प्रधानमन्त्री प्रचण्डले शनिबारदेखि चीनको भ्रमण गर्ने

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबारदेखि चीनको भ्रमण गर्ने औपचारिक घोषणासहित कार्यक्रम तालिका सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी भ्रमणको तालिका सार्वजानिक गरेको हो । चीनका प्रधानमन्त्री लि छ्याङको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा उनले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

उनले बेइजिङस्थित नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्नेछन् । प्रधानमन्त्रीले चीनको अन्तर्राष्ट्रिय व्यापार परिषद् (सीसीपीआईटी), नेपालको उद्योग वाणिज्य महासंघ र बेइजिङस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको चीन–नेपाल लगानी सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहाल सेप्टेम्बर २३ मा हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् । उनले चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न चोङकिङ नगरपालिकाको भ्रमण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस