जुम्ला । जुम्लामा यसपालीको दशैँ तिहारमा खाद्यन्न अभाव नहुने भएको छ । पटक पटक खाद्यन्न अभाव भोग्दै आएको जुम्लामा यस वर्ष दशैँ तिहारका लागि प्रयाप्त चामल मौज्दात रहेको छ । नुन पछि चामल अभावको संकट निम्तीएको जुम्लामा अहिले सम्म खुल्ला विक्री रोकिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पन्नीले जुम्लामा दशैँ तिहारका लागि एक हजार दुई सय क्वीईन्टल खाद्यन्न स्वीकृत गरी पठाएको खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी जुम्लाका प्रमुख निर्मल बिष्टले बताए ।
यसपालीको दशैमा जुम्लामा खाद्यन्न अभाव हुने छैन् । त्यसका लागि आबश्यक खाद्यन्न मौज्दात भईसकेको छ ।
प्रमुख विष्टले भने,“दशैँ तिहारका लागि १२ सय क्वीईन्टल चामल मौज्दात छ । २२ गतेबाट सहुलियत मुल्यमा खाद्यन्न विक्री सुरु हुने छ । चाडपर्वका लागि १२ क्वीईन्टलनै स्वीकृत भएर आएको छ । जिरा मसिनो चामल सहुलियतमा उपभोक्तालाई विक्री गर्ने तयारी छ ।”
जुम्लाका लागि चालु आव २०८०÷८१ म कुल पाँच हजार पाँच सय कोटा खाद्यन्न स्वीकृत भएको थियो । जसमा नयाँ एक हजार तीन सय २० क्वीईन्टल चालम ढुवानी भएर आईसकेको छ । भने कुल जम्मा हाल दुई हजार दुई सय ३५ क्वीईन्टल खाद्यन्न सदरमुकाम पिडोमा मौज्दात रहेको प्रमुख विष्टले जानकारी दिए ।
कुल २३ सय ३५ क्वीईन्टल मौज्दात मध्य दशै तिहारका लागि मात्रै १२ सय क्वीइन्टल खाद्यन्न छुटाईएको छ । बाँकी एक हजार ३५ क्वीईन्टल चामल कारागार,विपद्,जन्म मृत्यु तथा सर्वसाधारणलाई खुल्ला विक्रीका लागि राखिएको छ ।
चालु आवको वार्षिक स्वीकृत कोटा ५५ सय क्वीईन्टल भएपनि १३ सय २० क्वीईन्टल मात्रै ढुवानी भएको र अझै चार हजार एक सय ८० क्वीईन्टल चामल ढुवानी हुन बाँकी रहेको शाखा प्रमुख विष्टको भनाई छ ।
दोस्रो चरणको चामल ढुवानीका लागि आसय पत्रको सूचना भएको र ठेकेदार संग सम्झौता गर्नु पर्ने पत्र आईनसकेको हुँदा रोकिएको उल्लेख गरे । यदपी चामल ढुवानीको पहल जारी रहेको जनाइएको छ ।
ठेकेदारले ढुवानी नगरकै कारण खाद्यन्न अभाव भएपछि जुम्लामा गत साउन महिनादेखि सर्वसाधारणको लागि चालम विक्री रोकिएको छ । बीचमा ढुवानी भएर आएपनि नियमित वितरण खुलेको छैन् । आगामी असोज २२ गतेदेखि मात्रै चालम विक्री हुने भएको छ ।



