हियाखोलामा बालविवाह विरुद्ध कानुनी सचेतना

जुम्ला ः तातोपानी गाउँपालिका – ६ हियाखोला गाउँमा बालविवाह विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । इन्सेक, मानवअधिकार रक्षक संजाल जुम्लाको आयोजना तथा ६ नम्बर वडापालिका र कालिका आधारभुत विद्यालय हियाखोलाको समन्वयमा बालविवाह विरुद्ध कानुनी सचेतना कार्यक्रम गरिएको हो । बालविवाह विरुद्ध कानुनी सचेतना कार्यक्रमको सहजीकरण वरिष्ठ अधिवक्ता देवेन्द्र बहादुर शर्माले गरेका हुन् ।
विवाह बारी २० वर्ष पारी भन्ने नेपाल सरकारको नारा भएपनि यहाँका गाउँबस्तीमा कम उमेरमा विवाह गरेका छन् । जसका कारण मानव बृत्ति विकासमा प्रत्यक्ष असर पर्ने गरेको छ । बालविवाह न्यूनिकण गर्नका लागि एक दिवसीय बालविवाह विरुद्ध सचेतना कार्यक्रम गरिएको इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले बताए । उनले भने बालविवाह गर्न कानुनमा लेखिए पनि कार्यन्वयनमा आउन सकेको पाइदैन ।


बालविवाह विरुद्ध कानुनी सचेतना कार्यक्रम सहजीकरण गर्दै वरिष्ठ अधिवक्ता शर्माले भने कानुनको पालन सवै नागरिकले गर्नु पर्दछ । २० वर्ष नपुगी विवाह गर्न नपाइने हाम्रो कानुनी प्रवधान रहेको छ । तर पनि हाम्रा गाउँ ठाउँमा बालविवाह भई रहेको देखिन्छ । यसमा राज्यका निकायदेखि समुदायका नागरिक सचेत हुन जरुरी रहेको छ ।
नेपालको संविधानको धारा ३९ को उपधारा ५ ले कुनै पनि बालबालिकाको हक स्थापित गर्नुका साथै २० वर्षभन्दा कम उमेरमा गरिने विवाह कानुनतः दण्डनीय र गैरकानुनी हुने भएकाले बदर हुने व्यवस्था गरिएको वरिष्ठ अधिवक्ता शर्माले बताए । यस्तै कसुर गर्ने व्यक्तिलाई एक वर्ष कैद र १० हजार जरिवाना हुनसक्ने प्रवधान छ ।
बालविवाह गराउने अभिभावकलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र १ हजारदेखि १० हजार रुपैंयासम्म जरिवाना तोकिएको छ । बालविवाह गराउने पुरोहित, जन्ती जानेहरु र बालविवाहमा सहमती जनाउने सबैलाई १ महिना कैद वा १ हजार रुपैंयासम्म जरिवाना गर्ने कानूनी व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस