जुम्ला । जुम्लाकै सबैभन्दा दुर्गममा स्थित हाँढसिंजा स्वास्थ्य चौकीमा सौर्य उर्जा जडान गरिएको छ । बत्ती अभावका कारण सेवा प्रवाहमा चुनौती भोग्दै आएको स्वास्थ्य चौकीमा दाताको सहयोग मार्फत सौर्य उर्जा जडान गरिएको हो ।
कनकासुन्दरी गाउँपालिका ५ मुनजाउ स्थित हाढ सिंजा स्वास्थ्य चौकी जिल्लाकै दुर्गम स्वास्थ्य चौकी हो । भने कनकासुन्दरीको एक मात्र बर्थिङ सेन्टर हो । जहाँ दैनिक सयौको संख्यामा विरामी आउने गर्छन् ।
भने आँखा उपचार केन्द्र,बर्थिङ सेन्टर,ल्याब,भिडियो एक्सरे, खोप केन्द्र,प्रसुती गृह, पोषण सुधार गृह, आइसोलेसन कक्ष, अस्थायी कोभिड अस्पताल लगायतका सेवाहरु सञ्चालनमा छन् । यती धेरै स्वास्थ्य सेवा प्रवाह गर्ने जिल्लाका ३० वटा स्वास्थ्य चौकी मध्य पहिलो पनि हाँढसिंजा नै हो । गाउँमै भिडियो एक्सरे,दिसा पिसाब तथा रगत परिक्षण र आँखा उपचार केन्द्र सञ्चालन हुँदा बजार आउनु पर्ने महंगो उपचारबाट समेत स्थानीय राहत पाएका छन् ।

दुर्गम गाउँमै २४ घण्टा खटिएर सेवा प्रवाह गरिरहेको हाढसिंजा स्वास्थ्य चौकीले वर्षौैदेखि बत्ती अभावको समस्या झेलिरहेको थियो । आँखा उपचार,भिडियो एक्सरे,सुत्केरी आमा र बच्चालाई न्यानो प्रदान गर्न तथा ईमेल ईन्टरनेटका लागि बत्ती अत्याआश्यक हुँदा पनि त्यहाँ निकै समस्या थियो ।
भने,पालिकाले त्यहाँँ ठुलो लगानी गर्ने सम्भावना पनि थिएन् । राष्ट्यि प्रशारण लाईन पुग्ने स्थिती पनि थिएन् । वर्षौदेखि बत्ती अभाव झेल्दै आएको हाँढ सिंजा स्वास्थ्य चौकीले विगत एक वर्षयता बत्तीको सुविस्ता पाएको छ ।
४० लाखमा सौर्य उर्जा जडान
बत्ती नहुँदा समस्या भोग्दै आएको हाँढसिञ्जामा ४० लाख लगानीको सौर्य उर्जा जडान गरिएको छ । अमेरिकास्थित ग्रिड अल्टरनेटिभ संस्था र त्यहाँका विद्यार्थीको ४० लाख आर्थिक सहयोगमा स्वास्थ्य चौकीमा ५ किलोवाट क्षामताको सौर्य उर्जा गरिएको हाँढसिंजा स्वास्थ्य चौकीका ईन्चार्ज विरेन्द्र प्रसाद उपाध्यायले बताए ।
विगतमा बत्ती नहुँदा टर्च लाईटका भरमा उपचार गर्नु पर्ने बाध्यता थियो । मातृशिशुको सुरक्षामा उत्तिकै चुनौती थियो ।
उनले भने,“विगत एक वर्षयता सौर्य उर्जा जडानसंगै स्वास्थ्य चौकी,बर्थिङ सेन्टर,ल्याब,भिडियो एक्सरे सेवा नियमित रुपमा सञ्चालनमा छन् । भने वडालाई समेत हामी बत्ती दिएका छौ । स्रोत साधनले भरिपुुर्ण भएपनि एक जना विशेषज्ञ डाक्टर भएको भए गाउँमै विशषज्ञ सेवा नागरिकले पाउने थिए । त्यसमा गाउँपालिकाको पहल जरुरी छ ।”
जुम्लामा राष्ट्यि विद्युत प्रशारण लाइन जडान भएपनि सिंजा क्षेत्र र ग्रामीण भेगमा लाइन पुगेको छैन । गाउँ गाउँमा पुग्ने,स्वास्थ्य संस्थामा बत्ती बल्न अझै वर्षौ लाग्ने देखिन्छ । राष्ट्यि लाईनको पनि त्यति भर छैन् ।

तर हाढसिंजा स्वास्थ्य चौकी आजभोली २४ घण्टा उज्यालो हुन्छ । राती सुत्केरी हुने महिला आउँदा टर्चैकै भरमा काम गर्नु पर्ने बाध्यता थियो । अहिले त्यसको अन्त्य भएको छ । भने चोटपटक लागेको टाका लगाउन पनि सहज छ ।
सौर्य उर्जा जडान भएपछि बेबी वार मेसिन सञ्चालन छ । जो जन्मीने बित्तिकै निसासीएका बच्चाहरु राखिन्छ । हिउँदको समय रातदिन डियुटीमा बस्ने स्वास्थ्य कर्मीलाई पनि बत्तिले राहत पुराएको छ ।
आफु आएको चार वर्षमा हाढसिंजाको स्वास्थ्य सेवालाई गुणस्तर एवम् छिटो छरितो गर्न नियमित खटिएको ईन्चार्ज उपाध्यायले उल्लेख गे । उनका अनुसार हाढसिंजा पूर्वाधार तथा स्रोत साधनले भरिपुर्ण रहेकोले उपचारमा कुनै समस्या नरहेको देखिन्छ । स्वास्थ्य सेवा प्रवाहलाई चुस्त बनाउन, सौर्य बत्ती सञ्चालनका लागि निरन्तर पहल गर्दा अमेरिकी विद्यार्थी आएर आफै सोलार जडान गरिएको थियो ।
नागरिकको प्रत्यक्ष स्वास्थ्य संग जोडिएको स्वास्थ्य चौकीको बृद्धि विकासमा लगानी बढाउनु त परै जावस रात दिन नभनी नागरिकको सेवामै खटिएपनि पालिकाबाट कुनै प्रोत्साहन हुन नसकेको प्रमुख उपाध्यायको गुनासो छ ।



