि पातारासीको तयारी छ
झण्डै ३४ सयबढी घरधुरी रहेको पातारासीका सबै वडा विद्युतको पहुँचमा पुगेका छन् । सदरमुकाम अध्यारो हुँदा पनि दुर्गम पातारासीका गाउँ उज्यालानै हुन्छन् । विद्युत विकासमा दुर्गम पातारासीले सुगमलाई समेत चुनौती दिईरहेको छ ।
पातारासीमा ५८ किलोवाटको बिउरेनी विद्युत् आयोजना, २५ किलोवाटको लुम विद्युत् आयोजना, २५ किलोवाटकै तल्फी लघुजलविद्युत् आयोजना,४५ किलोवाटको त्रिवेणी जलविद्युत् आयोजना सञ्चालनमा छन् ।
त्यस्तै, २५ किलोवाटको माथि लोर्पा विद्युत् आयोजना, रिनीमा ९ किलोवाट, पटमारामा १२ किलोवाट विद्युत् आयोजना लगायत १६ वटा नयाँ–पुराना आयोजना सञ्चालनमा छन् । १६ वटा आयोजनामध्ये ११ वटा आयोजनाबाट मात्रै सदरमुकामको भन्दा ठूलो करिब २ सय ५० किलोवाटको बत्ती नियमित बलिरहेको छ ।
विद्युत गृहमा काम गर्ने कर्मचारी सेवा सुविधा तथा विद्युत मर्मतका लागि पालिकाले वर्षेनि आबश्यक बजेट खर्चिदै आएको पातारासीका अध्यक्ष पुर्णसिंह बोहोराको भनाई छ । पातारासीको जस्तै विद्युत उत्पादनको सम्भावना जुम्लाका सबै पालिकामा रहेकोले राष्ट्यि लाईनकै भर नपरी स्थानीय उत्पादनमा समेत सबैले ध्यान दिन जरुरी रहेको छ । विद्युतमा आत्मनिर्भर भएपनि पातारासीका सम्भावनाहरु अझै अबसरमा रुपान्तरण हुन सकेका छैनन् ।



