जुम्ला । कनकासुन्दरी गाउँपालिका वडा नं.८ स्थित पाण्डपगुफा माध्यमिक विद्यालय स्तरोउन्तीका लागि महायज्ञ सञ्चालन गरिने भएको छ । प्राविधिक शिक्षा सञ्चालन,त्यसको उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि महायज्ञ लगाईने भएको हो ।आईतबार पत्रकार सम्मेलन मार्फत सामुदायिक विद्यालयमा प्राविधि क धार संचालन गर्न र विद्यालय स्तरबृद्धि गर्न महायज्ञ लगाउने लागिएको जनाइएको हो ।
कोटघर स्थित पाण्डगुफा माथि २००९ सालमा स्थापना भएको जिल्लाकै पुरानो विद्यालय हो । जहाँ ४ सय ८९ जना विद्यार्थी अध्यायनरत छन् । न्युन भौतिक संरचना भएको उक्त विद्यालयमा पठन पाठनमा समस्या मात्र नभई,पछिल्लो समय गाउँघरमा समेत प्राविधिक शिक्षाको मोह बढेको देखिन्छ ।
प्राविधिक शिक्षा प्रतिको बढ्दो मोह,स्रोत अभावका कारण समस्या भएपछि विद्यालयको स्रतबृद्धि सहित प्राविधिक धारको शिक्षा सञ्चालन गर्नका लागि धार्मिक ज्ञान विज्ञान महामहोत्सव(महायज्ञ) सञ्चालन गरिने पाण्डप गुफा माविका प्रधानाध्यापक दिपेन्द्र रोकायाले बताए ।
विद्यालयमा अहिले ६ कोठे २ पक्की भवन छन् । भने ४ वटा कच्ची भवन रहेका छन् । प्रअ रोकायाले भने,“विद्यालयमा संरचना अभाव विगत देखि थियो । अहिले ती संरचना जीर्ण हुदैँ छन् । प्राविधिक शिक्षा प्रतिको मोह पनि उत्तिकै बढ्दो छ । स्रोत अभावले विद्यालय स्तरबृद्धिमा समस्या भएपछि महाज्ञयज्ञ सञ्चालन गर्न लागेका हौ । आगामी असोज २८ देखि कार्तिक ५ गते सम्म महोत्सव लाग्ने छ ।”
महायज्ञ सञ्चालनले विद्यालयको स्तरउन्नतीका लागि आबश्यक आर्थिक संकलन हुनुका साथै नेपाली भाषा र सभ्यताको उद्गम स्थल सिञ्जाको पर्यटन प्रर्बद्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको स्थानीय मुक्तिकृष्ण भट्टले बताए । उनका अनुसार धार्मिक,साँस्कृतिक र आर्थिक स्थितीले महायज्ञ आफैमा विशेष हुने छ ।
महायज्ञ सञ्चालनका लागि भक्तीयोग फाउण्डेशन नेपालका धार्मिक गुरुहरु आउने छन् । उनीहरुले महायज्ञबाट २० लाखभन्दा कम आर्थिक संकलन भएमा कुनै पनि खर्च नलिने बताएका छन् ।
विद्यालयको स्तरबृद्धि तथा प्राविधिक धारको शिक्षा सञ्चालनको लागि भवन निर्माण,उपकरण तथा जनशक्ति व्यवस्थापन लगायत अन्य खर्चका लागि अनुमानति न्युनतम ७० लाख एक करोडसम्म बजेट लाग्ने अनुमान गरिएको छ ।
संविधान सभा सदस्य डिल्ली प्रसाद काफ्लेले जुम्लाकै पुरानो पाण्डपगुफा मावि विद्यालयमा प्राविधिक धार संचालन गर्न तथा जीर्ण संरचना बनाउन महायज्ञ गर्न लागिएको बताए । अपेक्षित आर्थिक संकलन भएमा प्राविधिक विषय पढाउन भवन निर्माण् आईटि उपकरण,र जनशक्ति व्यवस्थापनमा खर्चिने छ ।
महायज्ञ सञ्चालनको व्यवस्थापनका लागि यूवा विकास भण्डारी लगायतका यूवाहरु सक्रिय रुपमा लागि रहेका छन् । सिञ्जामा पहिलो पटक हुन लागेको महायज्ञले त्यहाँको धार्मिक पर्यटन प्रर्बद्धनमा समेत टेवा पुराउने विश्वास गरिएको छ ।




