जुम्ला । प्रसिद्ध चन्दननाथ र भैरवनाथकाे मन्दिरमा नयाँ लिंगा खडा गरिएको छ। हरेक वर्ष घटस्थापनाका दिन नयाँ लिंगा फेर्ने चलन अनुसार आइतबार चन्दननाथ भैरबनाथ मन्दिरका लिंगा फेरिएको हो ।
असोज २५ गते चन्दननाथ -३ ढाँड थपालाको जंगलबाट नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र, प्रहरी तथा सयौं भक्तजनकाे संयुक्त बलमा लिंगा ल्याइएकाे थियाे । भने आइतबार पुराना लिङ्गा प्रतिस्थापन गरेर नयाँ लिङ्गा खडा गरिएको चन्दननाथ, भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ।
चन्दननाथ मन्दिरमा ५२ हाते लिंगा र ५२ हाते ध्वजा राखिएको हुन्छ भने, भैरवनाथ मन्दिरको लिंगामा ४८ हातको लिंगा र ४८ हातकै ध्वजा राखिएको छ। साथै दुबै मन्दिरमा करिब ४२ हाते सहायक लिंगा खडा गरिएको चन्दननाथ भैरवनाथ गुठि व्यवस्थापन समितिका अमर थापाले बताउनुभयाे ।
‘चन्दननाथ भैरबनाथ मन्दिरमा नयाँ लिङ्गा फेरीसकेपछि मात्र जुम्लाका घरघरमा घटस्थापना भित्राउने चलन छ । उहाँले भन्नुभयाे,”मन्दिरकै माटो लिएर जमरा राख्ने चलन छ। मन्दिरमा जय स्तम्भ सहित पाँचवटा लिंगा खडा गरिएको हो ।”
चन्दननाथ भैरबनाथ मन्दिरका नयाँ लिंगा फेरिए संगै जुम्लामा विधिवत रुपमा दसैं शुरु भएको मानिन्छ। पछिल्लो समय भक्तजनहरुको संख्या भने घटेपनि येवाहरुकाे पहलमा लिंगा ल्याउने काम भएकाे अध्यक्ष थापाले उल्लेख गर्नुभयाे ।
घटस्थापनाकै दिन उत्पादन वृद्धि होस, भोकमरी नहाेस भन्ने कामना सहित चन्दननाथ भैरबनाथ मन्दिरमा मार्सीधानको सिक चडाउने समत परम्परा रहेको संस्कृति सम्बन्धका जानकार रमानन्द आर्चायले बताउनुभयाे।

‘बाबा चन्दननाथले आफ्नै बलबुतामा मार्सीधानको बीउ पत्ता लगाएर विस्तारकाे लागि आफ्ना बलशाली शिष्य लछालकृति पैकेलाेलाई खठाएका थिए । उहाँले भन्नुभयाे,”मार्सी धानकाे प्रयाेग सफल भएपछि बाबा चन्दननाथकाे सम्मान स्वरुप लिंगा खडा गर्ने रित बसालिएकाे हाे ।”
उहाँका अनुसार लछालकृति पैकेलाले तातोपानी -२ मा पर्ने गुरु फोक्टो नामक खेतमा पहिलो टपकट मार्सी खेती सुरु गरेका थिए। त्यस सफल भएपछि जस चन्दननाथ बाबालाई गयाे। जसका कारण जुम्ली किसानले आफू खानु भन्दा पहिले मार्सी चामलको सिक चन्दननाथ मन्दिरमा चढाउने परम्परा बसेकाे हाे।
मन्दिरमा सिक दिने परम्पराले बीउ जाेगाउने काम पनि गरेकाे इतिहास र संस्कृतिका जानका सिंजा कनकासुन्दरीका तुङ्गनाथ उपाध्यायले बताउनुभयाे
जुम्लाको विकासमा राज्यले लगानी बढाउनुपर्ने देखिन्छ । ‘जुम्लाका विभिन्न संस्कृति र परम्पराले देवभुमि पुगेको महशुस गराइरहेकाे हुन्छ। घटस्थापनाकाे लिंगा खडा गर्ने ठाउँमा पुग्दा आफूले चिताएको पुरा हुने भन्दै मन्दिरमा हजाराैं भक्तजनहरु भिड हुन्छ।
घटस्थापनाकै दिन जुम्लाका घरघरमा जाैका जमरा राख्ने चलन छ भने साँझ नयाँ फलेकाे मार्सी धानकाे चिउरा कुटेर दही, मह सँग मिसेर न्वागी बनाई घर परिवार तथा बिहे गरेकी छाेरी चेलीलाई बाेलाएर खुवाउने चलन छ।




