जुम्लामा बिमितबाटै स्वास्थ्य बिमाको चरम दुरुपयोग

जुम्ला । जुम्लामा बिमितहरुबाटै स्वास्थ्य बिमा कार्डको चरम दुरुपयोग भएको पाईएको छ । आफ्नो बिमा कार्ड छिमेकी,आफन्तलाई उपचार गर्न दिने गरेको पाइएको छ । आफ्नो बिमा कार्ड अरुलाई दिनु सरासर गलत हो । कानुनी रुपमा अपराधनै हो । तर जुम्लाका अधिकांश विमितहरुले छिमेकीलाई दिएर दुरुपयोग गरेको पाइएको हो ।

स्वास्थ्य बिमाको कार्डमा अधिकांशको व्यक्तिको फोटो छैन् । भएपनि नाम दर्ता गर्दा नियालेर हेरिदैन् । स्वयम बिमित हो वा हैन् भनेर ठम्याउन प्रतिष्ठानको नाम दर्ता गर्ने ठाउँनै व्यवस्थित छैन् । जसका बिमाको चरम दुरुपयोग बढेको देखिन्छ ।

उमेर नमिल्ने,रोग नमिल्ने विरामीको बिमा कार्ड सामान्य व्यक्तिले प्रयोग गर्दा औषधी फरक पर्ने,उपचार फरक पर्ने,कम उमेरको हाईडोज औषधी पाउने,ठुलो उमेरकोले कम डोजको औषधी पाउने समस्या छ । यतिसम्म जुम्लामा एक मात्रै टिभी रोगका विरामी छन् । जसको कार्डमै उल्लेख गरिएको छ । तर उसको विमा कार्ड समेत दुरुपयोग भएर सामान्य बिरामीले टिभीको औषधी खाएको सुनिएको छ ।

गाउँघरमा बिमा नभएकालाई दया माया देखाएर उपचार गर्न कार्ड दिने चलन छ । जुन गलत कार्य हो । फोटो भएकाहरुको पनि कार्ड दुरुपयोग हुँदासम्म नियमन नहुनु कर्णाली प्रतिष्ठानको पनि कमजोरी हो । विगतदेखिनै बिमा कार्ड दुरुपयोगको गुनासो आएपनि बल्ल सुधार गर्न थालिएको छ ।

६० प्रतिशत दुरुपयोग,फोटो अनिवार्य राखिदै
जुम्लामा करिब ६० प्रतिशत स्वास्थ्य बिमा कार्ड दुरुपयोग हुने गरेको छ । जुम्लामा हाल सम्म ८६ हजार ७ सय १५ जना बिमित संख्या छ । कुल बिमित मध्य ३५ हजार बिमितको मात्रै सिस्टममा फोटो अपडेट रहेको छ । भने बाँकी ५१ हजार ७ सय १५ जनाको अझै फोटो अपडेट छैन् । फोटो अपडेट नहुनुनै दुरुपयोग बढ्न्ु हो ।

कुल बिमितको आधारमा ६० प्रतिशत बिमा कार्डको दुरुपयोग दुरुपयोग हुने गरेको स्वास्थ्य बिमा बोर्ड जुम्लाका प्रमुख प्रेम भण्डारी बताउँछन् । उनका अनुसार फोटो नभएका कार्ड अधिकतम दुरुपयोग हुन्छन् ।

उनी भन्छन,“बिमाको दुरुपयोग गरेर कानुनी लडाईनै लड्नु पर्ने खालका घटना घटेका छन् । ती घटनाबारे अनुसन्धान हुदैँ छ । सुरुमा विमा भर्दानै फोटो अपडेट गर्नु पर्ने हो । तर धेरैको छुटेको देखियो । त्यसैले पनि दुरुपयोग बढ्यो । सामान्य बिरामीको उपचार गर्दा पनि बिमा दुरुपयोग हुने गरेको छ । बिमितहरुकै लापरबाहिले यस्तो समस्या आएको हो । यसलाई रोक्न कार्डमा अनिवार्य फोटो राख्दै छौ ।”

बिमा कार्डको चरम दुरुपयोग भएको गुनासो बढेपछि सबै बिमितको सिस्टममा फोटो अपलोड तथा पुरानोको अपडेट थालिएको प्रमुख भण्डारीले जानकारी दिए । बिमाको दुरुपयोग बढ्दै जाँदा प्राधिकरणलेनै कडाई गरेर अनिवार्य फोटो राख्न निर्देशन गरेको छ । अहिलेनै सजक नभए भविष्यमा कानुनी लडाई लड्नु पर्ने अबस्था आउन सक्नेमा प्राधिकरण चिन्तीत देखिएको छ ।

भदौ २१ गतेबाट जुम्लामा सिस्टममा फोटा नदेखाएका बिरामीको फोटो अपडेटपछि मात्रै उपचार गर्न थालिएको छ । भने स्वास्थ्य बिमा बोर्डले जिल्लामा आईसकेका बिरामीको जिल्लामै फोटो अपडेट र अन्यको दर्ता सहयोगबाट गर्न समेत सुझाइएको छ । दिनमा कम्तीमा ३ देखि ४ सयजनाको फोटो अपडेट तथा अपलोडको काम भईरहेको प्रमुख प्रेम भण्डारीले उल्लेख गरे ।

बोर्डको तथ्यांक अनुसार जुम्लामा ८६ हजार ७ सय १५ जना स्वास्थ्य बिमाको पहुँचमा आएका छन् । जसमा चन्दननाथ नगरपालिकामा १९ हजार ९ सय ३,गुठिचौर ७ हजार ७५ जना,हिमामा ११ हजार ४ सय ९७ जना,कनकासुन्दरीमा ६ हजार २ सय ६८ जना बिमित रहेका छन् ।

त्यस्तै,पातारासीमा १६ हजार १ सय ८ जना,सिँजामा ५ हजार ५ सय ५० जना,तातोपानीमा ११ हजार ६ सय २७ जना र तिला गाउँपालिकामा ८ हजार ६ सय ८७ जना नागरिक बिमाको पहुँचमा पुगेका छन् । सामान्य ः ५५ हजार ६ सय ६६,अति गरिब रातो कार्ड २६ हजार ५ सय ९३,स्वयम् सेविका घरका सदस्य १२ सय ७८ जना, जेष्ठ नागरिक २७ सय ९२ जना र अति अशसक्त अपांग (क)वर्ग का ३७४ जना बिमित रहेका छन् ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस