
जुम्ला । नेपालकै ठुलो राराताल जाने पर्यटकिय मार्ग नाग्म–गमगडी सडकमा गाडी गुड्न थालेको करिब एक दशक भयो । उक्त सडक भएर वर्षमा हजारौको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । तर रारामा एक पटक आएको पर्यटक फेरी फर्किएर आएको तथ्यांक छैन् । त्यसका विभिन्न कारण मध्य एक हो,कर्णाली राजमार्गहुदै नाग्म–गमगडी सडक सुरक्षित,भरपर्दो नहुनु हो ।

रारामा आउने अधिकांश पर्यटक कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकमा सास्ती पाएको भन्दै गुनासो पोख्ने गरेको रारा राष्ट्यि निकुञ्जका प्रमुख विश्वबाबु श्रेष्ठ बताउँछन् । उनी भन्छन,“रारामा पछिल्ला वर्ष अपेक्षित पर्यटक आएका छैनन् । आएका पर्यटकहरु राम्रो बास बस्ने ठाउँ नहुनु । संचार सुविधा अस्तव्यस्त हुनु । सडकको अबस्था सम्झेर फेरी आउनै नचाहनु रारा पर्यटन प्रर्बद्धनका मुख्यचुनौतीहरु हुन् ।”
सडक डिभिजनले दिनरात खटेर यात्रा सहज बनाएपनि संघिय सरकार र कर्णालीका नेताले ध्यान नदिँदा कर्णालीका सडक हिउँदमा धुमाम्य र वर्खामा हिलाम्य हुने गरेको निकुञ्ज प्रमुख श्रेष्ठको भनाई छ ।
९३ किलोमिटर दुरी भएको नाग्म–गमगडी सडकको साढे ६ किमी कालोपत्रे गर्ने समेत भनिएको थियो । तर अहिले सम्म पनि हुन सकेको छैन् । भने अधिकांश ठाउँमा गाडीनै फस्ने खालको हिलोले यात्रामा निकै सास्ती हुने गरेको तातोपानीका लोक बहादुर दमाईले बताए । उनले भने,“छायाँनाथ जाँदा नाग्म–गमगडी सडक भएर गाडीमा गयौ । छिटो पुगौला भनेर गाडीमा गएपनि हिडेका मान्छ बराबरनै गाडीको यात्रा भयो । कतिमा गाडी पेल्यौ,कति ठाउँमा आफै खन्यौ । कति ठाउँमा उत्रिएयौ । हिलोनै हिलो भएका कारण यात्रा सास्तीपुर्ण मात्र भएन् । समयमै गन्तव्यमा समेत पुग्न सकेनौ ।”
नाग्म–गमगडी सडक वर्षामा हिलाम्य र हिउँदामा धुलाम्य हुने समस्याबाट कहिले मुक्त हुन्छ ? कहिले कालोपत्रे हुन्छ ? भन्दै नागरिक पर्खिएका छन् । तर संघिय सरकार र यहाँका जनप्रतिनिधि भने कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकको दुर्त विकासमा मुखदर्शक बनेका छन् ।
त्यस्तै कर्णालीमा समृद्धी भित्राएको कर्णाली राजमार्गलाई मृत्यु मार्ग भनिन्छ । यो राजमार्गमा नियमित भईरहने दुर्घटना,भगवान भरोसामा गर्नु पर्ने यात्रा,कालिकोटको सुनार खोलामा वर्षेनिक पाईने सास्ती र राज्यको उपेक्षाका कारण कर्णाली राजमार्ग मृत्यु मार्गका रुपमा कहलिएको हो ।
राजमार्ग सञ्चालनको डेढ दशकमा हजारौको संख्यामा दुर्घटना र ५ सयभन्दा बढी नागरिकको मृत्यु समेत भईसकेको छ । तर सडकको दिर्घकालिन विकास,वर्खाको समयमा हुने क्षतिको रोकथाम,मर्मत संभार,स्तरबृद्धि र सडक विस्तारमा सधै बजेट बजेट अभाव हुने र राज्य अनुदार हुने मुख्य चुनौती छ । जसका कारण कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुहरु सास्ती खेप्न बाध्य छन् ।
सुर्खेत–जुम्ला २ सय ३२ किमी दुरी रहेको कर्णाली राजमार्ग सञ्चालनको डेढ दशकमा पनि अझै ढुक्कले यात्रा गर्ने स्थिती छैन् । कहाँ जाम हुने भयो ? गन्तव्यमा पुगिने होकी हैन् भन्ने चिन्ता हरेक दिन यात्रुलाई हुन्छ । यदपी,२३२ किमीको यात्रा सानो गाडीमा करिब १४÷१५ घण्टा लगाएर मुस्किलले गन्तव्यमा पुग्छन् ।
तर कर्णाली राजमार्ग अन्तरर्गत कालिकोटको सुनारखोलामा भने वर्षेनिक आउने पहिरोले नागरिकले सास्ती पाउँदै आएका छन् । सडकको सुधार र यात्रा सहज गर्न सडक डिभिजनले निरन्तर प्रयास गरेपनि दिर्घकालिन समधान हुन सकेको छैन् । जमार्गका दैलेख खण्डको पादुका खोलामा हिउँदमा धुलो र वर्खामा हिलो हुने गरेपनि स्तरबृद्धिमा अझै ध्यान पुगेको छैन् । वर्षौ सम्म पनि खाल्डाखुल्डी धुलो हिलो जस्ताको त्यस्तै छ ।
राजमार्गको दैखोलादेखि जुम्ला तर्फको १०४ किमी सडक क्षेत्रलाई व्यवस्थित र भरपर्दो बनाउन भने सडक डिभिजन लागि परेको डिभिजन प्रमुख दिपेन्द्र विष्ट बताउँछन् । उनी भन्छन,“हिउँदमा भन्दा वर्खामा अलिक बढीनै समस्या हुन्छ । सडक डिभिजनका कर्मचारीदेखि मेसिन सडक खुलाउन तैथानै हुन्छ । तथापी सडक स्तरबृद्धिमा भने सधै बजेट अभावले हुने समस्याले काम गर्न गाह्रो छ ।”
कर्णाली राजमार्ग र नाग्म गमगडी सडकमा लेन्थवर्कर,सुपरभाईजर सहित हेब्बी मेसिन समेत तयारी गरी राखिएको छ । सिमित बजेटका बाबजुत पनि सडक सुरक्षा र यात्रा सहजताका लागि काम गरिरहेका छौ । तर संघमा नेतृत्व गर्ने कर्णालीका नेताहरु भने कर्णालीको सडक विकासमा गम्भीर देखिएका छैनन् ।
चालु आवको बजेटमा जुम्लाका लागि मात्रै चार अर्बका टुक्रे योजना पर्दा ठुला सडक योजना भने उपेक्षामा परेका थिए । नियमित आउने शिर्षकको बजेट बाहेक अतिरिक्त बजेट आउदैन् । जसका कारण बाढी पहिरो गएर अबरुद्ध हुने हिलाम्य हुने सडकको स्तरबृद्धिमा बजेट व्यवस्थाप गर्न मुस्किल भएको प्रमुख विष्टको भनाई छ । तर पनि सडक डिभिजन जुम्लाका मेसिन सहित जनशक्ति पहिरो पन्छाउन,ग्राभेल गर्न,हिलो पन्छाउन रात दिन नभनी नाग्म–गमगडी सडक र कर्णाली राजमार्गका ठाउँ ठाउँमा तैथान अबस्थामा छन् ।
संघिय सरकारले कर्णालीको सडक विकासमा अर्जुनदृष्टी नदिने,माननीयहरुले ठोस पहल गर्ने बजेट व्यवस्थापनको काम नगर्ने र नागरिकले सकरात्मक साथ नदिएको खण्डमा कर्णालीमा सडक पूर्वाधारको विकास गर्नु फलामको चिउरा चपाउनु सह्र भएको समेत सडक डिभिजनका प्रमुख दिपेन्द्र विष्टको दुखेसो छ ।
फोटो क्याप्सनः नाग्म–गमगडी सडक र कर्णाली राजमार्ग । तस्बिरः सागर परियार ।