हाकिमले बेईमानी गर्दा चन्दननाथको बजेट कार्यान्वयन भएन


जुम्ला । चन्दननाथ नगरपालिकाका स्वास्थ्य निरिक्षक क्षेत्र बहादुर महत लगायत चन्दननाथका दर्जनौ कर्मचारी दुई महिनादेखि तलब भत्ता विहिन छन् । कर्मचारी मात्र तलब विहिन छैनन् । दुई महिनादेखि नगरपालिका भित्रका स्वास्थ्य चौकी ओैषधी विहिन,विधालय दिवा खाजा विहिन, विषयगत शाखाहरु कार्यक्रम विहिन र सुत्केरी भएका महिला प्रोत्साहन भत्ता विहिन भएका हुन् । मुलतः चन्दननाथका सबै शाखाका पहिलो चौमासिकको दुई महिनाको नियमित कामकाज समेत प्रभावित भएका छन् ।


असार १० मा ल्याएको डल्लो बजेट बाँडफाँड नहुँदा चन्दननाथको पहिलो चौमासिक प्रगती सन्तोषजन छैन् । चन्दननाथले असार १० गते ५५ करोड १० लाख ८० हजारको बजेट ल्याएको थियो । डल्लो बजेट ल्याएको करिब चार महिना बितिसक्दा पनि विषयगत शाखामा बजेट बाँडफाँड नहुँदा सबै कार्यक्रम प्रभावित भएको चन्दननाथका स्वास्थ्य निरिक्षक क्षेत्र बहादुर महतले बताए । दुईमहिनाको तलब भत्ता नपाएको उनको गुनासो छ ।

उनले भने,“शाखाहरुमा बजेट बाँडफाँड नहुँदा स्वास्थ्य संस्थामा ओैषधी अभाव चुलिएको छ । नगरपालिका भित्र एक बर्थिङ, ३ वटा स्वास्थ्य चौकी, एक सहरी स्वास्थ्य केन्द्र र ५ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र छन । सबै स्वास्थ्य संस्थामा जिंक, आइरन, पारा सिटामोल लगायतका ओैषधी अभाव छ । बजेट विनियोजन नहुँदा औषधी खरिद हुन सकेको छैन् ।“

त्यस्तै,शिक्षा शाखामा बजेट विनियोजन नभएकै कारण चन्दननाथ नगरपालिकाका सामुदायिक विद्यालयमा नियमित पठाउनु पर्ने दिवा खाजाको रकम दुई महिनादेखि पठाउन सकिएको छैन । शिक्षा शाखा प्रमुख खडानन्द चौलागाई भन्छन,“विद्यालयमा दैनिक उपभोग हुने दिवा खाजाको माग आएको छ । तर रकम पठाउन सकिएको छैन । त्यस्तै विद्यालयमा दैनिक चाहिने मसलन्द खर्च पनि चुलिदै छ । शिक्षा शाखाको बजेटनै कति हो ? अहिलेसम्म जानकारीमा छैन ।”

हाल निमित्त प्रमुख प्रशासकिय अधिकृत समेत रहेका चौलागाईले मुख्य हाकिम नहुँदा आफुले प्रशासनिक कामको मात्रै जिम्मेवारी पाएको र कुन शाखामा कति बजेट छ भन्ने कसैलाई जानकारी नभएको दाबी गरे । नयाँ प्रमुख प्रशासकिय अधिकृत केहि दिनमा आएपछि थाहा हुने जनाए ।

बजेट बाडफाँड भईसक्यो,हाकिमले बेईमानी गरे
चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काले चालु आवको डल्लो बजेट सबै शाखामा बाँडफाँड भईसकेको दाबी गरेकी छन् । बजेट तर्जुमा समितिकी संयोजक समेत रहेकी खड्काले सबै विषयगत शाखामा आबश्यकताका आधारमा बजेट विनियोजन भई पारित समेत भईसकेको उल्लेख गरिन् ।

बजेट विनियोजन भई पारित समेत भईसकेको हो । उपमेयर खड्काले भनिन,“बजेट पारित भईसकेको छ । सुत्रमा मात्रै ईन्ट्री गर्न बाँकी छ । तर केहि कर्मचारीले बजेट विनियोजनबारे थाहा नपाएको अनाआबश्यक हल्ला मात्रै फैलाएका हुन् । बजेट सबै शाखाका लागि छुटाइएको छ । पुराना हाकिम गएरदेखि हाल सम्म नफर्किदा समस्या भयो ।”

मेयर राजुसिंह कठायतले पनि ११ औँ नगरसभाबाट सबै शाखामा बजेट विनियोजन भईसकेको दाबी गरेका छन् । १० वटै वडामा समेत विकास बजेट विनियोजन भईसकेको र केहि बाँकी बजेटलाई औचित्यका आधारमा वडामा छुटाईने उल्लेख गरे ।

बजेट विनियोजन भईसक्दा पनि पुराना प्रमुख प्रशासकिय अधिकृत सिताराम खड्काको बेमाईनीका कारण चन्दननाथका आर्थिक कार्य रोकिएको मेयर कठायले बताए । साउन १ गते काठमान्डौ गएका मेयर आउँछु भन्दा भन्दै दुई महिना बिताए । अन्ततः उनी नआएपछि नगरका सबै काम प्रभावित भए ।

मेयर कठायत भन्छन,“पुराना हाकिम खड्काले हामीलाई धोका दिए । साउन १ गते संगै गएका हौ । जान्छु भन्दा भन्दौ धेरै जहाजको काटिएको टिकट समेत क्यान्सील गर्नुपर्यो । लिएरै जान्छु भनेर एक महिना बसे । अन्ततः जादैन भनेपछि यता नगरका काम पनि प्रभावित भए । दुई महिनाको काम प्रभावित हुनुका मुख्य दोषीनै पुराना हामिक हुन् ।”

पुराना हामिकले धोका दिएका कारण कर्मचारीले तलब खान नपाएको,विनियोजन भईसकेको समेत बजेट शाखाले थाहा नपाएको कुरा सहि छ । तर अहिले सम्म डल्लो बजेटनै बाँडफाँड भएन् । कति मुस्किल भयो ? भन्ने कुरामा सत्यता छैन् । बजेट ईन्ट्री नभए सम्म तलब पनि पाईदैन् । शाखामा पनि बजेट आउदैन् भन्ने कुरा कर्मचारीले थाहा पाएर पनि अबुझ बनेको मेयर कठायतको तर्क छ ।

हरेक शाखामा बजेट विनियोजन भएपनि शाखा प्रमुखले बजेट कुन कार्यक्रम कति लाग्छ भनेर ब्रेक डाउन नदिँदा पनि अन्यौलाता आएको उल्लेख गरे । २÷३ दिनमै नयाँ प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने जुम्ला पुग्ने आउने वित्तिकै खाता सञ्चालन गरी आर्थिक कार्य सम्पादनलाई दुर्त गतीमा अघि बढाउने उनको भनाई छ ।

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस