जुम्ला ः सामुदायिक विद्यालयको गणित शिक्षामा सुधार ल्याउनका लागि जिल्लामा एक कार्यशाला गरिएको छ । आइमिन परियोजना जाइकाको आर्थिक सहयोग र शिक्षा विकास तथा समन्वय इकाई जुम्लाको आयोजनामा कार्यशाला गरिएको हो ।
जिल्लाका सामुदायिक विद्यालयका गणित शिक्षक र स्थानीय तहका शिक्षा शाखा प्रमुखसँग प्रवोधिकरण कार्यशाला गरिएको हो ।
तातोपानी गाउँपालिकाका २८ वटा सामुदायिक विद्यालयमा १–३ कक्षामा अध्ययन गर्ने बालबालिकाको शैक्षिक उपलब्धी बढाउन तथा सिकाइ बृद्धिका लागि जाइका आइमिन परियोजना सञ्चालन गरेको छ ।
विषयगत शिक्षामा गुणस्तर ल्याउने उत्तम विकल्प भएको शिक्षा बिकास तथा समन्वय इकाई जुम्लाका प्रमुख मक्कर भण्डारीले बताए । उनले भने विषयगत शिक्षकको क्षमता विकास, प्रविधिमैत्री विद्यालय निर्माण, व्यवहारिक शिक्षामा जोड, विद्यालय सुधार योजना निर्माणका विषयमा तालिम सञ्चालन गर्दै आएका छौँ । गणित शिक्षकको क्षमता विकास र विद्यालय सुधारका विषयमा बिषयगत शिक्षकले महत्वपूर्ण भुमिका खेल्नु पर्दछ ।

पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधि रामचन्द्र ढकालका अनुसार बिद्यालय स्तरमा अन्य बिषय भन्दा गणित बिषयमा बिद्यार्थी कमजोर हुने भएकाले गणित शिक्षालाई प्रथामिकता दिने परियोेजनाको लक्ष्य रहेको बताए । उनले भने जिल्लामा एक दिने गणित शिक्षक र शिक्षासँग सम्बन्धीत निकायसँग पेशागत विकास सम्बन्धी अतिरिक्त कार्यशाला गरिएको हो ।
विद्यालय नमुना बनाउनका लागि शिक्षामा गुणस्तर ल्याउन र व्यवहारिक शिक्षण विधि लागु गर्न ज्ञानको आवश्यक पर्ने उनको भनाइ छ ।
जाईका आईमिन परियोजना जिल्ला प्रतिनिधि दिपराज रावतले बालबालिकाको गणित विषयमा शैक्षिक उपलब्धी तथा सिकाइ बृद्धिका लागि शिक्षकको पेशागत विकास लागि यो कार्यशालाले सहयोग पुग्ने बताए ।



