कर्णाली प्रतिष्ठानका आकस्मिक बाहेक सबै सेवा बन्द हुने

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका आकस्मिक बाहेक सबै सेवा बन्द हुने भएका छन् । देशका विभिन्न अस्पतालमा डाक्टर कुटिएकाे विषयमा दाेषीलाई कारबाहीकाे माग गर्दै कर्णाली प्रतिष्ठानका चिकित्सकहरुले असाेज १० गतेदेखि आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने भएका हुन् ।

स्वास्थ्य सेवा जस्तो सम्बेदनशील क्षेत्रमा पटक-पटक हुदै आइरहेको धरपकड, दुर्व्यवहार एवम् आक्रमणका घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको भन्दै  केहिदिन देखि लमजुङ अस्पताल, मणिपाल शिक्षण अस्पताल, बघौडा अस्पताल माडी चितवन, पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा शृंखलाबद्ध रुपमा चिकित्सक एवम् स्वाथ्यकर्मीमाथी भएको आक्रमणका घटनाका दाेषीलाई कारबाहिकाे माग गर्दै भाेलीदेखि प्रतिष्ठानकाे ओेपिडि सेवा बन्द हुने भएकाे छ ।

मंगलबार प्रतिष्ठानका सम्पूर्ण फ्याकल्टी, चिकित्सक, स्वास्थ्यकर्मीहरु द्दारा जारी विज्ञप्ती मार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न दिन-रात नभनी अहोरात्र खटिरहेको चिकित्सक स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने वातावरण गर्नुकाे सट्टा सधै मनाेबल गिराउने,आक्रमण गर्ने जस्ता गलत कदमकाे प्रतिष्ठानका चिकित्सकले घाेर भत्सर्ना समेत गरेका छन् ।

पछिल्लाे समय श्रृंखलाबद्द रुपमा देशका विभिन्न अस्पतालका चिकित्सक माथि घटेका घटनाले समाजमा अराजकता निम्त्याई स्वास्थ्य संस्था एवम् सेवाग्राही बिचको दुरी बढाउने र भविष्यमा स्वास्थ्य सेवा झनै जटिलता तर्फ मोडिने निश्चित रहेकाे विज्ञप्तीमा उल्लेख छ ।

लम्जुङ, मणिपाल, चितवन एवम् पाटन अस्पतालमा भएका घटनाहरुको दोषीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६, (पहिलो संसोधन २०७९) अनुसार कारबाही प्रक्रिया अगाडी नबढाए सम्म कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत सम्पूर्ण फ्याकल्टी, चिकित्सक, स्वास्थ्यकर्मीहरु असाेज १० गते देखि आकस्मिक बाहेक (पुर्वानिरधारित परिक्षाका कार्यक्रम समेत) अन्य सेवामा संग्लन हुन नसक्ने प्रतिष्ठानका डाक्टर नवीन थापाले बताए ।


प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस