ईलाका प्रशासन नराकाेटमा तत्काल कर्मचारी खटाउन ध्यानकर्षण

जुम्ला । कर्मचारी अभावले ईलाका प्रशासन कार्यालय नराकाेटमा तीन सातादेखि नागरिकता वितरण राेकिएकाे छ । लामाे समयदेखि नागरिकता वितरण राेकिएपछि तत्काल कर्मचारी खटाउन ध्यानकर्षण पत्र हस्तान्तरण गरिएकाे छ ।

सरकारले स्थापना गरेको ईलाका प्रशासन कार्यालयमा अधिकृत नभएकाे भन्दै नागरिकता वितरण राेकिएपछि मानव अधिकार रक्षक संजाल जुम्लाले जिल्ला प्रशासनकाे ध्यानाकर्षण गरेकाे छ।

उक्त ईलाका प्रशासन कार्यालय जुम्लाको सिंजा क्षेत्र हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकालाई केन्द्र बनाई स्थापना गरिएकाे थियाे।

२०७३ मंसिर महिनाबाट अधिकृत स्तरको कर्मचारी दरबन्दी भए पनि हालसम्म कर्मचारी नपठाइएकाे भन्दै ध्यानाकर्षण पत्र बुझाइएकाे इन्सेक जुम्लाका प्रतिनिधि मानदत्त रावलले बताए ।

‘नायब सुब्बा स्तरको कर्मचारीलाई जिम्मेवारी दिई नागरिकता वितरण गरिदै आएकाे थियाे । उनले भने, “विगत तीन सातादेखि नायब सुब्बा सुरत गिरीको काज सकिएसँगै अनेत्र सरुवा भएकाले ईलाका प्रशासनबाट नागरिकता वितरण हुन सकेकाे छैन । तत्काल कर्मचारी खटाउन माग गरिएकाे छ ।”

सरकारले कर्मचारी नपठाउँदा नागरिकता सदरमुकाममा ल्याएर हस्ताक्षर गर्नुपर्ने अवस्था तत्काल अन्त्य हुनुपर्ने नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महतले जाेड दिए ।
तीन सातादेखि स्थानीय प्रशासन मार्फत पहल गर्दा पनि हालसम्म पनि कर्मचारी खटाउने विषय कार्यन्वयन हुन नसक्नु दुखद कुरा हाे ।

कर्मचारी नहुँदा नागरिकले पाएको सास्ती प्रति सम्वेदनशील भए पनि  गृहले तत्काल कर्माचारी पठाउन नसक्ने जनकारी दिएकाले समस्या भएकाे प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताए ।

गृहले अधिकृत खटाउन नसक्ने बताएकाे छ । तत्काल कर्मचारी खटाउन मुस्किल छ । तर कर्मचारी खटाउन पहल गरिरहेकाे उल्लेख गरे ।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस