
जुम्ला । कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लामा करोडौको लगानीमा सुविधायुक्त रंगशाला सहितका अन्य खेलकुद पूर्वाधार निर्माण सुरु भएको छ । सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको ५० करोड लगानीमा रंगशाला सहितका पूर्वाधार निर्माण सुरु भएको हो ।
खेलकुद पूर्वाधार अभावका कारण खेलाडीले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै कार्यालयले चन्दननाथ नगरपालिका ५ स्थित राजासिममा सुविधायुक्त रंगशाला निर्माणको थालनी गरेको छ । कार्यालयले रंगशालासहित अन्य पूर्वाधार बनाउन ५० करोड लगानी गरेको छ । रंगशाला अभावमा जुम्लाका खेलाडीले पर्याप्त अभ्यास गर्न पाएका छैनन् । जिल्लास्तरीय खेलकुद आयोजना समेत नियमित हुन सकेको अबस्था छैन् । भने वर्षमा हुने छिटफुट आयोजनाहरु पनि नेपाली सेनालाई गुहार मागेर टुडिखेलमा गर्नुपर्ने बाध्यता छ ।
रंगशाला सहितका संरचना निर्माणको जिम्मा पाएको ‘कविन्द्र निर्माण सेवा’ काठमान्डौले भदौ २३ गतेबाट रंगशाला निर्माणको औपचारिक कार्य सुरु गरेको छ । अहिले ग्राउण्ड स्टकचरको काम भईरहेको छ । ८५ मिटर लामो प्यारापिट निर्माण हुने छ । जसको तल ग्राउण्डमा शौचालय,बाथरुप,माथि सटर र त्यस माथि प्यारापिट निर्माण हुने निर्माण कम्पन्नीका प्रतिनिधि तथा ईन्जिनियर विरेन्द्र महत्तोले बताउनुभयो ।
उहाँले भन्नुभयो,“५० करोड लगानीमा रंगशाला सहित चन्दननाथ नगरपालिका अघि सटर,वडा कार्यालय,सडक लगायतका पूर्वाधार बन्ने छ । हाल चन्दननाथ नगरपालिका अगाडी सटर निर्माणको काम समेत अघि बढीसकेको छ ।” भने हाल रंगशालाको ग्राण्डर स्टकचर निर्माण दुई ईन्जिनियर सहित २५ जना खटिएका छन् ।
रंगशालाको लम्बाई २ सय मिटर र चौडाई करिब १ सय मिटर रहेको छ । सम्झौता अनुसार रंगशाला २ वर्षमै निर्माण सम्पन्न हुने निर्माण कम्पन्नीको दाबी छ । सडक कालोपत्रे गर्ने काम भने हाल सुरु भएको छैन् ।
सघन सहरी विकास कार्यक्रमअन्तर्गत रंगशाला बन्न लागेको हो । रंगशाला निर्माण शिर्षक अन्तरर्गत रहेको कुल ५० करोड बजेटमध्ये १३ करोड लगानीमा रंगशाला निर्माण हुनेछ । बाँकी ३७ करोड लगानीमा ११ वटा संचरना निर्माण हुनेछन् । जसमा रानीताल पार्क,चन्दननाथ नगरपालिका अगाडि सटर,चन्दननाथ–८ को पक्की वडा कार्यालय भवन र जुम्ला बजारमा कटिङ ढुंगा छापिने छ ।
त्यस्तै,कृष्ण मन्दिरदेखि एयरपोर्ट सडक कालोपत्रे, कर्णाली प्रतिष्ठानदेखि कर्णाली राजमार्ग सडक मर्मत, छिनासांगु–कार्तिकस्वामी सडक कालोपत्रे, कर्णाली राजमार्गदेखि महतगाउँको घाट जाने सडक कालोपत्रे, ढाँणथपलादेखि भण्डारीवाडा सडक कालोपत्रे र मालाभिड कर्णाली प्रतिष्ठान जाने सडक कालोपत्रे लगायत ११ वटा संरचना रंगशालासँगसँगै निर्माण हुने निर्माण कम्पन्नीले जनाएको छ । यदपी हाल चन्दननाथ नगरपालिकाको अघि सटर,जिल्ला प्रहरी कार्यालय अघि आरसिसि सेयर वाल निर्माण र रंगशाला निर्माणले गती लिएको छ । भने अन्य कामलाई चाडै सुरु गर्ने तयारी छ ।
जुम्लाको खेल क्षेत्रलाई प्रर्बद्धन गर्नका लागि सुविधायुक्त रंगशाला निर्माण प्रक्रिया सुरु भएको सघन सहरी विकास कार्यालयका सब–इन्जिनियर चन्द्रबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो,“रंगशाला निर्माण २४ महिनामा सकिने गरी सम्झौता भई निर्माण सुरु भएको छ । सुविधायुक्त रंगशालासहितका अन्य संरचना पनि बन्ने छन् । दुई वर्षभित्र बन्ने रंगशालाले जुम्लाको खेल क्षेत्रको विकासमा टेवा पुराउने र खेलाडीमा उत्साह थप्ने आशा छ । रंगशालाको नाम विश्व कीर्तिमानी धावक ‘हरि बहादुर रोकाया रंगशाला’ राखिने ।”
रंगशाला निर्माणसँगै जुम्ली खेलाडीले हिउँदमा धुलो तथा हिउँ र बर्खामा हिलोमा अभ्यास गर्नुपर्ने, विभिन्न खेलको आयोजना गर्न स्थान अभावले भौंतारिनुपर्ने समस्याको अन्त्य हुने समेत अपेक्षा गरिएको छ ।
सुविधायुक्त रंगशाला निर्माण सुरुभएसंगै जिल्लाका खेलाडीहरु उत्साहित भएका छन् । जिल्ला फुटबल संघ जुम्लाका उपाध्यक्ष रोसन श्रेष्ठ भन्छन,“रंगशाला बन्ने कुराले हामी उत्साहित छौ । पुर्वाधार नभएकै कारण खेलकुद आयोजना कम हुने गरेका छौ । केहिले आयोजना गर्दा सेना गुर्हानु पर्ने बाध्यता हट्ने भयो । निर्माणलाई गति दिन सबै निकायले चासो दिन जरुरी छ ।”