जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मेरुदण्डको विशेषज्ञ चिकित्सक टोली पुगेको छ । धरानदेखि विर्तामोडसम्मका १४ जना विशेषज्ञ चिकित्सकको टोली कर्णाली प्रतिष्ठान जुम्लामा पुगेको हो ।
एसोसियसन अफ स्पाइन सर्जन अफ नेपालका पूर्वअध्यक्ष डा.विमलकुमार पाण्डे नेतृत्वको १४ जनाको टोली जुम्ला पुगको हो । जुम्ला पुगेको मेरुदण्ड विशेषज्ञ चिकित्सक टोलीले कर्णाली प्रतिष्ठानका विशषज्ञ डाक्टरहरु संग मेरुदण्डको उपचार बारे छलफल तथा सहजीकरण गरेका छन् ।
भौगोलिक हिसाबले विटक कर्णालीमा हाडजोर्नी अझ मेरुदण्डका बिरामीहरु धेरै हुने भएको विरामीको सफल उपचारको अनुभव साट्न जुम्ला पुगेको डाक्टर विमलकुमार पाण्डेले बताए । उनले भने,“यातायातको समस्याले अस्पतालसम्म बिरामी लैजान कठिन छ । मेरुदण्डको घरदैलो सेवा र अस्पतालमा उच्चस्तरीय सेवा सञ्चालनका लागि टोलीले छलफल गरेको छ । जटिल प्रकारको मेरुदण्डको उपचार जुम्लामै होस भन्ने हामीले चाहेका छौ । जसका लागि विशेषज्ञ चिकित्सकलाई सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको आवश्यक हुन्छ ।”
जुम्लाका पुगेको टोली र जुम्लाका डाक्टरबीच एक दिन ज्ञान आदान–प्रदान गरेर विशेषज्ञहरुको क्षमता विकासमा सहयोग गरेको उनको भनाइ छ । डा. पाण्डेका अनुसार विहान सैद्धान्तिक कक्षा लिएर दिउँसो व्यवहारिक अभ्यास गरेर जुम्लामा कार्यरत विशेषज्ञ चिकित्सकहरुको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम गरिएको छ ।
टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ र एमबीबीएस डाक्टरहरु गरेर ३० जनासँग मेरुदण्डको रोग र उपचारका बारेमा छलफल गरेको प्रतिष्ठानका निर्देशक डा. पुजन रोकायाले बताए ।
उहाँका अनुसार एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालका पूर्वअध्यक्ष डा. पाण्डेको नेतृत्वमा टोली जुम्ला पुगेको हो । टोलीमा उपाध्यक्ष डा. व्यापक पौडेल, महासचिव डा. सुरज बज्राचार्य, साइन्टिफिक कमिटीका डा.गौरव ढकाललगायत चिकित्सक छन् ।
एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालको सहकार्यमा मुलुकभित्र र विदेशमा पनि मेरुदण्डको उपचारबारे तालिम गर्न विशेषज्ञहरुलाई अवसर प्रदान गर्ने निर्देशक डा. रोकायाले उल्लेख गरे ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार जुम्लाबाट २० जना मेरुदण्डको जटिल समस्या भएका बिरामीहरु अन्य अस्पताल रेफर भएका छन् । टोलीसँगको छलफलले मेरुदण्डको उपचार झनै प्रभावकारी सेवा प्रदान गर्ने ऊर्जा मिलेको डा. रोकायाको भनाई छ । कर्णालीमा भौगोलिक विकटताका कारण मेरुदण्ड लगायत हाडजोर्नीका विरामी धेरै हुने गरेका छन् ।



