चन्दननाथको बजेट विनियोजन नहुँदा स्वास्थ्य संस्थामा औषधि अभाव

नगरपालिका हाकिम जिल्ला बाहिर, खातासमेत सञ्चालनमा आएन

चन्दननाथ नगरपालिका जुम्लाको डल्लो बजेट विनियोजन नहुदा चालु आर्थिक वर्षका पहिलो चौमासिक कार्यक्रम प्रभावित भएका छन् । जनप्रतिनिधिले डल्लो बजेट विनियोजन भईसकेको दावी गरेपनि कर्मचारीलाई कुन शिर्षक कति बजेट भन्ने जानकारी भएको र बजेट सिलिङ प्राप्त नभएको बताउने गरेका छन् ।

चालु आर्थिक वर्ष ०८०÷०८१ को बजेट समयमा विनियोजन नभएर औषधि खरिद नहुदा स्वास्थ्य संस्थामा औषधि अभाव देखिएको छ । नगरपालिका भित्रका १० वटामा एक बर्थिङसहित तीन वटा स्वास्थ्य चौकी, एक वटा सहरी स्वास्थ्य केन्द्र र पाँच वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र रहेका छन् । यिनै स्वास्थ्य संस्थामा औषधि अभाव देखिएको हो । चालु आर्थिक वर्षको बजेट विनियोजन नहुदा समयमा औषधि खरिद नहुदा स्वास्थ्य संस्थामा औषधि अभाव देखिएको हो ।
स्वास्थ्य संस्थामा जिंक, आइरन, पारा सिटामोल औषधि अभाव रहेको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए । उनले भने स्वास्थ्य संस्थाबाट औषधिका माग फाराम आएका छन् । तर औषधि खरिद नभएको हुदा स्वास्थ्य संस्थामा औषधि पठाउन सकिएको छैन । यसको प्रमुख समस्या समयमा बजेट विनियोजन नभएका कारणले औषधि समय खरिद भएको छैन ।

स्वास्थ्य संस्था सञ्चालन गर्न समस्या भएको छ । साउन देखि यता ६ जना स्वास्थ्य संस्थामा प्रसुति भएका छन् । उनीहरुलाई यातायात भत्ता तीन हजार, प्रोटोकल अनुसार गर्भ चेकजाँच गरेबापत ८ सय र पोषण भत्ता दुई हजार गरी एक जनालाई पाँच हजार ८ सय रुपियाँ दिनुपर्ने हो । तर यो रकम पनि सुत्केरी महिलाले प्राप्त गर्न नसकेको जनस्वास्थ्य निरीक्षक महतले बताए । उनले भने दुई महिनादेखि कर्मचारीले तलव भत्ता पनि पाएका छैनन् । बच्चा र गर्भवती महिलालाई लिटोपिठो वितरण कार्यक्रम छ । नगरपालिकाले बजेट विनियोजन नगर्दा लिटोपिठो ढुवानीमा पनि समस्या भएको छ ।

चन्दननाथ नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईले दुई महिनादेखि विद्यालयको दिवा खाजाको रकम पठाउन सकिएको छैन । उनले भने विद्यालयमा दैनिक उपभोग हुने दिवा खाजाको माग आएको छ । तर रकम पठाउन सकिएको छैन । यस्तै विद्यालयमा पठाउने शैक्षिक सामग्री, ह्रवाईड बोड मार्कर पनि पठाउन सकिएको छैन । शिक्षा शाखाको बजेट कति विनियोजन भएको हो । अहिलेसम्म जानकारी छैन ।

यस्तै चन्दननाथ नगरपालिका जुम्लामा महिला तथा बालबालिका शाखा, कृषि शाखा, पशु शाखा, शिक्षा तथा खेलकुद शाखा, स्वास्थ्य शाखा, विपद् व्यवस्थापन शाखा छन् । समयमा बजेट विनियोजन नहुदाँ यिनै सवै शाखाका पहिलो चौमासिक कार्यक्रम प्रभावित भएका छन् । शाखाका कर्मचारीलाई आफ्नो शाखाको कति बजेट छ भन्ने पनि जानकारी छैन । उनीहरु अन्यौलमा परेका छन् ।

चन्दननाथ नगरपालिकाले असार १० गते ५५ करोड १० लाख ८० हजार बजेट ल्याएको हो । समयमै लाएको चालु आर्थिक वर्षको बजेट असोजको पहिलो सातासम्म पनि डल्लो बजेट रहेको कर्मचारीले बताउने गरेका छन् । त्यो डल्लो बजेट अहिलेसम्म विनियोजन भएको छैन । समयमा बजेट विनियोजन नहुदा कुन कार्यक्रम र कुन शाखालाई कति बजेट भन्ने विषयमा कर्मचारी अन्यौलमा परेका छन् । जसका कारण सेवा प्रवाहमा समस्या देखिएको छ ।

चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले बजेट सवै विनियोजन भएको बताए । उनले भने केही बजेट मात्रै विनियोजन गर्न बाँकी छ । तर प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि काठमाडौँ रहेका हुनाले नयाँ आर्थिक वर्षको खाता सञ्चालन भएन । खाता सञ्चालन नहुदा समस्या भएको हो । अब असोज ४ गते नयाँ प्रमुख प्रशासकीय अधिकृत आउदै छन् । सामान्य प्रशासन मन्त्रालयबाट रमना लिईसक्नु भएको छ । अब हाकिम आउना वित्तिकै नयाँ खाता सञ्चालन हुन्छ । अनि नगरपालिकाका सवै क्रियाकलाव सञ्चालनमा आउने छन् ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस