तातोपानीको ८० हेक्टर धानबाली सखाप :‘भकारीसंगै रित्तिए किसानका पेट’

तातोपानी गाउँपालिका वडा नं. ५ का किसान धनप्रसाद चौलाँगाईको भकारी यस वर्ष रित्तिएको छ । वर्षेनी २२ मुरी खेतबाट झण्डै २२ क्वीईन्टल मार्सीधान उत्पादन गर्ने चौैलागाईको भकारी रित्तिएको हो । भित्राउन लागेको मार्सीधान नेक ब्लाष्ट (घाँटी मरुवा) रोगको संक्रमणले पुरै धान सखाप भएपछि उत्पादन शुन्य भएको चौलागाँई बताउँछन् ।

२२ मुरी खेतबाट करिब २२ क्वीईन्टल धान उत्पादन हुन्थ्यो । त्यहि उत्पादनले वर्षभरी पुग्थ्यो । चौलागाँई भन्छन,“ब्लाष्ट रोगको प्रकोपले धान गयो भन्छन हामीलाई थाहा छैन् । भित्राउन लागेको धानमा आगो लगाउनु पर्ने अबस्था आएको छ । वर्षभरीको श्रम बालुवामा पानी खन्याए जस्तै भयो । भकारी मात्र रित्तिएका छैनन् । सयौ किसानका पेट रित्तिएका छन् । अब भोकमरी र खाद्य संकट झेल्नुको विकल्प छैन् ।”

त्यस्तै तातोपानी ५ कै रुपकेउडी नेपाली एकाएक भित्राउन लागेको धानमा क्षति भएपछि कसरी छाक टार्ने चिन्तामा छन् । ३ छोरा १ छोरी भएकी नेपालीको आयस्रोत छैन् । घरको घरमुरी खेतमा उत्पादन भएको धानले ४÷५ महिना चल्थ्यो । यसवर्ष त्यो आशा टु्टयो । ५ मुरी खेत भएकी नेपालीको धान नेट ब्लाष्ट रोगले नष्ट भएपछि आँगो लगाउने तयारी छन् ।

आयस्रोत छैन् । गाउँको राँझो बाँजो गरी घर चलाउदै आएको थिए । रुपकेउडी भन्छन,“चाडपर्वको बेला निको नौली खाने धान समेत नहुने भए । ५ मुरी खेतको धान सबै सखाप भएपछि छाक चिन्ताले पिरोलेको छ । गत वर्षतिर ३ बोरी धान उत्पादन हुन्थ्यो । यसपाली एक सुपो पनि नपाई भयो । तीनै तहका सरकारले की बालबच्चा पाल्ने उपाय दिनु पर्यो कि भोकमरी झेल्नु पर्यो क्या गरुँ ?”

प्रकोपले धानमा क्षति हुँदा धनप्रसाद चौलागाई र रुपकेउडी नेपालीको मात्र भकारी रित्तिएको छैन् । तातोपानी गाउँपालिका वडा नं.४,५,६ र चन्दननाथ ९ का सयौ किसानका पेट रित्तिएका छन् । निकट भविष्यमा निम्तिने खाद्य संकट कसरी टार्ने चिन्तामा किसान छन् ।

८० हेक्टर मार्सीधानमा क्षति
भित्राउन लागेकै बेला एक्कासी संक्रमण भएको नेक ब्लाष्ट (घाँटी मरुवा) रोगले जुम्ला तातोपानीको ८० हेक्टर धानबालीमा क्षति भएको छ । तातोपानी गाउँपालिका वडा नं.४,५ र ६ तथा चन्दननाथ ९ को ८० हेक्टर मार्सीफाँटको धानबाली सखाप भएको हो । सबैभन्दा धेरै तातोपानी ५ स्थित लाम्रा,नगर,एैरेनी हाँक,हियाँखोलाका किसानले उपभोग गर्ने खेतको धानमा क्षति भएको छ ।

ठुलो क्षेत्रमा रोगले संक्रमण गरेर धानमा क्षति भएपछि सोमबार जिल्ला प्रहरी प्रशासन,समन्वय प्रमुख,राजनीतिक दल,कृषि विज्ञ तथा पत्रकारले संयुक्त स्थलगत अनुगमन गरेका छन् । नेट ब्लाष्ट रोगका कारण धानबाली सखाप भएपछि तातोपानीका किसानले अप्रत्यासी ठुलो क्षति व्यहोर्नु परेको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले बताए ।

एतिहासमा मार्सीधान यति ठुलो क्षति भएको यो पहिलो पटक हो । उनले भने,“पालिकाबाट राहत दिएर संम्भव छैन् । दिन पनि सकिदैन् । जिल्ला विपद व्यवस्थापनको बैठक बसेर,कार्यपालिका बैठक राखी किसानको राहत र पुर्नस्थापनाका लागि पहल गर्छौ ।”

“सयौ किसान घर न घाँट भएका छन् । पसिनाको कमाई बालुवामा मिसियो । किसानको पिडा बुझ्छौ । तर हामीसंग स्रोत छैन् । सिमित स्रोतले आधारभुत विकास गर्दै ठिक्क छ । विगतमा असिना पानीले केहि मात्रामा झारेपनि यसरी ठुलो मात्रामा क्षति भएको पहिलो पटक हो । सहन नसक्ने क्षतिले किसान क्षतविक्षत छन् । किसानको पिडामा मलम लगाउन जुटिरहेका छौ ।” अध्यक्ष चौलागाँईले भने ।”


क्षेत्रफलका हिसाबले ८० हेक्टर मार्सीफाँटको धानबालीमा क्षति भएको भनिएपनि एकिन विवरण आउँन बाँकी छ । यदपी,उत्पादन शुन्यमा झरेको पक्का भईसकेको छ । किसानले सबै खेतमा आगो सल्काउने तयारी गरेका छन् । खेत हेरेर रुनुको विकल्प छैन् । लहलह झुल्ने मार्सीधानका बाला यतिबेला चाउरीएका छन् । विश्व बजारमा माग बढेको मार्सीधानमा बढ्दो संक्रमणले किसानमात्र नभई पहिचान समेत संकटमा परेको किसान बिज्या सार्कीले बताए । उनका अनुसार प्रदेश र संघिय सरकारले उचित राहत बेलैमा नदिए किसानको उठिबास हुने निश्चित छ ।

वाताबरणीय प्रभावले नेक ब्लाष्ट प्रकोप फैलियो ःकृषि विज्ञ
जुम्लामा वर्षेनी कतैन कतै मार्सीधानमा ब्लाष्ट रोग लाग्ने गरेको कृषि विज्ञ बताउँछन् । यो वाताबरणिय प्रभावका कारणले फैलिने प्रकोप हो । ब्लाष्ट रोगबारे जुम्लाका सबै किसान जानकार पनि छन् । धानमा लाग्ने ब्लाष्ट रोग ३ प्ररकारका हुन्छन् । कृषि विकास

कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा भन्छन,“एउटा लिप ब्लाष्ट (पातमा) हुने संक्रमण हो । यो नियन्त्रणमा लिन सकिन्छ । दोस्रो फिंगर ब्लाष्ट (धानको डाँढमा) लाग्ने रोग हो । यसलाई नियन्त्रण गर्न सकिन्छ । तेस्रो ब्लाष्ट रोग भनेको नेक ब्लाष्ट (घाँटी मरुवा) अर्थात धानको बालामै लाग्ने रोग हो । यसले बाला चाउने,पोटिलो नहुने,धानमा दुध नभरिदै झर्ने समस्या हुन्छ । यो अन्तिम अबस्थामा लाग्ने रोग भएकोले पनि नियन्त्रणमा समस्या छ ।”


काँचो मल,विउँ राखेको बर्ना,सिँचाई असुविधा,अत्यधिकब वर्षा लगायतका कारणले यस्तो समस्या निम्तीने गर्दछ । उन्नत जातको धानमा ब्लाष्ट रोगले कुनै असर नगरेको भन्दै रैथाने मार्सीधानको जातमा रोग प्रतिरोधात्मक क्षामतानै कम भएको कृषि अनुसन्धान केन्द्रका प्रमुख बैज्ञानिक शुसिलराज सुवेदीले बताए । नेट ब्लाष्ट (घाँटी मरुवाँ) रोगले धानमा क्षति भएको छ । उनले भने,“ नेक ब्लाष्ट घाँटी मरुवा रोगसंग लड्ने क्षामता मार्सीधानमा छैन् । यस वर्षपानी पनि बढी पर्यो । धानको फूल फूल्ने बेलामै पानी पर्यो । सापेक्षिक आद्रता बढी भएपछि यो रोगको प्रकोप फैलिएको हो ।”

यता जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चाय र प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे लगायत दलका प्रतिनिधिले तत्काल जिल्लामा विपद्को बैठक बसेर किसानको राहतका लागि पहल गर्ने बताएका छन् ।

हाल जुम्लाको ३ हजार हेक्टर क्षेत्रफलमा मार्सीधानको खेती भईरहेको छ । जसमा तातोपानीको ८० हेक्टर मार्सीफाँट फाँटमा ब्लाष्ट रोगको प्रकोप फैलिएको छ ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस