पाथीभरा जाँदै गरेको जिप दुर्घटना हुँदा १३ जना घाइते

ताप्लेजुङ । पाथीभरा जाने तीर्थयात्री लिएर जाँदै गरेको मे १ ज २१८६ नम्बरको जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

घाइतेमध्ये ७० वर्षका धनबहादुर डाँगीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ । बाँकीको सामान्य अवस्थामा उपचार भएको जिल्ला अस्पतालका डाक्टर ओम थापा मगरले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते चालक सहितका १२ जना ताप्लेजुङकै पाथीभरा याङवरक गाउँपालिका–३ तिरिङगे र एक जना झापाको बाह्रदसी गाउँपालिकाका–२ का ४१ वर्षीय कर्णबहादुर कार्की रहेका छन् ।

प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार जिप तिरिङगेको भित्री सडकमा दुर्घटना भएको हो । जिप सडकबाट ७० मिटर तल झरेको लिम्बूले जानकारी दिए । घाइतेहरुलाई सुकेटारबाट गएको प्रहरी टोली र स्थानीयले तत्काल जिल्ला अस्पतालमा उपचारका लागि पठाएका थिए ।

स्रोत ः कान्तिपुर

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस